मोदनाथलाई कि न्याय कि सजाय !

रानी ऐश्वर्यासँगको पहिलो भेटमा मोदनाथ प्रश्रितलाई नचिताएको पुरस्कार आइलाग्यो । रानीका लागि आफू अपरिचित छु भन्ने भावसहित प्रश्रित आफ्नो परिचय दिँदै थिए । रानीले प्रश्रितलाई नचिताएको जवाफ फर्काइन् । पञ्चायतकालमै दरबारमा ‘लुकीछिपी’ देवासुर संग्राम, मानवजस्ता विद्रोही कृति पढेको जनाइन । प्रश्रितका लागि ३ दशक पहिले मदन पुरस्कार जितेभन्दा महत्वपूर्ण पुरस्कार जितेको क्षण सायद त्यही थियो । जसकाविरुद्ध कलम चलाइएको छ उसैले रुचाउनु अपवाद हो । त्यो पनि कठोर छवी बनाएकी रानीले प्रश्रितजस्ता विद्रोही लेखकलाई रुचाउनु कम्ता रोचक प्रसङ्ग होइन ।

युवावयमै प्रसिद्धी चुमेका प्रश्रित जीवनको उत्तरार्द्ध भने चरम विवादमा तानिएका छन् । महारानीबाट समेत रुचाइएका विद्रोही श्रष्टा प्रश्रित एउटै मञ्चमा उभिन लायकसमेत नरहेको तुच्छ व्यक्तिका रुपमा तिरस्कृत भएका छन् । भूमिगत कालमा आदर्शको मानक रहेका मोदनाथमाथि सोही बेला अबोध बालिका बलात्कार गरेको बात लागेको छ । उनको छवी चौपट भएको छ । उनको छवी र योगदान लिलाम भइरहेको छ । यस्तो लिलाम जहाँ बढाबढ होइन, घटाघटको हिसाब चल्छ । सँगै उनको पार्टी र सरकारमाथि गम्भीर प्रश्न खडा भएको छ ।
प्रश्रितमाथि भ्रष्टाचार विरोधी अभियन्ताको छवी बनाएकी शारदा भुसालले बलात्कारको आरोप लगाएकी छिन् । केही वर्ष पहिले आत्मवृत्तान्तरुपी पुस्तकमार्फत भुसालले प्रश्रितमाथि गम्भीर आरोप लगाएकी थिइन् । सोही आरोप मोदनाथलाई पद्यमश्री पुरस्कार दिने घोषणा गरिएपछि बल्झिएको हो । पुरस्कार नलिने÷नदिने घोषणासँगै सो प्रसंग सेलाउन थालेको छ । सेलाएको हो, सकिएको होइन । मोदनाथलाई मरेतुल्य बनाएको सो आरोपले मोदनाथलाई मृत्युपछि पनि खेदिरहने छ ।

बलात्कारको घटनामा मुख्य तीन पक्ष हुन्छन्ः पीडित, पीडक र सरकार । बलात्कारसँग सम्बन्धित घटनामा पीडित भएकाको अभिभावक सरकार हुन्छ भन्ने वैधानिक व्यवस्थाका कारण सरकार स्वतः जोडिने गर्दछ । पीडितले उजुरी गरेपनि नगरेपनि बलत्कारको चर्चा भइसकेपछि सरकारले नसुनेजस्तो गर्न मिल्दैन । तर, प्रश्रितको सवालमा सरकार पक्ष मौनप्रायः छ । प्रश्रितमाथि पार्टी काममा रहेको बखत जघन्य अपराधमा संलग्न भएको आरोप लागेको छ । सोही पार्टी सरकारमा छ । घटनामा परोक्षरुपमा संलग्न रहेका भनिएका पात्र मन्त्री, नेता र सांसद छन् । तर कोही चुक्क बोल्दैनन् । कि प्रश्रितमाथि अन्याय भएको पुष्टि गर्नुप¥यो, होइन भने उनलाई दोषीका रुपमा दण्डित गर्नुप¥यो ।

नेकपाका नेताले नेकपाकै कार्यकर्ताकी छोरीलाई उपचारका लागि भनस् काठमाडौँ ल्याइ यौनदासी बनाइएको आरोप पुस्तककै रुपमा सार्वजनिक हुँदासमेत नेकपा केही नभा’जस्तो गर्दैछ । आरोपी भुसालले आफूमाथि भएको व्यभिचारबारे कुन कुन नेतालाई सोहीबखत थाहा थियो भन्नेसमेत उल्लेख गरेकी छिन् । नेकपाले चाहेमा तत्तत् नेता र पक्षसँग सोधपुछ गरी निष्कर्ष निकाल्न सक्छ । शान्ता मानवी मध्यवानेश्वरमा बस्छिन् । सिँहदरबार वा धुम्बाराहीले खोजेमा उनी १० मिनेटमा भेटिने ठाउँमा छिन् । पार्टी अनुशासन आयोगको कमाण्ड सम्हालेका अमृत बोहोरा अनुशासनकै सवालमा मौन बस्न नमिल्ला । नारी आन्दोलनको सवालमा जिउँदो रहेकी नेतृमध्येकी बरिष्ठ अष्टलक्ष्मी शाक्य सोधखोज गरे लाजगाजले पनि निःशब्द रहन नमिल्ला । प्रश्रितले डेरा गरी बसेको घर भेटिएला । घरबेटी भेटिएलान् । भुसालका माइती भेटिएलान् । खोज्दै जाँदा यानका तान छुट्टिने अवस्था छ । तर, खोजी नहुनु बिडम्बना छ । भुसाल र प्रश्रित सम्बन्धको विषय सामाजिक सञ्जाल र पुरस्कार बहिष्कारमात्रमा सीमित हुने बिषय होइन ।

प्रश्रितले भुसालको आरोपलाई अस्वीकार गरेका छन् । बहुलठ्ठीले लगाएको आरोप भन्दै उनी बिषयबाट उम्किन चाहेका थिए । समय बर्बर हुने रहेछ । बिषय सुल्झिनुको साटो बेलाबखत बल्झिरहेको छ । आरोप लाग्दैमा कोही दोषी नै हो भन्न सकिँदैन । तर, आरोपलाई खण्डित गर्ने गरी तथ्य नआउँदा आरोपित नै दोषी देखिने गर्दछ । अहिले प्रश्रित पीडकका रूपमा दर्ज छन् । मानौँ उनी निर्दोष होलान् । निर्दोषमाथि यति ठूलो दोष थोपरिएको भए त्यो भन्दा ठूलो अन्याय अरु के होला । प्रश्रितको निर्दोषिता पनि छानबीन नगरी पुष्टि हुँदैन । उनी दोषी भए यौनदासी बनाउनेलाई सामाजिक सञ्जालको गाली र तिरस्कारले मात्र पुग्दैन । यसर्थ पनि यो बिषय राज्य र पार्टीको छानबिनको बिषय बन्नुपर्दछ ।

नेकपाको यौन हिँसा बारेको नीति के हो ? प्रश्न गम्भीर छ । कर्मचारी छँदा युवतीलाई गर्भवती बनाई लापत्ता भएको र सन्तान अस्वीकार गरेको आरोप कृपासुर शेर्पामाथि थियो । त्यति हुँदाहुँदै पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कृपाबाट उनी मन्त्रीसमेत भए । विषय व्यापक भएपछि उनले पत्नी र छोरा स्वीकार गरे ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सचिवालमा रहेकी बालिका खड्काले तत्कालीन सञ्चारमन्त्री तथा हाल प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौनहिंसाको आरोप लगाइन् । पार्टीमा उजुरी दिइन् । प्रधानमन्त्रीसमक्ष गुनासो दाखिला गरिन् । उनको उजुरीको कुनै सुनुवाइ भएन । अदालतमा मानापाथीका लागि मुद्धा दायर गरेकी बालिका अहिले पछि हटेकी छिन् । उनले आफू उस्काहटमा लागेर राईबिरुद्ध खनिएको बकपत्र अदालतमा पेस गरेकी छिन् । बालिकाको बकपत्रमा उक्साउनेको नाम नभएपनि शेरधन पक्षले कृपासुरलाई कसुरदार करार गर्दै आएको छ । उक्साहटमा परेर श्रीमती दाबी गर्न सक्ने बालिकाले प्रलोभन वा दबाबमा परेर आरोप फिर्ता लिन नसक्ने भन्ने नहोला । तर, घटनाका बहुआयाम हेर्ने फुर्सद कसलाई ? एक नेताका विरुद्ध अर्को नेताले महिला परिचानल गर्ने तर पार्टी भने मौन रहने पार्टीका रूपमा नेकपा देखिनु अस्वभाविक छ ।

आफूमाथि बहालवाला सभामुखबाट बलात्कार प्रयास भएको भन्ने रोशनी शाहीको सार्वजनिक आरोपका कारण कृष्णबहादुर महराले भोगेको पतन ताजै छ । आरोपी रोशनीले आरोपित महरा पितासरह पूज्य रहेको अदालती बयान दिएसँगै कानूनी पाटो सकिएको छ । कानूनी झमेला सकिएपनि महरा र शाहीको जीवनमा आएको उतारचढावले कहिलै पार पाउने छैन । महराको सभामुखबाट राजीनामा माग्ने निर्णयबाहेक सो सवालमा नेकपा मौन छ ।

सरकारी नेकपाको मौनता कम्तिमा पनि मोदनाथको हकमा अशुभ हो । मोदनाथ दोषी पुष्टि भए सत्य भनिएको चिजलाई पनि शंका गर भन्ने भौतिकवादी दर्शन चरितार्थ हुने छ । उनी निर्दोष पुष्टि भए प्रगतिशील साहित्यका धरोहरको जिर्णोद्धार हुनेछ ।

coppied from janaaastha.com

 

photo

NOC1-250x300