बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी गर्नु तथा आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यसलाई व्यक्तिगत फाइदाका लागि गरिने राज्यविरुद्धको अपराध तथा सार्वजनिक पदाधिकारीको अनैतिक व्यवहार वा क्रियाकलापको रूपमा लिने गरिन्छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्यमान्यताविरुद्धको आचरणको रूपमा रहेको भ्रष्टाचार नीतिगत, प्रक्रियागत, संस्थागत र व्यक्तिगत स्वरूपको बारेमा चर्चा गर्ने गरिए तापनि भ्रष्टाचारको मूल जडको रूपमा रहेको बौद्धिकताको प्रयोग गरी गरिने राज्यविरुद्धको आर्थिक तथा सामाजिक अपराधको चर्चा सार्वजनिक तथा निजी दुवै क्षेत्रमा नगन्य मात्रामा हुने गरेको देखिन्छ ।

सामान्य अर्थमा बौद्धिक व्यक्तित्व भन्नाले विशेष ज्ञान सिप, क्षमता, दख्खल, अनुभव र योग्यता भएको व्यक्तिलाई बुझिन्छ तर मानिसमा यी गुण हुँदैमा मात्र उसलाई बौद्धिक व्यक्ति भनेर भन्न मिल्दैन । व्यक्ति बौद्धिक हुनलाई उसले आफूमा निहित ज्ञान सिप, क्षमता, अनुभव र योग्यताको सही र विवेकपूर्ण प्रयोग गर्न पनि जान्नुपर्ने हुन्छ ।

संविधान र कानुनको व्याख्या गर्ने तथा कानुनी रिक्ततामा समेत नजिर प्रतिपादन गरी न्याय सम्पादन गर्ने न्यायाधीश, सार्वजनिक निकायका माथिल्लो ओहोदाका पदाधिकारीहरू, कानुनी विषयमा बहस गर्ने सरकारी तथा पेसागत निजी वकिलहरू, प्राविधिक विषयका ज्ञाताहरू, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धान तथा खोजकर्ता, नागरिक समाजका अगुवा, सामाजिक अभियन्तालगायतलाई बौद्धिक वर्गको रूपमा बुझ्ने गरिन्छ ।

व्यक्तिमा रहेको यस किसिमको बौद्धिक क्षमता, ज्ञान, सिप, अनुभव र दक्षतालाई उसले अनैतिक तरिकाले प्रयोग गरी सम्पत्ति आर्जन गर्न वा पदीय आचरणविरुद्धका कार्य गर्न उपयोग गरेमा त्यस किसिमको कार्यलाई बौद्धिक तहबाट हुने भ्रष्टाचार भन्न सकिन्छ । अर्काे अर्थमा समाजमा बौद्धिक कहलिएका व्यक्तिले अधिकार प्राप्त व्यक्तिलाई आफू अनुकूल परिचालन गरेर गर्ने भ्रष्टाचारजन्य कसुरलाई पनि यसको दायराभित्र राख्न सकिन्छ । बौद्धिक भ्रष्टाचारलाई साधारण नागरिकले सजिलै बुझ्न सक्दैन भने यसको तह राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रिय तहसम्मै फैलिएको हुन्छ । नदेखिने गरी झाँगिएको हुन्छ । यस किसिमको कार्य कुनै एक देशमा बसेर अर्काे देशका लागि समेत गर्न सकिन्छ ।

हाल नेपालमा समाजका यिनै बौद्धिक कहलिएका व्यक्तिहरूको गैरविवेकी र अनुत्तरदायी व्रिmयाकलापले भ्रष्टाचारलाई प्रसय दिइरहेको भन्ने आवाज जनमानसमा रहिआएको देखिन्छ । न्यायिक निरूपणको अन्तिम बिन्दुको रूपमा रहेको अदालत र न्यायिक मनको प्रयोग गर्ने न्यायमूर्ति नै यसबाट अछुतो रहन नसेकेका घटना बाहिरिनु र यससम्बन्धी आवाज यत्रतत्र सर्वत्र छरिनुले यसलाई थप प्रष्ट पार्न सहयोग गरेको देखिन्छ ।

नेपालमा बौद्धिक भ्रष्टाचारले प्रसय पाउने प्रमुख क्षेत्रमा कानुन निर्माण गर्ने विधायिका, कानुनको व्याख्या र विश्लेषण गर्ने न्यायिक तथा अर्धन्यायिक क्षेत्र, सर्वसाधारणको स्वास्थ्य हेर्ने चिकित्सा क्षेत्र, मुलुकलाई आधुनिक विश्वमा रूपान्तरण गर्ने सूचना प्रविधि तथा इन्जिनियरिङलगायत प्राविधिक क्षेत्र, समग्र विकासलाई मार्गनिर्देश गर्ने शिक्षा क्षेत्र आदि पर्दछन् । मूलतः बौद्धिक तहबाट हुने भ्रष्टाचारका स्रोतहरूमा अदालतबाट हुने न्याय निरूपण, मन्त्रीपरिषद्बाट हुने नीतिगत निर्णय, संवैधानिक निकायबाट विवेकको आधारमा हुने निर्णय, उच्च प्रशासनिक तहबाट बौद्धिकताको गलत प्रयोग गरी गरिने स्वार्थ प्रेरित निर्णय, बौद्धिक तहबाट प्रदान गरिने गलत परामर्श, प्रविधिको दुरुपयोग गरी गरिने पाइरेसी तथा जालसाजी, प्राविधिक व्यक्तिबाट दिइने गलत प्राविधिक परीक्षण प्रतिवेदनलगायत विषय पर्दछन् । यसका साथै निश्चित लाभ प्राप्तिका लागि राज्यका प्रमुख पदमा नियुक्ति हुनलाई राजनीतिक नेतृत्वको चाकडी र चाप्लुसी गर्ने, नियुक्तिपश्चात् सार्वजनिक हित प्रतिकूलका कार्य गर्न तथा स्रोतसाधनको दुरुपयोग गर्न आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न उद्धत रहने प्रवृत्तिले पनि बौद्धिक भ्रष्टाचारलाई थप बल पु¥याउने गरेको पाइन्छ ।

बौद्धिक भ्रष्टाचारको केही उदाहरणको रूपमा चिकित्सकले बिरामीलाई पर्याप्त परामर्श नदिने, आवश्यकता र औचित्यभन्दा बाहिर गएर जाँचका लागि सिफारिस गर्ने, गलत औषधिको सिफारिस गर्ने तथा इन्जिनियर वा प्राविधिकले व्यवस्थापन वा सरोकारवाला समक्ष गलत प्रतिवेदन दिने, स्वार्थ प्रेरित भई ड्रइङ डिजाइन निर्माण गर्ने जस्ता कार्यलाई लिन सकिन्छ । यसका साथै सार्वजनिक नीति निर्माणको क्रममा व्यक्तिगत स्वार्थबाट प्रेरित रहेर नीति तर्जुमाको काममा सहभागी हुने, गहन रूपमा अध्ययन, अनुसन्धान र विश्लेषण नगरी नीतिको सिफारिस गर्ने कार्यलाई पनि बौद्धिक भ्रष्टाचारको रूपमा लिन सकिन्छ ।

समग्र भ्रष्टाचारको जग नै बौद्धिक भ्रष्टाचार हो तर बौद्धिक तहबाट हुने सबै भ्रष्टाचारमा आर्थिक अपचलन हुनै पर्छ भन्ने चाहिँ हुँदैन । बौद्धिकताको प्रयोग गरी आफ्नो वा आफ्नो समूहको स्वार्थका लागि रकमको लेनदेनबिना नै कुनै कार्य गर्नु तथा सार्वजनिक पद प्राप्तिको अनावश्यक चलखेल गर्नु पनि बौद्धिक भ्रष्टाचारकै रूप हो ।

सार्वजनिक प्रशासनमा बौद्धिक व्यक्तित्वको प्रवेशले सार्वजनिक निकायबाट सम्पादित कार्यलाई सरल, सहज, छिटो र छरितो बनाउन मद्दत गरेको हुन्छ भने यसले सार्वजनिक स्रोत र साधनको प्रयोगलाई मितव्ययी, पारदर्शी र विवेकसम्मत तुल्याउन तथा सीमित स्रोतसाधनलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नसमेत दिशा निर्देश गर्दछ भन्ने अपेक्षा र विश्वास गरिन्छ । बौद्धिक वर्गले नै नागरिकका माग, आवश्यकता र इच्छा तथा उपलब्ध स्रोत बिचमा कुशल संयोजन गर्न सक्दछन् । उनीहरूले गरेको कार्यप्रति आमनागरिक विश्वस्त भई भरोसासमेत राख्दछन् । उनीहरूले आफूमा भएको बुद्धि र विवेकलाई सही रूपमा उपयोग गरेमा सार्वजनिक कोषको प्रयोगमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यतता झल्कने गर्दछ । यस किसिमका क्रियाकलापबाट समग्र शासकीय व्यवस्थामा आमूल परिवर्तन आउँछ र शासन उन्नत शासनमा रूपान्तरित हुन पुग्छ ।

अर्कातर्फ व्यक्तिमा रहेको बुद्धि र ज्ञानको स्वार्थ प्रेरित प्रयोगले सार्वजनिक कोषमाथि दुरुपयोग बढाउँछ र राज्यको समग्र आर्थिक व्रिmयाकलापलाई नै समाज र राज्यको अपेक्षा विपरीतको दिशामा डो‍¥याउने गर्दछ । बौद्धिक तहबाट हुने भ्रष्टाचारले न्याय माग्नका लागि अदालतको ढोका ढक्ढक्याउने पीडितले न्याय नपाउने, वर्षाैंसम्म तारेख बोकिरहनुपर्ने र अन्तमा पीडितले भन्दा पनि पीडकले नै संरक्षण पाउने अवस्था आउँछ भने विकासको सन्दर्भमा प्राविधिक तहबाट हुने गलत सिफारिसले विकास आयोजनाको दिगोपना माथि नै चुनौती थप्ने गर्दछ । यसै गरी यसबाट गलत नीतिको तर्जुमा हुन पुगी सार्वजनिक स्रोतको सीमित व्यक्ति वा स्वार्थ समूह अनुकूल प्रयोग हुन जान्छ र शासन व्यवस्थाप्रति आमनागरिकको विश्वास र भरोसा गुम्न पुगी राष्ट्र असफलताको दिशातर्फ उन्मुख हुन पुग्छ ।

यसका साथै बौद्धिक तहबाट हुने भ्रष्टाचारजन्य कार्यले समाज तथा राष्ट्रमा उदाहरणीय कार्य गरी रहेका तथा असल कार्य गर्न चाहने व्यक्तिलाई निरुत्साहन गरी उनीहरूलाई विदेश पलायन हुनसमेत बाध्य पार्दछ । यसबाट बौद्धिक भ्रष्टाचार गर्ने जमातलाई खबरदारी गर्ने समूहको समेत खडेरी पर्न जान्छ र बौद्धिक भ्रष्टाचार अझ मौलाउँछ ।

नेपालमा विकास र समृद्धिको बाधक नै बौद्धिक वर्गको गलत प्रवृत्ति हो । किनकि सामान्य नागरिकलाई त आफ्नो जीवन धान्न नै हम्मेहम्मे परेको हुन्छ । उनीहरूलाई न त भ्रष्टाचार गर्नु छ न त आफू अनुकूलको काम गराउने क्षमता नै हुन्छ तर बौद्धिक तहबाट हुने भ्रष्टाचारबाट सबैभन्दा बढी प्रभावित र पीडित हुने तह भनेको समाजका तल्लो वर्ग नै हो । एकातिरको स्रोतसाधनको अपर्याप्तता र अर्कातर्फको बौद्धिक वर्गले गर्ने स्रोतको आफू अनुकूलको प्रयोग र वितरणले गर्दा उनीहरूको जनजीवनलाई थप असहज र कष्टपूर्ण बनाइरहेको हुन्छ भने समग्र समाजलाई नै अन्धकारको युगबाट माथि उठ्न अवरोध सिर्जना गरिरहेको हुन्छ ।

बौद्धिक भ्रष्टाचार गर्नेले बौद्धिकताको प्रयोग गरी अनुचित कार्यको योजना बनाउने, सोही अनुरूप नीति बनाउने र कूटनीतिक तरिकाबाट अनैतिक कार्यमा सहभागी हुने हुँदा यसलाई अन्य भ्रष्टाचार जसरी पहिचान गरी अनुसन्धान र अभियोजन गरी कानुनी दायरामा ल्याउन जटिल हुने गर्दछ तर नेतृत्व वर्गले अर्जुनदृष्टि लिएमा नसकिने चाहिँ होइन ।

बौद्धिक भ्रष्टाचार र यसका जोखिमको न्यूनीकरणका लागि सर्वप्रथम यसका सम्भावित क्षेत्रको पहिचान गर्नुपर्ने हुन्छ । तत्‌पश्चात् सम्भावित क्षेत्र अनुसारको नियन्त्रणको नीति, योजना र रणनीतिको विकास गर्न राजनीतिक नेतृत्वले समुचित ध्यान दिनुपर्ने हुन्छ भने उक्त नीति तथा रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न उपयुक्त कानुनी, संस्थागत र संरचनागत प्रबन्धसमेत गर्नुपर्ने हुन्छ । यसका साथै बौद्धिक व्यक्तिमा सदाचारिता र नैतिकताको प्रवर्धन गर्नका लागि बौद्धिक व्यक्तित्व उत्पादन गर्ने विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषय समावेश गरी सोको अध्ययन अध्यापन हुनु पर्छ । साथै सार्वजनिक पदाधिकारीबाट सम्पादित कार्यको जवाफदेहिता र नैतिकताको परीक्षण गर्ने पद्धतिको विकास हुनु उत्तिकै जरुरी हुन्छ ।

यसका साथै बौद्धिक तह तप्काबाट हुने भ्रष्टाचारको अनुसन्धान र अभियोजनलाई प्रभावकारी र व्यवस्थित बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्याप्त आर्थिक, भौतिक र मानवीय स्रोतसहितको एउटा छुट्टै अनुसन्धान युनिटको स्थापना गरिनु उपयुक्त हुन्छ । आयोगले सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता सम्बद्ध निकायसँग नियमित रूपमा सहकार्य र समन्वय गर्ने, विश्वव्यापी रूपमा विकसित नवीन अवधारणा र अभ्यासको खोज गर्नेलगायतका कार्य गर्नु पर्दछ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यस सम्बन्धमा हुने अभियोजनउपरको सुनुवाइलाई शिघ्र र व्यवस्थित बनाउन विशेष अदालत तथा सर्वाेच्च अदालतले पनि सक्रियता बढाउनु पर्ने हुन्छ ।

सरल, स्पष्ट, समयसापेक्ष र जनमुखी कानुनको निर्माण, विद्यमान ऐन कानुनको अक्षरशः पालना, असल राजनीतिक र सामाजिक संस्कारको विकास, क्षेत्र विशेष अनुसार आचारसंहिताको निर्माण र सोको वस्तुनिष्ठ पालना, भ्रष्टाचार नियन्त्रणमार्फत सुशासनयुक्त शासकीय व्यवस्था कायम गर्ने जिम्मेवारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाको सबलीकरण, नागरिक समाजको सशक्त खबरदारी, खोजपत्रकारिता, निगरानी निकायको क्षमताको प्रवर्धन गर्ने जस्ता कार्यले समग्र भ्रष्टाचारको मियोको रूपमा रहेको बौद्धिक भ्रष्टाचार र यसका प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु