तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री

PM-2

साउन 4,

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।”

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।”

प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गर्नुभएको छ । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा समेत चासो राखेको भन्दै उहाँले सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिनुभयो । प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन गर्नुभयो ।

प्रधानमन्त्रीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा विमानस्थलको निर्माणसँगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पु¥याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको स्पष्ट पार्नुभयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विमानस्थल निर्माणसँगै वृद्धि हुने आर्थिक क्रियाकलापसमेतका लागि अन्य मन्त्रालयले पनि पहुँचमार्ग स्तारोन्नति, बस्ती विकासलगायत कार्य अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको सहभागिता थियो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रमा विमानस्थलको महत्व, पोखरामा यसको आवश्यकता, सरकारको प्राथमिकता, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि भौतिक पूर्वाधारको विकासमा जोड दिइएको धारणा राख्नुभयो । सो विमानस्थलको हाल १५ प्रतिशत निर्माण कार्य सकिएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उक्त विमानस्थलको हालसम्मको कार्य प्रगतिको प्रस्तुति गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार हालसम्म आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।
सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुनेछ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुने गरी कार्ययोजना तयार गरिएको सो अवसरमा जानकारी दिइएको थियो । निर्माण कार्य सम्पन्न गरी सन् २०२१ अर्थात् आगामी तीन वर्षदेखि हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सो विमानस्थलको लागत करीब २२ अर्ब रहेको छ । सरकारले सो विमानस्थललाई पर्यटन केन्द्रित गरी ‘बुटिक विमानस्थल’ बनाउने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा