May 22, 2020

‘लिपुलेक क्षेत्रका नागरिकलाई पनि भारतले आफ्नो बनाइसक्यो, सुविधा र आरक्षण दिएर राखेको छ’

दिलेन्द्रप्रसाद बडू

बडु कांग्रेस नेता एवं दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsharethis sharing button

छुटेको भू–भाग भनेर समेटिएको भू–भाग अहिले व्यास गाउँपालिकाको वडा नम्बर १ पर्छ । तीनवटा गाउँमध्ये सबैभन्दा माथि कुटी, अलि तल नाभी र अझ तल गुञ्जी पर्छ । पहिला त्यो एउटा गाविस थियो । अहिले त्यो क्षेत्र वरिपरि रहेका ५ वटा गाविस मिलेर एउटा गाउँपालिका बनेको हो । 

कुटी, नाभी र गुञ्जी अहिले व्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्छन् । दार्चुलाको त्यो क्षेत्रमा मैले प्रत्यक्ष निर्वाचनमा २ पटक जितिसकेको छु । २०४८ सालमा र २०५६ मा । तर चुनावका लागि भोट माग्न जान सकिने स्थिति थिएन । 

त्यतिबेला हामीले चुनाव लड्दाखेरि उनीहरू उताको भइसकेका थिए । कालापानीमा भारतीय सेना थियो, हामी सहजै उता जाने स्थिति बन्न सकेको थिएन । अनि उनीहरूलाई भारतीय नागरिकता, रासन कार्डहरू बाँडिसकिएको छ । नेपाली मतदाताहरू पनि हुनुपर्‍यो नि ! 

त्यही एरियामा छाङ्ग्रु र टिंकरमा त अहिले पनि हामी जाने/आउने गर्छौं । हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नै त्यहाँस्थित सौका कम्युनिटीको मान्छे हो ।  

‘हामीले सरकारलाई यसरी खुट्टा टेकाएका थियौं’

मैले त लगातार बोलेको छु । भारतले नक्सा बनाउनेबित्तिकै हामीले पनि नक्सा बनाउनुपर्छ भनेर हामीले निरन्तर भनेका थियौं । मुखले वाकयुद्ध लडेर हुँदैन, कूटनीतिक तहमा अघि बढ्नुपर्छ भनेर निरन्तर भन्दै आइरहेको थिएँ । 

मैले संसद्मा पनि बोलें, मिडियामा पनि बोलें, लेखें पनि । त्यतिबेलैदेखि भारतले नेपाली भू-भागमा बाटो बनाउँदैछ भनेर निरन्तर भनेको हो । अनि भारतले जब नक्सा बनायो, त्यसपछि जुन कुराका लागि हामीले वार्ता गर्न खोजिरहेका छौं, त्यसैको अवज्ञा गर्दै कालापानीलाई आफ्नो हिस्सामा पारेर नक्सा बनाएपछि उताबाट त हुने काम त भइसक्यो नि ! अब हामीले पनि निर्णायक कदम चाल्नुपर्ने थियो । 

वार्ता–वार्ता भनिरहने तर उताबाट नक्सा आइसक्ने भएर त भएन । हामीले त्यतिबेलै नक्सा सार्वजनिक गरेको भए अहिलेसम्म धेरै कुरा अघि बढ्ने रहेछ । 

गत कार्तिक १६ गते उनीहरूले नेपाली भू-भाग समेटेर नक्सा बनाए । २३ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक भयो । हामी राष्ट्रिय मुद्दामा सबै मिलेर जाऊँ भनेर सबै दलहरूले प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री स्तरमै कुरा गर्नुस् भनेर सबै दलहरूले प्रधानमन्त्रीलाई सुझाव दिए । उच्चस्तरीय राजनीतिक स्तरमै समाधान भयो भने कर्मचारीस्तरमा पनि काम गर्न सजिलो हुन्छ भनेर भनिएको हो । 

त्यसपछि संसद्को राज्यव्यवस्था समितिमा पनि नक्सा बनाउने कुरा उठाइयो । 

बाहिर सीमाविद्ले पनि भनिरहेका थिए । २५ गते राज्यव्यवस्था समिति बसिहाल्नु पर्छ र एउटा नक्सा हामीले पनि बनायौं भने जवाफ हुन्छ नि भनेर नक्सा बनाउन जोड दियौं । 

हामीले नक्सा बनाएपछि त्यसको प्रतिक्रियास्वरूप भारत बोल्न बाध्य हुन्छ भनेका थियौं । त्यही भयो, अस्ति विदेश मन्त्रालयका प्रवक्ताले वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भनेर बोले । 

दुवै देशले यो विवादित भनेर मानिरहँदा एकतर्फी र हठात् भारतले नक्सा बनायो, त्यसलाई हामीले हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप भयो भनेर वक्तव्य निकाल्यौं । भारतले एकांकी हिसाबले किन गर्‍यो भनेर हामीले पनि तीव्र विरोध जनायौं नि !

हामीले नक्सा निकाल्दा उनीहरूले पनि विज्ञप्ति निकालेर विरोध जनायौं । तर विशेष कुरा के हो भने वार्ताका निमित्त भारत तात्नुपर्ने भयो । 

नक्सा बनाउनका लागि दबाब दिन हामीले यो समितिबाट सरकारलाई निर्देशन गर्‍यौं । हामीले भूमि व्यवस्थामन्त्री (पद्मा अर्याल)लाई बोलायौं । पहिला उनीहरूले नक्सा बनाउन तयार छौं भने उनीहरूले तर पछि अलमलिए ।

केही प्राविधिक समस्याहरू छन् भन्ने जवाफ आएको थियो मन्त्रीबाट । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि सोधिएको थियो प्रश्न, त्यही जवाफ आयो । बनाइहाल्न सजिलो छैन भन्ने जवाफ आएको थियो । संसद्मा प्रधानमन्त्रीलाई मैले सोधेको थिएँ, ‘वार्ता कहिले हुन्छ ? नक्सा कहिले आउँछ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै ‘नक्सा होइन, हामीले भूमि नै फिर्ता ल्याउँछौ’ भनेर भन्नुभयो । नक्सा बनाउन सरकार तयार थिएन । 

हामीले कुनै न कुनै प्रकारको दबाब दिन जरुरी थियो भारतलाई । नत्र त भारतले वार्ता गरौंला भन्ने तर चुप बस्ने गर्न थालेको थियो । कुरै गर्न नचाहने । यो पछिल्लोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्रसचिव स्तरको वार्ता समिति बनाइयो । तर कुराकानी हुन पाएको थिएन । 

वार्ता कहिले शुरू हुन्छ भनेर सोध्दा प्रधानमन्त्री ओलीले वार्ता दुवै तर्फबाट हुने भएकाले उनीहरूले पनि पहल गर्नुपर्छ भनेर जवाफ दिनुभएको हो । 

हामीले संसद्मा सरकारलाई एउटा दबाब दिएका हौँ । म आफैं व्यक्तिगत ढंगले पनि धेरै दबाब दिएँ । नक्सा जारी गर्न तयार नभएको सरकार हाम्रै दबाबका कारण तयार देखिएको हो भन्ने मेरो मूल्यांकन छ । 

‘सरकारको कदमको स्वागत गर्छौं’

अहिले जसरी नक्सा आयो, यसलाई हामीले स्वागत गरेका छौं । हामीले नै भनेअनुसार नक्सा आएको छ । सीमाविद लगायत अभियन्ताहरूले त अभियान नै शुरू गरेका थिए । उनीहरूले त नक्सा बनाएरै दिएका थिए । 
ढिलो भएपनि जनताकै अपेक्षाबमोजिम नक्सा बन्यो । एउटा जवाफ दियौं भारतलाई । 

हाम्रो दाबी यो हो, हाम्रो दाबीका आधारहरू यी–यी हुन् । १८१६ को सन्धिपछिका लिखतहरू हेरौं । अब हाम्रो भनाइ यही हो, यसलाई मान्दा हाम्रो नक्सा यस्तै बन्छ भनेर उनीहरूसँग वार्तामा बस्नुपर्छ । अरू उतिबेलाका मालपोत तिरेकोदेखि उनीहरूको सबै रेकर्ड तयार छ हामीसँग । उतिबेला बेलायतले बनाएको नक्सा पनि छ हामीसँग । 

भारतको तर्फबाट अब वार्तामा बस्नुपर्छ भनेर आए भने हामीसँग यथेष्ट प्रमाण हुन्छ । 

अहिलेसम्म समाधान भएको छैन । हामी पनि यथेष्ट प्रमाणका साथ वार्ताका निम्ति तयार हुनुपर्छ । वार्ताले समाधानको बाटो पहिल्याउँछ । 

वार्तामा बसेपछि दुवै तर्फबाट तथ्य प्रमाणहरू आउँछन् । कसको तथ्य प्रमाण बलियो हुन्छ, कसले कसलाई कन्भिन्स गर्न सक्छ त्यहीअनुसार अगाडिको कुरा तय हुन्छ । वाकयुद्धमा गर्‍यौं भने परिस्थिति एकदमै जटिल बन्छ ।

‘भूमि जसरी पनि फिर्ता ल्याउने हाम्रो मिसन बन्नुपर्छ’

हामीले एउटा मिसन नै बनाएर भारतीय पक्षसँग कुरा गरेर आफ्नो भूमि फिर्ता ल्याउने तरिकाले अघि बढ्ने हो । 

भारतले एकतर्फी नक्सा बनाएर अघि बढेकै कारणले नेपालले पनि नक्सा बनाएको हो भन्ने जनमत भारतमा पनि सिर्जना भएको छ । ठिकै गर्‍यो भन्ने जनमत पनि छ । 

यतिबेलै चीनसँग पनि कुरा हुनुपर्छ तत्काल । हामीले बनाएको यो नक्सा त चीन र भारत दुवैलाई जवाफ हो । यो नक्सा भित्र पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर हामीले दाबी गरेपछि भारतले बनाएको चीन जाने बाटो त हाम्रो क्षेत्रमा पर्ने भयो । सन् २०१५ मा भारत-चीन मिलेर लिपुलेकलाई व्यापार गर्ने बिन्दु बनाएका थिए । 

हामीले जारी गेरको नयाँ नक्साअनुसार उक्त बिन्दु भारत र चीनबीचको बिन्दु होइन । त्यसैले यसमा हामीले तत्काल चीनसँग पनि वार्ता गर्न पहल गर्नुपर्छ । 

जुन बिन्दुलाई भारत र चीनले व्यापार गर्ने बिन्दु बनाउने सहमति गरेका थिए, त्यो नेपाल र चीनबीचको हो भन्ने हामीले चीनलाई बताउनुपर्छ । त्यो एग्रिमेन्ट गलत हो भनेर बताउनुपर्‍यो । 

हामीले एउटा देशसँग मात्र ज्यादा गर्न थाल्यौं र चाइनासँग कुरै गर्न खोजेनौं भने हामी बायस्ड भएजस्तो देखिन्छ । कूटनीति भनेको त्यो होइन । समदूरीको सिद्धान्त मान्नुपर्‍यो । हामी यो मामिलामा साँच्चिकै असंलग्न देखिनुपर्छ । 

‘चीनसँग पनि अविलम्ब वार्ता गर्नुपर्छ’

भारतीय मिडिया, त्यहाँका राजनीतिक नेताहरू सबैले चीनको उक्साहटमा नेपालले नक्सा बनाएको हो भन्न समेत भ्याए । यही कुरा हामीले चीनसँग पनि गर्नुपर्छ । भारतको आरोपलाई चीनले नै खारेज गरिदियो भने नेपालको हात धेरै माथि पर्छ ।

मलाई त आत्मविश्वास के छ भने, हामीले यसलाई राजनीति गर्ने मात्र विषय बनाएनौं भने लिम्पियाधुरा केही समयमै हाम्रो हुन सक्छ । यदि राजनीति गर्न थाल्यौं भने त्यो कहिल्यै आफ्नो हुँदैन । 

प्रधानमन्त्री यदि सिरियसली लागेका हुन् भने यतिबेला हाम्रो त साथ छ नै, यतिबेला चीनसँग पनि सहयोग लिन सक्नुपर्छ । यो अब नेपालको कूटनीतिक दक्षता र कौशलमा भर पर्छ । अब नक्सा निकाल्यौं हामीले, तर झगडा गर्ने बेला होइन यो । 

‘छुटेका भू-भागमा भएका नागरिकको भावनालाई पनि सम्मान गर्नुपर्छ’

जुन भू–भाग नयाँ नक्सामा समेटिएको छ, त्यहाँ हाम्रो प्रशासनिक क्रियाकलाप हुनुपर्‍यो । यहाँ एउटा स्थिति के आउँछ भने तीनवटा गाउँका बासिन्दालाई भारतले आफ्नो नागरिक बनाएको छ । सबैभन्दा माथि कुटी, त्यसपछि नाभी र गुञ्जी । यी तीन गाउँका मानिसहरू अहिले हाम्रो नक्सामा आए । 

यिनीहरूले के भन्छन् अब, त्यो पनि महत्त्वपूर्ण हुन्छ । देश भनेको भूगोल मात्र होइन, जनता पनि हो । उनीहरूलाई आफ्नो भूमिप्रतिको माया जगाउने कुरा हुन्छ अब । हामीले नक्सा जारी गरेको उनीहरूलाई थाहा छ । पहिला नेपाली नै थिए, उनीहरूको सुविधाका लागि काम गर्न हामीले नसकेकै हो । 

कालापानीमा भारतीय सेना आएर बसेपछि त्यो ठाउँ नेपालबाट छुट्टियो । उनीहरूलाई भारतले सुविधा दिएर राखेको छ । उता त भारतले विशेष आरक्षणको व्यवस्थासमेत छ । उनीहरू विविध कारणले नेपालतर्फ आउँदिन भन्ने पनि होलान्, आउँछु भन्नेपनि होलान् । 

नेपाल-भारतबीचको झगडा समाप्त भइसकेपछि दोस्रो चरणमा तिनीहरूको पनि कुरा आउँछ । उनीहरूमध्ये कोही आउन चाहलान्, स–सम्मान ल्याउनुपर्छ । सुविधा दिनुपर्छ । उनीहरू हरेक क्षेत्रमा जान पाउने गरी व्यवस्था गरिनुपर्छ । तर नआउनेहरूसँग आत्मनिर्णयको अधिकार त जोसँग पनि छ । हामीले नक्सा बनाएपछि कतिपयले ठीक हो भनेका होलान्, कतिपयले नेपालतर्फ नै जान्छौं भनेका होलान् । 

चीनले अहिले नेपाल र भारतबीचको कुरा हो भनेको छ । २०१५ मा भारतसँग व्यापारिक सम्झौता गर्दा नेपाल सम्झेको थिएन । त्यो पनि त गलत हो नि ! 

(कांग्रेस नेता बडूसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि, मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्ने कारण छैन : गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा), भदौ १६ गते।गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसबारे

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने