काठमाडौं, ७ फागुन । सरकारी कर्मचारी मध्ये नेपाली मिडियामा सबैभन्दा धेरै छाएका व्यक्ति कोहि थिए भने ती हुन्,‘लोकमान सिंह कार्की । कार्कीलाई ‘लोकमान’ बनाउँन उनी वरिपरिका साना ‘लोकमान’हरुको ठूलो भूमिका थियो । त्यसमध्ये प्रमुख भूमिकामा थिए तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो प्रमुख डिआइजी नवराज सिलवाल । सिलवालले कार्कीलाई ‘लोकमान’ बनाउँन के कसरी सहयोग गरे त्यसको विवरण निकै लामो छ ।
राजधानीको धापासीमा एउटा घरमा तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की, तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल भेला हुन्थे । जसलाई ‘सेफ हाउस’को नाम दिइएको थियो । अनाधिकृत कामका लागि खुलको उक्त ‘सेफ हाउस’ कार्कीको आदेशमा प्रहरी प्रधान कार्यालयले खोलेको थियो ।
उक्त सेफ हाउसमा भ्रष्टाचारीको उजुरी र तिनका प्रमाणमाथि छलफल होइन व्यक्तिमाथिको जासुसीका क्रियाकलाप हुन थाले । उक्त घरमा कारबाही गर्नुपर्ने व्यक्तिहरूको सूची तयार गर्नेदेखि धम्क्याउने, आफूअनुकूल निर्णय गर्न बाध्य पार्ने क्रियाकलाप हुन्थे । त्यस्तोमा अर्को सहयोगी निकाय थियो । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी । जसका प्रमुख डिआइजी नवराज सिलवाल । सिलवालकै सहयोगमा कार्कीलाई सिआइबीले कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर नै उपलब्ध गराएको थियो । तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले नै उक्त उपकरण अख्तियारलाई बुझाएको गत कार्तिक २७ मा कान्तिपुर दैनिकले लेखेको थियो ।
कार्कीका समर्थक, सचिवालयका कर्मचारीहरूसहित भेला हुने उक्त सेफ हाउसमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र आईजीपी अर्याल पनि नियमित रूपमा पुग्ने गरेका थिए ।
स्रोतका अनुसार नेता तथा कर्मचारीहरूको व्यक्तिगत विवरण समेटिएको ६५ पृष्ठ लामो प्रतिवेदन तयार गर्ने अभियानमा अनुसन्धान विभागका एसपी कुमार खडकाले पनि सहयोग गरेका थिए । यतिबेला भने त्यो अड्डा लोकमानको अवसानसँगै बन्द भइसकेको छ ।
कसरी पुग्यो सिआइबीको उपकरण लोकमानको काबुमा ?
सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले रोकेको भए सिआइबीले पाएको महत्वपूर्ण उपकरण लोकमानको हातमा पुग्ने थिएन । तर, सिलवालले समेत लोकमानलाई सघाएपछि सहज नहुने कुरै भएन । स्रोतका अनुसार कार्कीले सिलवाल र आइजीपि अर्याललाई अकुत सम्पत्तिको मुद्दा चलाइदिने धम्की दिएका थिए । अख्तियार स्रोतका अनुसार सिलवालले पटक–पटक कार्कीसँग भेट समेत गरेका थिए । कार्कीको कार्यकालभर प्रहरीभित्रका अनियमितता र भ्रष्टाचारका एउटा पनि उजुरीको छानबिन भएन । एकाध प्रतिशोधबाहेक प्रहरी अधिकारीहरूविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा समेत छानबिन अघि बढेन । मिटरब्याजमा करोडौं लगानी गरेका सिलवालसँग अकुत सम्पत्ति रहेको स्रोतको दाबी छ । उनले गरेको एउटा कारोबार भने सार्वजनिक भइसकेको छ ।
नवराज सिलवालबारे अख्तियारमा परेकाे उजुरी
चितवनका व्यावसायी गुनबहादुर थापा शम्भूलाई ५ सय २५ प्रतिशत ब्याजमा पैसा लगाएको प्रमाण सहित अख्तियारमा उजुरी पर्दा समेत सुनुवाई भने भएको थिएन । सिलवालले अबैध कारोबार गर्दै आफूलाई झूटो मुद्दामा फसाइएको भन्दै थापाले अख्तियारमा उजुरी दिएका थिए । दर्ता नम्बर २१३९ रहेको उक्त उजुरीमा अख्तियारले चासो समेत देखाएको थिएन । यद्धपी पीडितले भने अडियो भिडियो र सिलवालको हस्तलिखित हिसाबकिताब विवरण समेत अख्तियारमा बुझाएका थिए । ‘अख्तियारले हाम्रो कुरा सुनुवाई नै गरेन,’ गुनबहादुरका छोरा सागरले दियोपोस्टसँग भने,‘तत्कालिन अख्तियार प्रमुख लोकमान सिंहकार्कीसँग उहाँको सम्बन्ध भएकै कारण हाम्रो मुद्दा अगाडी नै बढेन
सुशीला कार्कीकै कल डिटेल हेरेपछि…
प्रहरी अनुसन्धान ब्युरोले चाहयो भने हरेक व्यक्तिको कल डिटेल हेर्न सक्छ । तर, ब्युरोकै उपकरण लोकमानको हातमा बुझाइदिएपछि के भयो होला ? सिआइबीले यसरी उपकरण बुझाइदिएपछि हालका प्रधानन्यायाधीस सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि हालका न्यायाधीश र सभासदको जासुसीमा कार्कीले प्रहरी टोली प्रयोग गरेका थिए । कार्कीले अघि सारेका माग सहजै पूरा गरेका कारण करिब ५० जना प्रहरीको दरबन्दी रहेको अख्तियारमा ३ सय ५० भन्दा बढी पुगेका थिए । प्रहरी महाशाखामा सीमित प्रहरीहरू हरेक महाशाखामा अनुसन्धान अधिकृतको जिम्मेवारीमा थिए भने क्षेत्रीय कार्यालयहरूमा एसएसपीकै कमान्डमा निजामती कर्मचारीहरू खटिएका हुन्थे । ‘लोकमानले अघि सारेका र महत्त्वपूर्णको सूचीमा राखेका हरेक फाइलको अनुसन्धान अधिकृत प्रहरी अधिकारीहरू नै थिए,’ अख्तियार स्रोतले भन्यो, ‘चेन अफ कमान्डमा चल्ने भएकाले जे आदेश हुन्थ्यो, त्यहीअनुसारको मुद्दा तयार हुन्थ्यो ।’
अख्तियारमा पुगेका प्रहरीका उजुरीहरू तामेलीमा राखिन्थे भने अन्यत्रको छानबिन पनि लोकमानको निर्देशनमा रोकिएको थियो । तर यतिबेला तीनै प्रहरी अधिकारीहरु प्रहरी प्रमुख बन्ने दौडधुपमा छन् । तर, बल भने सुशीला कार्कीकै कोटमा छ ।
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा