वीर अस्पतालमा भर्ना भएका पुर्ब लडाकु भन्छन्: औसधि नखाई यहीँ मर्छौं ।

 

काठमाडौं-विस्तृत शान्ति सम्झौताको ठिक १२ वर्ष पुगेको दिन मंसिर ५ गते पूर्वलडाकु कुलप्रसाद भट्टराई ‘कुसुम’ले विष पिए। त्यो पनि गृहमन्त्री रामबहादुर थापा बादलकै अघिल्तिर।

आफ्ना नेताहरुले पूर्व लडाकुको मागको कुनै सुनुवाइ नगरेको भन्दै विषको सिसी बोकेर योजनाबद्ध ढंगले उनी सिंहदरबार पुगेका थिए। उनी अहिले तंग्रिएका त छन्, तर ‘जनयुद्ध’ले छाडेर गएका घाउ बल्झिन छाडेको छैन।

कुसुम जस्तै ६ जना पूर्वलडाकु भने यतिबेला वीर अस्पतालको आकस्मिक कक्षमा जीवन-मरणको दोसाँधमा छन्। 

गणतन्त्र सेनानीसहित घाइते अपांगता परिचयपत्र प्रदान गर्नुपर्ने, जनयुद्ध तथा आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको ग्यारेन्टी गर्नुपर्ने, औषधि उपचारका लागि तत्काल आर्थिक सहायता प्रदान गर्नुपर्ने, घाइते तथा अपांगता भएकाहरुका बालबच्चालाई निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायत ५ बुँदे माग राख्दै उनीहरु मंसिर २७ देखि आमरण अनसनमा छन्। माइतीघर मण्डलामा ५ दिनसम्म अनसन बस्दा पनि नेताहरुले उनीहरुको वास्ता गरेनन् बरु सोमबार मध्यरात धरपकड गरेर वीर अस्पताल पुर्याएको उनीहरु बताउँछन्।

‘परिवर्तनको लडाइँमा हामी जनयुद्धमा होमियौं। अहिले घाइते अवस्थामा दयनीय अवस्था गुजारिरहेका छौं,’ उनीहरुको एकैस्वर छ, ‘हाम्रो रगतमा होली खेलेर राज्य सत्तामा पुगेका हाम्रा लडाइँका सहकर्मीहरु आज बेखबर छन्। कुनै मागको सम्बोधन गर्न चाहेका छैनन्।’

मंगलसिंह प्रजा 
तीन पटकभन्दा धेरै हमलामा सहभागी भएका थिए प्रजा। २०६० सालमा बुटवलको चुनोलमा रहेको तत्कालीन साही नेपाली सेनाको २२ नम्बर बाहिनी कब्जा गर्ने क्रममा दोहोरो भिडन्त हुँदा उनको टाउको र कम्मरमा छर्रा लाग्यो। २०६१ र २०६२ मा अर्घाखाँचीको सन्धीखर्कमा पनि उनी भिडन्तमा परे। त्यतिबेला उनको हात र खुट्टामा छर्राले भेट्यो। 

‘बुटवलको भिडन्तमा टाउको र कम्मरमा लागेको छर्राको पीडा अहिले पनि बल्झिन्छ,’ प्रजा भन्छन्, ‘पुर्खाको जमिन बेचेर जति उपचार गरे पनि सम्भव नै भएन।’ हाँडीखोला-३ मकवानपुरका उनी ३३ वर्षका भए। एक छोरी र एक छोरा गरी दुई सन्तानका अभिभावक हुन् उनी। आफू जस्तै अरु घाइते पूर्वलडाकुसँग गृह मन्त्रालय पुगेर निवेदन दिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे।

आफ्ना बालबच्चाको पढाइ र पालनपोषणको उतिकै चिन्ता छ उनमा। ‘हाम्रो रगतमा होली खेल्ने नेताहरु सत्तामा पुगेका छन्। घाइतेलाई मलम लगाउनुको साटो खुर्सानीको धुलो लगाउने काम गरिरहेका छन्,’ गहभरि आँसु झार्दै अस्पतालको बेडबाटै उनले भने, ‘हाम्रो माग जबसम्म पूरा हुँदैन तबसम्म अनसन तोड्नेवाला छैनौं। हामी ६ जनाको मात्र होइन, हजारौं घाइते लडाकुको अधिकारका लागि अनसन बसेका हौं।’ 

अस्पताल ल्याउनुअघि उनीहरु माइतीघर मण्डलामा यसरी अनसन बसेका थिए। तस्बिर : निमेष जंग राई

लीलाचन्द्र कामी
एक छोराका अभिभावक सानोश्री-९ बर्दियाका कामी उमेरले ४५ काटे। जनयुद्धमा उनले पनि ठूलो योगदान गरेका थिए। तर अहिले आफूसँगैका सहकर्मी नेताहरु सरकार पुगेपछि उनीहरुसँगै न्यायको भीख माग्नु परिरहेको छ।

२०५८ सालमा उनलाई सेनाले सुराकीको आरोपमा गिरफ्तार गरेको थियो। त्यसको दुई वर्षपछि प्रहरीले पक्राउ गर्यो। त्यतिबेला प्रहरीको कुटाइबाट टाउको र पैतालामा निकै चोट लागेको उनी सुनाउँछन्। ‘जसका कारण मस्तिष्क नै खलबलिएको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हिँड्दा टाउको झनझनाउँछ।’ 

सेना र प्रहरीको कुटाइको प्रतिशोध साँध्न माओवादी लडाकुमा आबद्ध हुने योजना बनाए उनले। २०६१ सालदेखि लडाइँमा होमिएका उनी त्यसको एक वर्षपछि बर्दिबासको बगनामा नेपाली सेनासँगको दोहोरो भिडन्तमा परे। सो भिडन्तमा उनको टाउको, ढाड र पातामा छर्रा लाग्यो। त्यो छर्रा अहिलेसम्म निकाल्न सकिरहेका छैनन्।

‘लालपूर्जा सबै धितो राखेर बैंकबाट ऋण लिएर अप्रेसन गर्ने प्रयास गरेँ तर सम्भव भएन,’ कामी भन्छन्, ‘छर्राकै कारण कलेजोको क्यान्सर भएपछि कलेजो काटेर फालिएको छ।’ आफूहरुको योगदानको अवमूल्यन गरी बेवास्ता गर्ने नेताहरुले राजीनामा दिनुपर्ने उनको आक्रोश छ।

नरवीर दमाई
दुवै खुट्टमा गोलीको छर्रा बोकेर बाँच्न विवश छन् दमाई। जग्गा बेचेर दाहिने खुट्टाको ८ पटकसम्म शल्यक्रिया गरिसकेको उनको छातीमा पनि एउटा छर्रा छ। ३६ वर्षका कामी बडाभैरव-७ दैलेखका हुन्। दुई छोरा र एक छोरीका अभिभावक उनी पनि यतिबेला वीर अस्पतालको शय्यामा लडिइरहेका छन्।

२०५६ सालमा अर्घाखाँचीको सन्धीखर्क आक्रमणमा उनी पनि सामेल थिए। २०५९ सम्म विभिन्न भिडन्तमा उनी थप घाइते हुन पुगे। ‘शरीरमा क्यान्सरको खतरा हुने हो कि भनेर चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘युद्धमा कति रगतको खोला बगायौं होला? त्यही परिवर्तनले माओवादी नेताहरु आज सत्तामा पुगेका छन्। तर अहिले हामीलाई चिन्दैनन्।’  जनयुद्धमा घाइतेहरुको उपचार खर्च मागसहित गृहमन्त्री रामबहादुर थापासमक्ष पत्र बुझाए पनि सुनुवाइ हुन नसकेको उनले गुनासो गरे। ‘अब पनि माग सम्बोधन नभए अनसनकै अवस्थामा मर्न तयार छौं,’ उनी भन्छन्।

वीरबहादुर परियार
परियारले त युद्धका क्रममा दायाँ आँखा नै गुमाए। ३५ वर्षका उनको दायाँ खुट्टामा समेत गोलीको छर्रा छ। जग्गा बेचेर उपचार त गरे तर निको भएन। उनी २०५८ मा खलंगा र २०६१ मा म्याग्दीमा दुईपटक भिडन्तमा परेका थिए।

तातोपानी– ५ जुम्लाका परियारका दुई छोरा छन्। तर आफू यस्तो अस्थामा रहँदा परिवारको अवस्था बेहाल भएको उनले दुखेको पोखे। आफ्ना मागबारे पटकपटक आवाज उठाए पनि सम्बोधन नभएकाले आमरण अनसन बस्नुपरेको उनी बताउँछन्। 

संग्रामे सार्की
२०५९ मा अर्घाखाँचीको सन्धीखर्कमा भएको भिडन्तमा परेका सार्कीको दुवै खुट्टामा गोलीका छर्रा छन्। जसका कारण बैसाखीको सहारामा हिँडडुल गर्नुपर्ने बाध्यता छ। धौलागोह-१ कालीकोटका ३६ वर्षीय उनका दुई छोरा र एक छोरी छन्। घाइते शरीर र अनसनका कारण उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ।

मन दर्जी 
दर्जीकी श्रीमती पनि पूर्वलडाकु नै हुन्। दुवै जनयुद्धका घाइते भएकाले सन्तानलाई पालनपोषण तथा शिक्षा प्रदान गर्न निकै गाह्रो छ। दर्जी २०५८ मा जुम्लाको खलंगा, २०५९ मा अर्घाखाँचीको सन्धीखर्क र २०६१ मा कालीकोटको कोडबाडा भिडन्तमा परेका थिए।

शान्ति त्रिवेणी-७ कालिकोटका ३६ वर्षीय उनका दुई छोरा र दुई छोरी छन्। उनको छाती र दायाँ खुट्टामा छर्रा छ भने श्रीमती घाँटीमा छर्रा बोकेर अशक्त जीवन बाँचिइरहेकी छन्। अहिले उनको मुखबाट रगत बगिरहने समस्या छ।

‘धेरै खर्च गरेँ। भएको अलिकति जग्गा पनि सकियो,’ उनी बिलौना गर्छन्, ‘अब सम्पतिको नाममा सन्तान र श्रीमतीबाहेक केही छैन।’

लडाकु समायोजनमै विभेद गरिएको उनको भनाइ छ।  अनसनस्थलबाटै उठाएर अस्पताल पुर्याए पनि उनीहरुले उपचार गराउन मानेका छैनन्। उनीहरुको अडान छ, ‘सरकारले हाम्रो माग पूरा गर्ने प्रतिबद्धता जनाओस् तबमात्र औषधि लिन तयार छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको