पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो , पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रेपलाञ्चोक, चैत १६ गते । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ ।

पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन दिन सर्भे गरेको हो । “सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, डाटा एनालाइसिसपछि सर्भेको विस्तृत प्रतिवेदन विज्ञ टोलीले केही समयपछि दिनेछ”, पाठकले भन्नुभयो ।

दुई बेलायती विज्ञ र पुरातत्व विभागका दुई प्रतिनिधिद्वारा बिहीबार शुरु गरिएको पाँचखालको सर्भे शनिबार सकिएको हो । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन–जुन सम्भावित सङ्केत भनिएको क्षेत्रमा सर्भे गरियो, अधिकांशतः सोही स्थानमा सम्भावना देखिएको छ ।” उहाँका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ ।

पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन नेपालका अन्य क्षेत्रसहित पाँचखालमा जियोफिजिकल सर्भे गरिएको विभागका निर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग ९युनेस्को०लाई गत असार ९सन् २०२०, जुन २९०मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।

गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको छ भने तिलौराकोटमा उत्खनन भइरहेको विभागले जनाएको छ । कपिलवस्तुको तिलौराकोटबाहेक लम्किया र चेत्रादेही क्षेत्रमा सर्भे गरिएको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइप लाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि