‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

केशव दाहाल- नेता, विवेकशील साझा पार्टी
२०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो समय छिन्नभिन्न जस्तो अवस्थामा छन् । एउटै पार्टीभित्र अटाउन सकेका ‘सँगै भएर पनि सँगै नरहेको’ जस्तो अवस्थामा छन् । झण्डै डेढ दशकअघिदेखि वैकल्पिक राजनीतिको बहस र झण्डा उठाएका इटहरीका केशव दाहाल पछिल्लो समय विवेकशील पार्टीमा छन् । राजनीतिसँगै लेखकको पनि परिचय बनाएका दाहालको मोक्षभूमि नामक कृति यतिबेला मदन पुरस्कारको दौडमा छ । उनीसँग वैकल्पिक राजनीति र विवेकशील पार्टीभित्रको विवादसँग नजिक रहेर अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश –

पार्टी एकताको छोटो समयमै विवेकशील साझा पार्टीमा देखिएको समस्या के हो ?

पछिल्लो समय पार्टीमा देखिएको समस्यालाई मैले मुख्यतः पाँचवटा बुँदामा भन्ने गरेको छु । समयलाई चिन्ने, नयाँ विचारलाई स्थापित गर्ने, पार्टीभित्र लोकतन्त्रलाई मजबूत बनाउने, आजका मुद्दाहरू समाउने र सुसंस्कृत राजनीति गर्ने यी पाँचवटा कुरामा हाम्रा बुझाइहरू फरक देखिए । यसको अर्थ हामीले शुरू गरेको वैकल्पिक राजनीतिलाई बुझ्ने कुरामा एकरूपता रहेन । केही साथीलाई सत्ताको सिंढी चढ्ने हतार छ । पक्कै पनि सत्तामा जाने नै हो । तर कसरी ? मलाई लाग्छ राजनीति सत्ताको मात्र खेल होइन । यो समाजलाई सही दिशा दिने गम्भीर प्रयत्न हो । जुवा खेलेर सम्पत्ति कमाउने कि परिश्रम गरेर ? फोहोरको भारी बोकेर सत्तामा पुग्नुको के अर्थ ? त्यसले त दुर्गन्ध मात्र फैलिन्छ । बिम्बमा भन्दा समस्याको अन्तर्य यही हो ।

फरक मत राख्नासाथ सत्तामा जाने हतारो भनेर विषयान्तर गर्ने अभ्यास त नेपाली राजनीतिको पुरानै रोग हो । तपाईं पनि त्यसकै सहायता लिंदै हुनुहुन्छ !

होइन, मैले भनेका पाँच समस्यालाई व्याख्या गर्दा तपाईंले अर्कै चित्र पाउनुहुन्छ । यो अलिक लामो बहसकै कुरा हो । जस्तो पहिलो- नेपालमा वैकल्पिक राजनीतिको बहस किन शुरू भयो ? हाम्रो पुस्ताले किन पुरानो राजनीति माथि प्रश्न गर्‍यो ? हामीले किन नयाँ पार्टी खोल्यौं ? हाम्रा लागि यी असाधारण प्रश्नहरू हुन् । जसलाई केही साथीले सतहबाट हेर्नुभयो र बेवास्ता गर्नुभयो । हामी यी प्रश्नको गहिराइमा जान चाहन्छौं ।

दोस्रो-हाम्रो पार्टी कुनै सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन । यो सामूहिक प्रयत्न हो । विशेषतः २०४६ सालपछि डा. देवेन्द्रराज पाण्डे, टंक कार्कीहरूले शुरू गरेको नयाँ राजनीतिक अभियान, २०६४ पछि इटहरीमा हामीले शुरू गरेको वैकल्पिक विचार मञ्चको बहस, काठमाडौंमा उज्ज्वल थापाको नेतृत्वमा शुरू भएको विवेकशील अभियान, डा.बाबुराम भट्टराईले आफ्नै नेतृत्वको माओवादी आन्दोलनलाई आलोचना गर्दै शुरू गरेको नयाँ शक्तिको प्रयोग र रवीन्द्र मिश्र, मुमाराम खनाल र डा. सूर्यराज आचार्यहरूले शुरू गरेको पार्टी निर्माणको प्रयत्न । यी सबैका अनुभव, सफलता र असफलताको जगमा हामीले यो पार्टी निर्माण गरेका हौं ।

यो त सबैले जाने-सुनेकै कुरो होइन र ?

मलाई पार्टी विवादका पाँच कारणहरू भन्न दिनुस् । वैकल्पिक राजनीतिको सन्दर्भको कुरा गर्दै थिएँ म । तर केही साथीलाई यी अनुभवहरू भन्दा आफ्नै मनोगत आग्रह प्यारो छ । यो अर्को समस्या हो । तेस्रो कुरा- हाम्रो पार्टीमा इतिहासलाई गाली गर्ने प्रवृत्ति देखापर्‍यो । ठीक छ, हामी भ्रष्ट शासकहरूलाई गाली गरौं । कांग्रेस र कम्युनिष्टहरूलाई गाली गरौं । तर हाम्रो राजनीतिक आन्दोलनको मुख्यपक्ष जनताको सहभागिता हो । अतः त्यसलाई गाली नगरौं ।

रवीन्द्रजी बुझ्ने मान्छे हो । किन उहाँले यति धेरै गैरराजनीतिक कुरा गर्नुभयो, मलाई आश्चर्य लागेको छ । यो उहाँको ज्ञान, क्षमता र योग्यता सुहाउने नारा हैन । उहाँलाई पक्कै थाहा हुनुपर्छ कि देश आफैंंमा विचार हो

हामीले भन्यौं, बरु ती सबै उपलब्धिको स्वामित्व लिऔं र अगाडि बढौं । तर केही साथीमा जनताको आन्दोलनलाई हेर्ने पूर्वाग्रही चेतना देखापर्‍यो । जनतालाई होच्याउने र महाराजाहरूको स्तुति गाउने, अनि कसरी बन्छ वैकल्पिक पार्टी ? समाजको लोकतान्त्रिक चेतनालाई अवमूल्यन गरेर अग्रगामी पार्टी बन्छ ?

चौथो- नयाँ पार्टी बनाइरहँदा हामीले केही वैचारिक, राजनीतिक, संगठनात्मक र एजेण्डागत निष्कर्षहरू निकालेका थियौं । कल्याणकारी लोकतन्त्र भनेका थियौं । सुसंस्कृत राजनीति भनेका थियौं । अग्रगामी पार्टी भनेका थियौं । तर केही साथी अग्रगामी राजनीतिक भाष्यलाई नै आयातीत ठान्नुहुन्छ । लोकतन्त्र कसरी आयातीत हुन्छ ?

पाँचौंः आजको राजनीतिक असन्तुष्टिलाई हेर्ने दृष्टिकोणमा पनि समस्या देखिए । केही साथीले समस्या संघीय लोकतान्त्रिक गणतन्त्रमा देख्नुभयो ।

समस्या कहाँ छ त ? आम मानिसमा पनि एकप्रकारको वितृष्णा देखिन्छ नि ?

हामीले भन्यौं- गणतन्त्रमा समस्या छ भने, के योभन्दा उन्नत व्यवस्था राजतन्त्र हो ? आजको समस्या व्यवस्थामा होइन, व्यवस्थापनमा छ । समस्या राजनीतिक पार्टी र नेतृत्वमा छ । समस्या प्रशासनिक संरचनामा छ । समस्या सत्ताको सोच र विवेकमा छ । हामीले भन्यौं त्यसैले व्यवस्था फेरियो, अब अवस्था फेरौं । हामी राज्यको चरित्र बदल्न र अगाडि बढ्न चाहन्छौं । साथीहरू पछाडि फर्किने कुरा गर्नुहुन्छ । केही साथीहरू जानेर वा नजानेर परिवर्तनलाई उल्ट्याउने र अर्को द्वन्द्व सृजना गर्ने कुरा गर्दै हुनुहुन्छ ।

तपाईंको पार्टी अध्यक्षले ‘विचारभन्दा माथि देश’ भनिरहनुभएको छ ?

रवीन्द्रजी बुझ्ने मान्छे हो । किन उहाँले यति धेरै गैरराजनीतिक कुरा गर्नुभयो, मलाई आश्चर्य लागेको छ । यो उहाँको ज्ञान, क्षमता र योग्यता सुहाउने नारा हैन । उहाँलाई पक्कै थाहा हुनुपर्छ कि देश आफैंंमा विचार हो । विचारभन्दा माथि देश भन्नु पनि आफैंंमा विचार हो । संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह भन्नु पनि विचार नै हो । पार्टी बनाउनु पनि विचार हो । विचारशून्य नेता, विचारशून्य राजनीति, विचारशून्य पार्टी र विचारशून्य देश हुँदैन ।

रवीन्द्रजीले पछिल्लो समय उठाउनुभएको मुद्दा वैकल्पिक राजनीतिभित्रै समेटिने सवाल हुन् त ?

हामीले गर्ने राजनीतिलाई वैकल्पिक राजनीति किन भन्यौं ? के यसो भनेर हामी कहिल्यै सत्तामा नजाने ? के हामी मूल खेलाडीको विकल्पमा अवसर कुरेर बस्ने कमजोर खेलाडी हौं ? होइन । वैकल्पिक राजनीति खासमा हामीले आफूलाई अलग, विशेष र भविष्यको सम्भावनाका रूपमा अभिव्यक्त गरेको बिम्ब हो ।

निश्चय नै हामीले गर्ने केन्द्रीय राजनीति नै हो । हाम्रा मुद्दाहरू केन्द्रीय राजनीतिका मुख्य मुद्दाहरू नै हुन् । हामीले त्यही मैदानमा गोल गर्ने हो । तर हामी विचारमा अलग छांै, संगठनमा उन्नत छौं, सुसंस्कृत छौं र हामी पुराना खेलाडी भन्दा क्षमतावान छौं भन्ने अर्थमा हाम्रो राजनीतिलाई वैकल्पिक राजनीति भनिएको हो ।

हामीले पुरानाहरूको विकल्पमा हामी छौं भनेर जनतालाई छनोटको विकल्प दिएका हौं । यसलाई वैकल्पिक खेलाडीको जस्तो अर्थमा नभई अलग पहिचानको अर्थमा लिनुपर्छ । आफ्नो जन्मजात परिचयमाथि प्रश्न गर्नु स्वयं आफैंले शुरू गरेको नयाँ राजनीतिको अर्थ, महत्व र सान्दर्भिकता नबुझ्नु हो । नयाँ परिचय पनि स्थापित नहुने र पुरानो परिचय दिंदा आफैंलाई लाज लाग्ने ? वैकल्पिक राजनीतिको परिचय हाम्रा लागि गर्वको कुरा हो ।

वैकल्पिक राजनीतिमा लागेकाहरू आफैंं भाष्य बनाउँदै आफैंं भत्काउँदै गरे जस्तो देखियो । के वैकल्पिक राजनीतिको नयाँ भाष्यलाई बुझ्ने आधारभूत प्रश्नमा नै समस्या भएको हो ?

कहिलेकाहीं त्यस्तो पनि हो कि जस्तो लाग्छ । आफूलाई नचिन्ने, आफ्नो आवश्यकता र औचित्यबारे अस्पष्ट हुने, आफूले पाएको ऐतिहासिक दायित्वलाई नदेख्ने तर अरूको सत्ताभोग देखेर फिट्फिट् हुने वैकल्पिक राजनीति होइन । ‘तातै खाऊँ जली मरौं’ जस्तो गरेर वैकल्पिक राजनीतिले बनाउन खोजेको सुन्दर भाष्य स्थापित हँुदैन । हामी समाज, समय र मुद्दाहरूलाई समकालीन आग्रह, पूर्वाग्रह, असन्तुष्टि र आवेग भन्दा माथिबाट हेर्न चाहन्छौं । भविष्यको सुखद कल्पना हाम्रो उत्प्रेरणा हो । हामी गम्भीर राजनीति गर्न चाहन्छौं । हामी राजनीतिको परम्परागत विचार, संगठन, नेतृत्व, संस्कृति र शैली फेर्न चाहन्छौं ।

सबै राजनीतिक दलहरूका आफ्नै उभिने आधार हुन्छन् । राप्रपा, कांग्रेस र कम्युनिष्टहरूको आफ्नै परम्परागत राजनीतिक आधार छ । दक्षिणपन्थी वा वामपन्थीका आफ्नै परम्परागत संकीर्णता छन् । हामी त्यसको विकल्पमा नयाँ आधार बनाउन चाहन्छौं । नयाँ जग हाल्न चाहन्छौं । तर आफू उभिन आवश्यक जमीनको खोजी नगर्ने र अरूको आँगनमा आफ्नो टेको अड्याउने, यो वैकल्पिक राजनीति हुन सक्दैन । हामीले आफ्नै वैचारिक, संगठनात्मक र राजनीतिक आधार खोज्नुपर्छ । राप्रपा, कांग्रेस वा कम्युनिष्ट जस्तै हुने हो भने हामीलाई अर्को एउटा पार्टी चाहिएको छैन । वैकल्पिक राजनीति त्योभन्दा उन्नत, अग्रगामी र सुसंस्कृत राजनीति हो ।

राजनीतिमा विचारको बोझ धेरै भयो, यो दिनुहुँदैन भन्ने कुरा पनि सुनिन्छ नि !

कम्युनिष्टहरूलाई लाग्छ, विचार भनेको मार्क्सवाद हो । विचार भनेको लेनिनवाद हो । उनीहरूलाई लाग्छ, राजनीतिमा जति धेरै मार्क्सवाद, लेनिनवाद, समाजवाद, साम्यवाद आदि शब्दहरू प्रयोग भयो त्यति धेरै वैचारिक । अर्कोतिर केही मान्छेहरू ठान्दछन् विचार भनेको उदारवाद हो, पूँजीवाद हो, अर्थवाद हो, बजार हो । यी शब्दहरूको प्रयोग विना के राजनीति गर्नु ।

यी दुवैखाले प्रवृत्तिले विचारलाई भारी शब्दहरूको जञ्जाल बनाएका छन् । परिणाम नदिने तर ठूलाठूला कुरा गर्ने राजनीतिले मान्छेहरूमा वैचारिक वितृष्णा सृजना गरेको छ । त्यसैको प्रतिक्रियामा मान्छेहरू भन्छन् विचारबाट राजनीतिलाई मुक्त गर्नुपर्छ । म आफैं पनि मान्छु कि राजनीतिलाई अप्ठ्यारो बनाइयो । क्लिष्ट बनाइयो । केही सम्भ्रान्तहरूको जागिर बनाइयो । शब्दको खेल बनाइयो । बुद्धिविलास बनाइयो । राजनीतिलाई सजिलो बनाउनुपर्छ ।

सजिलो राजनीति भन्नाले ? तपाईं त रोमाञ्चक कुरा गर्दै हुनुहुन्छ । राजनीति गर्न त एउटा विचार समाउनुपर्ला, विचार अनुसारको व्यवहार गर्नुपर्ला ?

मेरो भनाइको अर्थ यो होइन कि राजनीतिको विचार हुँदैन । राजनीति आफैंमा विचारको अभिव्यक्ति हो । जस्तो कि राजनीति जीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने अभियान हो । यो अर्थमा राजनीति मात्र एउटा क्रियाकलाप होइन । राजनीति मात्र पार्टी खोल्ने र चुनाव लड्ने गतिविधि होइन । राजनीति आफैंमा युगलाई सम्बोधन गर्ने गतिशील विज्ञान हो । राजनीति देश र समाजलाई बदल्ने अभियान हो । त्यसैले राजनीति गर्नेले इतिहास बुझ्नुपर्छ र भविष्य पनि देख्नुपर्छ । राजनीति गर्नेले देश, समाज र यसका सपनाहरूलाई छाम्नुपर्छ । समाजलाई हेर्ने र विश्लेषण गर्ने बृहत्तर दृष्टिकोण केले निर्माण गर्छ ? मान्छेको चेतना र विचारले । राज्यसत्ता आफैंमा ठूलो विचार हो । हामी वैकल्पिक राजनीति गर्न चाहन्छौं, यो आफैंमा भयंकर विचार हो । राजनीति गर्नेहरूका लागि विचार बोझ होइन, उज्यालो हो । ऊर्जा हो । तर माक्र्सवाद वा उदारवाद मात्र विचार हुन् भन्ने गलत बुझाइलाई भने हामीले बदल्नुपर्छ र विचारलाई मान्छेको बुद्धिबाट निकालेर कर्ममा जोड्नुपर्छ ।

तपाईंको पार्टीभित्र राजनीतिमा विचारको औचित्य समाप्त भएको ठान्ने नेताहरूको संख्या बढिरहेको हो ?

विचार विनाको राजनीति गर्छु भन्नु, धान नरोपी चामल फलाउँछु भन्नु जस्तै हो । हामीसँग यति धेरै विविधता छ, त्यसलाई कसरी मिलाउने ? फरक फरक जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको विविधतालाई एकतामा कसरी बाँध्ने ? यो वैचारिक प्रश्न हो । हामी मान्छेको स्वतन्त्रता, न्याय र समृद्धि सुनिश्चित गर्न चाहन्छौं । तर कसरी त्यो सम्भव होला ? यो पनि विचारसँगै सम्बन्धित कुरा हो । हामी सहभागितामूलक लोकतन्त्र र कल्याणकारी राज्य स्थापना गर्न चाहन्छौं । यो पनि वैचारिक कुरा हो । यो अर्थमा हामी वैचारिक पुनर्गठनको पक्षमा छौं । मलाई लाग्छ, विचारको अन्त्य हुँदैन । विचार गतिशील हुन्छ र यसले समय अनुसार नयाँ लय बनाउँदै जानुपर्छ ।

त्यसोभए तपाईंहरूको पार्टीमा विचारको संकट किन देखापर्‍यो ?

हाम्रो पार्टीमा समयलाई चिन्ने कुरामा फरक दृष्टिकोणहरू देखापरे । केही साथीले आजको समय, गति, चरित्र र लय देख्नुभएन । आजका मुद्दाहरू देख्नुभएन । उहाँहरू २०४६ सालतिरै अलमलिनुभयो । केही साथीले आजको चाललाई अनुभव गर्नुभयो र अगाडि बढौं भन्नुभयो । शायद विचारको द्विविधा हो यो । यो अर्थमा हाम्रो पार्टीभित्र विचारको संकट होइन, द्विविधा छ ।

तपाईंहरूले आफ्नो पार्टीलाई विकासवादी पार्टीको रूपमा ‘फ्रेमिङ’ गरिरहनुभएको छ । विकास गर्न पनि विचार चाहिएला नि ?

विकास र विचार अविभाज्य अवधारणा हुन् । कसै कसैले विचार चाहिंदैन विकास भए पुग्छ भनेको पनि सुनिन्छ । तर यो गलत कुरा हो । किनभने विकास आफैंमा राजनीतिक कुरा हो । र, खासमा यो गहिरो वैचारिक विषय पनि हो । जस्तो, कस्तो विकास गर्ने ? हाम्रो विकासको प्राथमिकता के हुनुपर्छ ? विकासका लाभग्राहीहरू को हुन् ? विकासमा जनताको स्वामित्व कसरी निर्धारण गर्ने ? स्रोतको परिचालन कसरी हुन्छ ? खासमा यी फगत विकासे प्रश्नहरू मात्र होइनन् । मुख्यतः यी सबै वैचारिक प्रश्नहरू हुन् ।

हामीलाई विकास मात्र चाहियो भन्नु विकासको चरित्र नबुझ्नु र राजनीतिबाट विकासलाई अलग गर्नु हो । मान्छेहरू युरोप, अमेरिका र चीनको विकासको कुरा गर्दछन् र भन्छन् उनीहरूले विकास गरे, हामी विचारमा अल्भिmयौं । तर होइन, उनीहरूले विकास मात्र गरेका छैनन् । बरु उनीहरूले विचार पनि निर्माण गरिरहेका छन् । कुनै पनि देशका विकास प्रयत्नहरूलाई त्यो देशको विचारबाट भिन्न राखेर बुझ्न सकिंदैन । यो अर्थमा विकास वैचारिक कुरा हो । विचार विनाको विकास हावामा महल बनाउनु जस्तै हो । निश्चय नै हामी विकासवादी हौं । तर जनमुखी, न्यायपूर्ण र समतामूलक विकास हाम्रो विचार हो ।

तर पार्टीमा तपाईंहरूलाई बाँध्ने विचारको रसायन त धेरै कमजोर देखियो नि ?

निश्चय नै हाम्रो पार्टीमा विचारको एकरूपता आइसकेको छैन । खासमा हाम्रोमा विचारको रसायन बनेकै छैन । किनभने हामी अनेक पृष्ठभूमि र स्कूलका उत्पादनहरू एकठाउँमा भेला भएका छौं । भर्खर वैचारिक मन्थन शुरू भएको छ ।

संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह गर्नुपर्ने मागमा व्यापक जनमत छ भनिन्छ नि ?

जनमत कसको पक्षमा छ भन्ने कुरा कसरी थाहा हुन्छ ? चुनाव भयो ? मत सर्वेक्षण भयो ? सामाजिक सञ्जालमा के देखियो भने त्यसले राजनीतिक दलको विचार निर्माणमा निर्णायक भूमिका खेल्दैन । त्यो सहायक पक्ष मात्र हो । मुख्य पक्ष राजनीतिक दल स्वयम्ले गरेको समाजको अर्थ-राजनीतिक विश्लेषण, राजनीतिक आवश्यकता र सामाजिक पक्ष हो ।

यद्यपि विचार स्थापित हुन समय लाग्छ, अन्यथा २०३६ सालमा जनमत संग्रहबाट स्थापित पञ्चायत २०४६ सालमा किन फालिन्थ्यो ? मलाई लाग्छ, नेपाली समाज जात, धर्म, वर्णका संकीर्णताबाट धेरै माथि उठ्दै गरेको लोकतान्त्रिक समाज हो । अन्यथा लिम्बुवानमा एमालेको बाहुनले चुनाव जित्ने थिएनन् । र, मधेशमा कांग्रेस र कम्युनिष्टहरूको जमानत जफत हुनेथियो । अवश्य नै पछिल्लो समय पुराना पार्टीहरूले सही ढंगले जनताको नेतृत्व गर्न सकेनन् । सरकार असफल भयो । त्यसैले जनता निराश छन् । समाजमा फ्रस्टेशन तीव्र छ ।

यसको परिणाम केही मान्छे व्यवस्थाकै विरुद्धमा खनिएका छन् । र, केही मान्छे जनताको असन्तुष्टिलाई व्यवस्था विरुद्ध भड्काउन चाहन्छन् । तर अर्कोतिर गम्भीर मान्छे, विचार निर्माता, विश्लेषक हाम्रो प्रस्तावको पक्षमा छन् । मलाई लाग्छ- भीडको आग्रह, पूर्वाग्रह र आवेगमा राजनीतिक दल भड्किन मिल्दैन । भीड र विवेकशील जमातमा फरक हुन्छ र हुनुपर्छ ।

राजनीतिले त भीडलाई चेतनाको उज्यालो पो दिनुपर्छ । फेरि राजनीतिक दलहरूले बहुमतको हैन, न्यायको कुरा गर्नुपर्छ । अन्यथा के अल्पसंख्यकहरू सधैं हेपिएर बस्ने ? के बोल्न नसक्नेहरू सधैं निर्धो हुनुपर्ने ? यस्तो राजनीति त सय वर्ष अगाडि नै अन्त्य भइसक्यो । आजको लोकतन्त्रले संख्याको, भीडको, बहुमतको मात्र कुरा सुन्दैन । आजको लोकतन्त्र मुख्यतः न्याय हो ।

स्थापनाको तीन वर्ष नहुँदै संघीयता काम नलाग्ने व्यवस्था हो भन्ने निष्कर्ष साथीहरूले कुन तथ्यको आधारमा बनाउनुभयो ? राजनीतिक दलले हल्लाको भरमा हैन, तथ्यको आधारमा विचार बनाउनुपर्छ । जनताको आँगनमा स्थापना गरिएको निर्वाचित संरचना कसरी काम नलाग्ने हुन्छ ? काम नलाग्ने भएको संरचना हैन, राजनीति हो

धर्मनिरपेक्षताले बहुसंख्यक हिन्दुहरूको मनमा आघात परेको र उनीहरूलाई अन्याय भएको छ भनिन्छ नि ?

धर्मनिरपेक्षता कसैलाई आघात गर्ने वा अन्याय गर्ने सिद्धान्त नै होइन । यो समन्यायको सिद्धान्त हो । सबैलाई न्याय हुँदा कसैको किन चित्त दुख्छ ? सबै धर्महरू महत्वपूर्ण छन् भन्दा हामी हिन्दूहरूलाई अन्याय भएझैं लाग्छ भने त्यो सिद्धान्तको समस्या हैन, हाम्रो मनको समस्या हो । छोरा र छोरीलाई समान अंश दिनुपर्छ भन्दा छोरालाई अन्याय भए जस्तो लाग्छ भने त्यो सिद्धान्तको हैन, छोराको मनको समस्या हो । सबै मान्छे बराबर छन्, सबै सभ्यता बराबर छन्, सबै भाषा बराबर छन् र सबै धर्महरू बराबर छन् । यो सिद्धान्तलाई स्थापित गर्दा हामी हिन्दूहरूको मन दुख्दैन । यो त धर्मको राजनीति गर्न चाहनेहरूको मात्र मन दुखेको हो । म आफैं हिन्दू हुँ । मेरो परिवार धार्मिक परिवार हो । तर धर्मनिरपेक्षताले मेरो मन दुखेको छैन । सबै धर्म समान छन् तर मेरो धर्म विशेष छ भन्नु धार्मिक अहंकार हो ।

के त्यसो भए सनातन वैदिक धर्ममा तपाईंहरूलाई कुनै गर्व छैन ?

अवश्य पनि हामीलाई हाम्रो इतिहास, सभ्यता, आस्था, धर्म र परम्पराप्रति गर्व छ । म मेरो इतिहास, सभ्यता, आस्था, धर्म र परम्पराप्रति गर्व गर्छु । तर म जस्तै अरूलाई उनीहरूको आफ्नै धर्म, परम्परा र सभ्यताप्रति गर्व छ । सबैलाई आ-आफ्नो धर्म, धर्मभित्रका कथा, उपकथा, मिथहरू रमाइलो लाग्छ । बहुलवादी समाजको सुन्दरता नै यही हो कि समाजमा हामी मात्र छैनौं, यहाँ अनेक भाषा, धर्म, सभ्यता र संस्कृति छ । सबैका आ-आफ्नै आस्था छन् । त्यसैले राज्यले सबै नागरिकका धार्मिक कथा, मिथ, सभ्यता र आस्थालाई बराबर सम्मान गर्नुपर्छ र निरपेक्षभावले समान व्यवहार गर्नुपर्छ । बहुधार्मिक राष्ट्रमा कुनै खास धर्म राज्यको धर्म हुँदैन । धर्मको राजनीति आजको युगमा नसुहाउने कुरा हो । यसोभन्नु सनातन वैदिक धर्मलाई अनादर हँुदैन । म आफ्नो धर्मको आदर गर्छु । तर सँगसँगै म अन्य सबै धर्मलाई समान ढंगले आदर गर्नुपर्छ भन्ने ठान्छु ।

कतिपय मान्छेहरूले देश बर्बाद भयो, देशको अस्तित्व माथि नै संकट आयो भन्ने गरेको पनि सुनिन्छ ?

हाम्रो संविधानमा धर्मबारे जे जस्तो प्रावधान लेखिएको छ, त्यो ठीक छ । त्यो न्यायिक छ । न्यायको कुरा गर्दा देशमा संकट पर्‍यो भन्नु नचाहिंदो कुरा हो । तर परम्परागत राजनीतिको एउटा चाल भनौं, उनीहरू नदेखिने शत्रु खडा गरेर त्यसका विरुद्ध जनतालाई सदैव आन्दोलित गर्दछन् र आफू सत्ताको स्वाद लिइरहन्छन् । यो त्यस्तै कुरा हो कि उनीहरूले देश बर्बाद हुँदैछ भनेर कतै अँध्यारोमा भयंकर ठूलो शत्रु स्थापित गरेका छन् । जो देखिंदैन । तर जनतालाई तर्साइरहन काम लाग्छ । सबै जातजाति, भाषा, धर्मका जनतालाई समान न्याय, अधिकार र स्वामित्व दिंदा देश कमजोर हुन्छ कि बलियो ? देश जनताको एकताले बलियो हुने हो ।

अन्यथा, यो देश हामी हिन्दूहरूले, काठमाडौंले वा केही टाठाबाठाहरूले मात्र जोगाएका छौं भन्नु मनोगत कुरा हो । केही मान्छे बृहत्तर हिन्दुस्तानको रणनीतिमा नेपाललाई मोहरा बनाउन चाहन्छन् । धर्मनिरपेक्षता उल्ट्याउने प्रस्ताव त्यसैको एक रणनीति हो भनेको पनि सुनिन्छ । केही मान्छे प्राप्त उपलब्धिहरूलाई उल्ट्याएर नयाँ द्वन्द्व सृजना गर्न चाहिरहेका छन् । देश त्यो बाटोमा गए चैं अवश्य नै नयाँ द्वन्द्वमा फस्छ । अन्यथा जनतालाई एकताबद्ध गरौं । जनतालाई अधिकारसम्पन्न बनाऔं । जनतालाई भविष्यप्रति आशा जगाऊँ र राजनीतिलाई सही दिशा दिऊँ । देश आफैं बलियो हुन्छ ।

संघीयता महँगो भयो, यसले हाम्रो एकतालाई कमजोर बनायो, यसरी देश विभाजनमा जान्छ भनिन्छ ! शायद त्यसैको प्रभावले हुनुपर्छ, संघीयता खारेजीको माग भइरहेको ?

अहिले सोच्नुपर्ने विषय संघीयताको खारेजी हो कि यसको प्रभावकारी रूपान्तरण ? स्थापनाको तीन वर्ष नहुँदै संघीयता काम नलाग्ने व्यवस्था हो भन्ने निष्कर्ष साथीहरूले कुन तथ्यको आधारमा बनाउनुभयो ? राजनीतिक दलले हल्लाको भरमा हैन, तथ्यको आधारमा विचार बनाउनुपर्छ । जनताको आँगनमा स्थापना गरिएको निर्वाचित संरचना कसरी काम नलाग्ने हुन्छ ? काम नलाग्ने भएको संरचना हैन, राजनीति हो । त्यसैले हामीले भन्यौं, संरचना हैन राजनीति फेरौं । जहाँसम्म खर्चको कुरा छ, खर्च घटाउन सक्ने प्रशस्त ठाउँ छन् । प्रदेशमा मन्त्रालयहरूको सङ्ख्या घटाऊँ, सांसदहरूको सङ्ख्या घटाऊँ, जिल्ला समन्वय समिति खारेज गरौं, जिल्ला प्रशासन हटाऔं, कर्मचारी प्रशासन चुस्त राखौं ।

अरू पनि धेरै कुरा गर्न सकिन्छ । नभुलौं हिजो दर्जनौं ‘श्री ५’ हरूलाई हामीले पालेका थियौं । दरबारका मामाचेला, फुपूचेली, ज्वाईं र नाताकुटुम्बहरू सयौं थिए । जसलाई राज्यले पालेको थियो । राजसभाको नाममा हिजो ठूलो हात्तीले रजगज गथ्र्यो । अञ्चलाधीशहरूको दादागिरी त झन् उल्कैको थियो । हिजो पाँच वटा विकास क्षेत्र र पचहत्तर जिल्लामा ठूलो संरचना थियो ।

यसको अर्थ आजको खर्चलाई ‘जस्टिफाई’ गर्न खोजेको हैन । यसको अर्थ हिजोको खर्च पनि ठूलो थियो र आज पनि अनावश्यक खर्च भइरहेको छ । त्यसलाई घटाऔं र संरचनालाई प्रभावकारी बनाऔं । प्रदेश प्रभावकारी भए जनताले धेरै सुविधा पाउँछन् र जनताको खर्च घट्छ ।

जहाँसम्म देशको अखण्डताको कुरा छ, प्रदेशहरूका कारण त्यो कमजोर हुने हैन । देशको खास भूगोल, जाति, भाषा, धर्म र सभ्यतालाई शंका गरिरहे चैं हाम्रो अखण्डता कमजोर हुन्छ । जनताको देशभक्तिमाथि विश्वास गरौं । आफू मात्र देशभक्त भन्ने घमण्ड नगरौं ।

हुनुपर्ने के त ? तपाईंहरूले खास गर्न चाहनुभएको चाहिं के हो ?

हामी धेरै लड्यौं । बितेका ७० वर्ष नेपालमा आन्दोलनहरू भए । यसैको बलमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौं । यो अर्थमा अब मूलतः राजनीतिक आन्दोलनको युग सकियो । हाम्रो निष्कर्ष हो, व्यवस्था फेरियो, अब अवस्था फेरौं । यसका लागि केही काम गरौं र अझ अगाडि बढौं । जस्तो-नयाँ युगलाई नेतृत्व गर्ने नयाँ राजनीति स्थापित गरौं । नयाँ नेतृत्व स्थापित गरौं । सुसंस्कृत र नैतिक राजनीति स्थापित गरौं ।

हामीले लोकतन्त्र प्राप्त गर्‍यौं, यसलाई सहभागितामूलक, समावेशी र समृद्ध बनाऔं । यसका लागि सबै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी छानौं । कार्यकारी प्रमुखहरूलाई एक व्यक्ति दुई कार्यकालमा सीमित गरौं । मतदातालाई बलियो बनाउन ‘राइट टु रिकल’ र ‘नो भोट’को अधिकार दिऊँ । सांसद जसरी पनि मन्त्री बन्नैपर्ने विकृति देखियो, यसलाई हटाऊँ ।

स्थानीय सरकारलाई गैरदलीय निर्वाचनमा लैजाऔं । जिल्ला समन्वय समिति हटाऊँ । राज्यलाई सुशासित र सेवामूलक बनाऔं । अख्तियारले काम गर्न सकेन भने लोकपाल गठन गरौं । सम्भव छ, सबै सरकारी नियुक्ति पाउनेहरूको सम्पत्ति छानबिन गरौं र भ्रष्टहरूलाई सजाय दिऊँ । शिक्षा, स्वास्थ्यलाई राज्यको दायित्वभित्र राखौं । कर्मचारी प्रशासनको पुनर्गठन गरौं र मूलतः स्थायी कर्मचारीको संरचनालाई करारमा ढालौं ।

युवालाई उत्प्रेरित गरौं । वार्षिक थप दश लाख रोजगारी सिर्जना गर्ने अवसर खोजौं । हामीले गर्नुपर्ने र गर्न सकिने अनेक काम छन् । यही संविधान र यही व्यवस्थालाई बलियो बनाउँदै अगाडि जाने अनेक अवसर छन् । राज्यको संरचना फेरियो, यसको चरित्र बदल्ने अनेक अवसर छन् । हामी त्यता जानुपर्छ भन्ने हाम्रो कुरा हो । अन्यथा प्राप्त उपलब्धिको स्वामित्व नलिने र नयाँ द्वन्द्वको बीउ रोप्ने हो भने इतिहासले हामीलाई सराप्ने छ । त्यो हाम्रो बाटो होइन ।

जन्मिनासाथ अनेक टुटफुट र विवादमा फस्नुभयो । यो मुद्दा पनि निकै पेचिलो देखिंदैछ, के यसरी पार्टीको स्वीकार्यता र विश्वसनीयता कमजोर हुँदैन ?

निश्चय नै हेर्दा त्यस्तो देखिन्छ । तर बहसले पार्टीलाई कमजोर बनाउँदैन । छलफल हुँदैमा विश्वसनीयता गुम्दैन र गुम्नुहुँदैन । हाम्रो पार्टीमा विचार, धार, मुद्दाहरूको सेटअप भएको छैन । हाम्रो पार्टी देश फेर्ने हुटहुटी भएका मान्छेहरूको नयाँ पार्टी हो । देश बदल्ने हो भन्नेमा एकता छ । तर त्यो कसरी फेरिन्छ, त्यसको सपना के हो ? त्यसको वैचारिकी के हो ? त्यसमा फरक फरक अभिमत छ ।

अहिलेको विवाद त्यही फरकहरूको इमानदार अभिव्यक्ति हो । कसैलाई लाग्छ, राजा नै ठीक थिए । कसैलाई लाग्छ, जातीय बखेडा नगरेको राम्रो । कसैलाई लाग्छ, संघीयता ठीक छैन । यसलाई मैले अन्यथा ठान्दिनँ । किनभने बहसले सत्यलाई उद्घाटित गर्नेछ । अन्यथा त्यतिखेर हुन्छ जब साथीहरूले सत्यलाई इन्कार गर्नुहुन्छ । हाम्रा युवा साथीहरूले सत्यलाई स्वीकार गर्नुहुन्छ र निष्कर्षलाई निकाल्न हुन्छ भन्नेमा म विश्वस्त छु । विचारको लय मिलेपछि धेरै कुरा मिल्छ ।

पार्टीभित्रको पछिल्लो विवादको समाधान कत्तिको सजिलो छ ? समाधान के होला ?

विवाद त हुन्छन् नै । मुख्य कुरा विवाद विग्रहतिर जान्छ कि सकारात्मक निष्कर्षतिर त्यो हो । मलाई थाहा छ- हाम्रा युवा साथीले यो बहसलाई ठीक ढंगले निष्कर्षमा पुर्‍याउन सहयोग गर्नुहुनेछ । हामीले जनतालाई फेरि अर्को खराब विकल्प दिनुहुँदैन । यो विषयमा साथीहरू सचेत हुनुहुन्छ । हामीले उन्नत विकल्प बनाउनुपर्छ । फेरि पनि खराब विकल्प दिनु भनेको मतदाताप्रति अन्याय हुन्छ ।

निश्चय नै केही साथीलाई अलिक हतार छ । चुनाव जित्न हतार छ, सत्तामा पुग्न हतार छ । तर राजनीतिमा हतार गरेर मात्र हुँदैन । राजनीति पार्टी खोल्ने, चुनाव जित्ने, मन्त्री हुने र शासन गर्ने सत्ताको खेल मात्र हैन । मुख्यतः राजनीति जीवन र जगतलाई हेर्ने, बुझ्ने र अझ राम्रो बनाउन प्रयत्न गर्ने साधना हो ।

यो अर्थमा पार्टी साधन हो । मुख्य कुरा हो समाजको उन्नयन, स्वतन्त्रता र न्याय सहितको मानव सभ्यता । यसर्थ राजनीति हतारको गेम होइन । सय मिटरको दौड होइन । म साथीहरूलाई हतार नगर्न, हतारमा गल्ती नगर्न बरु गम्भीर बन्न अनुरोध गर्छु । विमर्शसँग डराउनुपर्दैन, बरु विमर्शलाई स्वस्थ बनाऔं, आरोप प्रत्यारोपभन्दा माथि उठौं र वैकल्पिक राजनीतिको मूल बाटो समाऔं । समाधान यही हो ।

जहाँसम्म प्रक्रियाको कुरा छ, यो बहस पार्टीको औपचारिक प्रक्रियामा प्रवेश गरेको छैन । हामीसँग दुइटा बाटा छन् । पहिलोः केही समय अनौपचारिक बहस गर्ने, एक अर्कोलाई सुन्ने, सम्झाउने र साझा निष्कर्षतिर जाने । अर्को विकल्प हो, पार्टीको औपचारिक संरचनामा विषयलाई प्रवेश गराउने र त्यहींबाट छिनोफानो गर्ने ।

कि अब फेरि तपाईंहरूको पार्टी फुट्छ ? सुनिन्छ तपाईं स्वयं पार्टीमा नबस्ने सोचमा हुनुहुन्छ रे !

पार्टी फुट्दैन । फुट्नुहुँदैन । किनभने फुटेर हामीले केही पनि प्राप्त गर्न सक्दैनौं । जहाँसम्म मेरो कुरा छ, म विवेकशील र साझा पार्टीलाई एकताबद्ध बनाउने वार्ता समितिको सदस्य र मुख्य उत्प्रेरकमध्ये एक हुँ । अहिले पनि राजनीतिक संवाद समितिको संयोजक छु । यसर्थ, पार्टीको एकता मेरो पहिलो प्राथमिकता हो । म यो एकतालाई अझ सुदृढ बनाउँदै अगाडि जानुपर्छ भन्ने ठान्दछु । धेरैभन्दा धेरै व्यक्ति, समूह र पार्टीको ध्रुवीकरण विना वैकल्पिक शक्ति बन्दैन ।

अतः त्यसमा मेरो प्रतिबद्धता पनि छ र अनेक व्यक्ति, समूह र पार्टीहरूसँग संवाद पनि जारी छ । यो अर्थमा एकता र अझ सुदृढ एकता मेरो प्राथमिकता हो । तर पार्टी वैचारिक रूपमा ठीक हुनुपर्छ । यसले ठीक ढंगले विचार, मुद्दा, संगठन प्रणाली र राजनीतिक संस्कृतिमा आफ्नो उपस्थिति स्थापित गर्नुपर्छ । हामीले चाहेको राजनीति अगाडि जान्छ र त्यो यात्रालाई यसले नेतृत्व गर्छ । अन्यथा एउटा पार्टी र अरू जस्तै परम्परागत पार्टीमा मेरो कुनै चाख छैन ।

Coppied from onlinekhabar.com

 

photo

NOC1-250x300