अझै अन्यौलमा एमाले एकता

विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने मागसहित गत जेठ १० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमाथि असार ९ गते बुधबारदेखि वहस शुरु हुँदैछ । विपक्षी गठबन्धनमा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदले समेत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले एकतालाई कायम राख्न नेता नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको माग छ । सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राख्नुभएको छ ।

नेता नेपाल भने दोस्रो पुस्ताका नेताहरुको वार्ता र एकता प्रयासप्रति खासै सन्तुष्ट नरहनुभएको सो पक्षका नेताहरुले बताउने गर्नुभएको छ । विपक्षी गठबन्धनलाई साथ दिने वाचा आफूले गरिसकेकाले अब पछाडि नफर्किने नेता नेपालले आफू निकट नेताहरुलाई बताउने गर्नुभएको छ । नेता नेपाल र भीमबहादुर रावलले एमाले परित्याग गरी अर्को पार्टी गठन गर्ने अभ्यासमा लागिसक्नु भएकाले एमालेमा फर्किने सम्भावना कम रहेको सो पक्षका नेताहरुको भनाई छ ।

एमाले दोस्रो पुस्ताका नेताहरुले पार्टी एकता गराउने प्रयास जारी राख्नु भए पनि उपलब्धी अझै हात लागिसकेको छैन । दुई पक्षीय नेताहरुबीच सहमतिको विभिन्न विकल्प र मोडलमा छलफल भइरहेको छ । तर ठोस निस्कर्ष आएको छैन । अध्यक्ष ओली पक्षले सर्वोच्चको पछिल्लो निर्णय आउनुअघि नै पार्टी एकता कायम गर्ने तयारीमा जुटे पनि नेता नेपाल पक्षका केही नेताहरुले स्वीकार गरिसक्नु भएको छैन । अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने र प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार गर्नुपर्ने अडान नेता नेपालले राख्दै आउनुभएको छ ।
अध्यक्ष ओली पक्षका नेताहरुलाई सहमतिको वातावरण बन्दाबन्दै नेता नेपाल विपक्षी गठबन्धनमा नियमित छलफलमा जाँदा समस्या पर्नेगरेको बुझाई छ । सभापति देउवा निवास बुढानिलकण्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारको छलफलले सहमतिको वातावरण विथोल्ने गरेको बुझाई एमाले संस्थापन पक्षको छ । अध्यक्ष ओलीले पार्टी एकताका लागि हर प्रयास गर्दा पनि नेता नेपाल विपक्षी गठबन्धनमै जोड दिनुभएको र पार्टीको एकता प्रक्रियामा चासो नदिनुभएको टिप्पणी संस्थापन पक्षका नेताहरुको छ ।

वार्तामा नियमित सहभागी रहनुभएका प्रधानमन्त्री निकट मानिनुहुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको वातावरण अझै आशलाग्दो बनिनसके पनि प्रयास गर्न नछाड्ने बताउनुभयो । “हामी अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास गर्छौ, सहमतिको वातावरण बन्नेमा आशावादी छौं” नेता नेम्वाङले भन्नुभयो । तर अहिलेसम्मको प्रयासको ठोस उपलब्धी आइनसकेको उहाँले जानकारी दिनुभयो । दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक छलफल जारी रहेको उहाँले बताउनुभयो ।

पार्टी एकताको प्रयासका लागि नेताहरुले एक्लाएक्लै, सामुहिक र दुई पक्षीय छलफल जारी राख्नुभएको छ । पार्टी एकता बचाउन अर्थमन्त्री तथा एमाले नेता विष्णुप्रसाद पौडेलले नेता बामदेव गौतमसँग पनि पछिल्लो समय सघन छलफल गरिरहनुभएको छ । यसअघि नेकपा पार्टी एकताको प्रयासमा दत्तचित्त भएर लाग्नुभएका नेता गौतम अहिले करिब निस्क्रीयझैं बस्नुभएको छ । एमाले एकताको पक्षमा उहाँको उत्साहजनक प्रयास देखिएको छैन ।

नेता नेपाल निकट मानिनु हुने नेता सुरेन्द्र पाण्डे पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आउनुभएको छ । त्यस्तै, नेपाल पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य लगायतका नेताहरु पार्टी विभाजनको पक्षमा नरहेको सञ्चार माध्यममा धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य नेता पाण्डेले बैठक र छलफल नियमितजस्तो भएपनि सहमतिको मिलनविन्दु फेला परिनसकेको बताउनुभयो । “पार्टी एकताका लागि जुन तहमा नेताहरुबीच छलफल, वार्ता र सक्रियता देखिनुपथ्र्यो त्यो भएको छैन, त्यसैले अवस्था अझै निराशाजनक छ” उहाँले भन्नुभयो । वार्ता ठोस निस्कर्षमा नपुग्दासम्म यसै भन्नसक्ने अवस्था नरहेको उहाँल प्रतिक्रिया दिनुभयो ।

दुवै पक्षका नेताहरुको प्रतिक्रिया सुन्दा अवस्था जटिल नै छ । दोस्रो पुस्ताका नेताहरुबीच सहमतिको प्रयास सकारात्मक ढङ्गले अघि बढेको बताइए पनि वास्तविकता त्यस्तो नरहेको उहाँहरुको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । यद्यपि अन्तिम समयसम्म एकता प्रयास जारी राख्ने उहाँहरुको दृढ इच्छाशक्तिले भने नेता तथा कार्यकर्तामा आशा जगाउने गरेको छ । शीर्ष नेतृत्व तहमा रहनुभएका नेताहरुको पार्टी, कार्यकर्ता र देशको हितभन्दा पनि आफ्नो रिस्वी साँध्ने ध्याउन्न रहेको बुझाई दोस्रो पुस्ताका नेताहरुको छ ।

वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीसहित पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले विज्ञप्ति मार्फत एकताको आव्हान गर्नुभएपछि पार्टी पङ्तिमा एक किसिमको उत्साह जागेको थियो । तर भोलिपल्टै नेता नेपाल विपक्षी गठबन्धनका नेताहरुसँग बुढानिलकण्ठ र खुमलटारको बैठक चहार्न थाल्नुभएपछि पार्टी पङ्ति पुनः खिन्न बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा