२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।
निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।
स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ ।
चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।
एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।
माओवादी नेता श्रेष्ठ भन्छन्, ‘म आशावादी छु कि ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा हुन्छ र स्थानीय तहको प्रतिवेदन फाइनल गरेर आयोगलाई बुझाइन्छ ।’
निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ । त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।
संविधान संशोधनबाट पछि हटेको छैनौं: श्रेष्ठ
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेबरहादुर देउवाले मधेसी मोर्चालाई संविधान संशोधन प्रक्रिया टुंगोमा पुगेपछि मात्र चुनावको मिति घोषणा गर्ने बचन दिएका थिए ।
तर, व्यवस्थापिका संसद बैठक फागुन १० गतेसम्मका लागि स्थगित भएको छ । र, आयोगले ८ गतेको म्याद दिएकाले संशोधन प्रक्रिया जारी रहँदा नै चुनावको मिति घोषणा गर्नुपर्ने बाध्यता आइपरेको नेताहरुले बताएका छन् ।
‘संविधान संशोधन प्रस्ताव टुंगो लगाएपछि मात्रै चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगले भ्याउँदैन भन्यो । त्यसलाई ध्यान दिएर घोषणा गर्न खोजिएको हो’ माओवादी नेता श्रेष्ठ भन्छन्, तर, संविधान संशोधन प्रस्ताव फिर्ता लिने वा छोडेको होइन ।’
उनका अनुसार अरु पार्टीका साथै एमालेसँग पनि छलफल जारी राखिनेछ र मधेस केन्दि्रत दलहरुसँग छलफल गरेर संशोधन प्रक्रियालाई टुंगोमा पुर्याइनेछ ।
दलहरुको सक्रियता
पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलहरुका नेताहरुलाई भेटेर सचेत गराएकी थिइन् । त्यसपछि दलका नेताहरु चुनावको वातावरण बनाउन घनिभूत छलफलमा जुट्न थालेका हुन् ।
राष्ट्रपतिले बिहीबार माओवादी नेता श्रेष्ठका साथै मधेसी मोर्चा एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टा छुट्टै छलफल गरेकी थिइन् ।
यो भेटलगतै माओवादी नेता श्रेष्ठले निर्वाचन आयोगको टीमसँग छलफल गर्नुका साथै राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग पनि सम्वाद गरेका थिए । साथै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
श्रेष्ठकै पहलमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको थियो ।
एमाले उपाध्यक्ष भीम रावलका अनुसार भेटमा ओलीले बोलेर होइन, मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन प्रचण्डलाई आग्रह गरेका छन् ।
रावलले भने, ‘प्रधानमन्त्रीको कुरा अझै पनि क्लियर छैन, चुनावको तयारी भइरहेको छ भन्नुभयो । तर, हामीले तयारी होइन मिति नै चाहियो भन्यौं । वास्तवमा आज एमालेले चुनावबारे गम्भिररुपमा ध्यानाकर्षण गराएको छ ।’
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल