‘बाबुरामले भने- कोरा जीवनीले अर्थ राख्दैन’

Anil-Thapaअनिल थापा

तलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे । पार्टी घोषणा सभामा ‘कम्युनिष्ट’ शब्द प्रयोग गरिएन । तर, घोषणा सभाको साजसज्जाले ‘कम्युनिष्ट क्रान्तिकारी’ को झल्को दिन्थ्यो ।

करिश्मा मानन्धरले मुठ्ठी उठाउँदै उद्घोषण सुरु गरेको सभा क्रान्तिको प्रतीक रातो रङले सजिएको थियो ।

‘माओवाद’ परित्याग गरेका बाबुराम भट्टराईले रोजेको माओत्से तुङको चिह्न ‘तारा’ अंकित पार्टीको झण्डा र त्यसमाथि रङ्गशालाको वरिपरि नेपालको राष्ट्रिय झण्डा फहराइरहेका थिए ।

नयाँ शक्ति, नेपाल नामक पार्टीको नेतृत्व गर्दै उनले सामूहिक रूपमा सबैलाई शपथ खुवाए । आफ्ना लागि ‘प्रतिकूल’ देखिएको अवस्थामा उनले ‘जोखिम’ मोले ।

कान्तिपुर टेलिभिजनको समाचार कक्षमा बेलाबेला सहकर्मी भुवन केसीसँग राजनीतिक घटनाक्रमबारे विचार-विमर्श हुन्थ्यो । नेपालको राजनीति, राजा, माओवादी, कांग्रेस, एमाले, मधेसी दल लगायतको विश्लेषण गर्थ्यौं । माओवादीका कुरा गर्दा प्रचण्ड-बाबुराम सम्बन्ध र व्यक्तित्वका कुरा हुने नै भए ।

राज्यले ‘आतङ्ककारी’ घोषणा गर्दा पनि हामीले माओवादीलाई बाबुरामका कारण ‘आतङ्ककारी’ भनेनौं,’ राजधानी दैनिकमा काम गर्दाको स्मरण गर्दै भुवनजी भन्नुहुन्थ्यो, ‘बाबुराम जस्तो मान्छे कसरी आतङ्ककारी हुन सक्छ भन्ने हामीलाई लाग्थ्यो । अरू नेताहरू त चिनिएका थिएनन् ।’ भुवनजीले यसो भन्दा मैले गाउँको घटना बताउँथेँ ।

माओवादीले युद्ध सुरु गर्दा म सात/आठ कक्षामा पढ्थेँ । कांग्रेस, कम्युनिस्ट र ‘पञ्च’ भनिने राप्रपाका कुरा हुने गाउँमा माओवादीको विषय थपिएको थियो । पुष्पकमल दाहालप्रचण्ड‘, मोहन वैद्य र बाबुरामका आआफ्नै विशेषता छन् । यी तीनै जनाको संयोजन थियो माओवादी आन्दोलन

०५३ को कात्तिकमा स्कूल बिदा भएका बेला तम्घासबाट घर गएको थिएँ । खेतमा धान काटिरहेका थियौं । ‘नब्बे’ खोलाको दर्शन ढुङ्गामाथि चार/पाँचजना केटा बसिरहेका थिए । गाउँमा वल्लो गाउँ पल्लो गाउँ सबैले सबैलाई चिन्ने भएकाले तीन जना चिनिएका व्यक्तिप्रति सबैको चासो थियो । केही बेरपछि एउटी केटी आएर तिनीहरूसँग हात मिलाइन् । त्यसपछि सबै जना निश्चित भए, तिनीहरू माओवादी हुन् । केटीले केटासँग हात मिलाएपछि माओवादी नै हुन् भन्ने निश्चित भएको थियो ।

त्यतिबेलासम्म पनि केटी र केटाले हात मिलाउँदैनथे । धान काट्न छाडेर सबैको ध्यान खोलातिर केन्द्रित भयो । गाउँमा माओवादी देखिएपछि सबै जना डराएका पनि थिए । त्यत्तिकैमा खेतालाहरूबीच बाबुरामका कुरा हुन थाले । ‘बाबुराम जस्तो विद्वान् त सबै छाडेर लागेको छ रे, त्यस्ता मान्छे भएको संगठनसित किन डराउनु नि ?,’ खेतको बीचबाट कसैले भन्यो । बाबुरामबारे कुरा गर्दै उनीहरूले माओवादीसँग लागेको ‘डर’ भगाएका थिए ।

यी र यस्ता घटना सम्झिँदा तथा कान्तिपुर टेलिभिजनमा माओवादी ‘बिट’ मा काम गर्न थालेपछि उनलाई नजिकबाट बुझ्दै गएँ । त्यसपछि नै हो मलाई बाबुराम भट्टराईको जीवनी लेख्ने इच्छा जागेको । माओवादी दस्तावेज, पुस्तक, नेताहरूसँगको औपचारिक/अनौपचारिक कुराकानी, माओवादीका प्रत्येक गतिविधि सम्बन्धी ‘अपडेट’ हुँदै गएपछि बाबुराम र माओवादी आन्दोलनबारे थप जान्न रहर जाग्यो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य र बाबुरामका आ-आफ्नै विशेषता छन् । यी तीनै जनाको संयोजन थियो – माओवादी आन्दोलन । यसमा पनि प्रचण्ड र बाबुराममा धेरैको चासो पाइन्थ्यो ।

प्रचण्डको जीवनी हिन्दुस्तान टाइम्सका पत्रकार अनिर्वन रोयले लेखिसकेका थिए । बाबुरामबारे धेरै चर्चा भए पनि उनको जीवनी पढ्न खोज्दा भेटिँदैनथ्यो । बाबुरामका कारण भुवन केसी जस्ता पत्रकारले माओवादीलाई ‘आतङ्ककारी’ नमानेको, गाउँमा पनि बाबुरामकै कारण माओवादीसँग नडराएको जस्ता घटना सम्झिँदा र माओवादी आन्दोलन नजिकबाट बुझ्दै गएपछि मलाई उनीबारे लेख्ने सोचाइ आयो ।

तर, बाबुरामले आफ्नो जीवनी लेख्न मलाई अनुमति देलान् त ? शङ्का प्रशस्त थियो । पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूका मत सर्वेक्षण अनुसार ०६८ मा बाबुराम भट्टराई समकालीन नेताहरूमध्ये सबैभन्दा बढी लोकप्रिय थिए । एक दिन उनका स्वकीय सचिव विश्वदीप पाण्डेसँग कुरा गरेँ । ‘बाबुरामको जीवनी लेख्नुपर्‍यो । एकचोटि कुरा पुर्‍याइदिनुहुन्छ ?’ मैले प्रस्ताव राख्न नपाउँदै विश्वदीपले भने – ‘ल तयारी गर्दै गर्नूस्, म उहाँसँग कुरा गर्छु ।’

केही महिनापछि विश्वदीपले भेटघाटको समय मिलाएर मलाई फोन गरे, ‘मैले कुरा राखेको छु, थप कुरा गर्न तपाईं आउनुस् ।’ मैले विस्तारमा आफ्नो प्रस्ताव बाबुरामसमक्ष राखेँ । ‘हुन्छ । तर, अब व्यक्तिको कोरा जीवनीले त खास केही अर्थ राख्दैन । इतिहासको आवश्यकता अनुसार व्यक्तिको भूमिका हुन्छ …,’ बाबुरामले कम्युनिस्ट दर्शन अनुसार जीवनको लामो व्याख्या गर्दै मेरो धारणा खोजे ।

‘व्यक्ति राजनीतिक घटनाक्रमसँगै आउने’ मेरो जवाफपछि उनले भने – ‘हुन्छ, ल अब कहिलेदेखि थाल्नुहुन्छ ?’

‘तपाईंको समय अनुसार म रेकर्ड गर्छु ।’ मेरो जवाफ थियो । त्यसपछि मैले बिहान कलेज पढाउन छाडेर ०६९ भदौदेखि काम सुरु गरेँ ।

गैरकम्युनिस्ट बाबुराम कम्युनिस्ट बने र राजनीति नयाँ चरणमा प्रवेश गरेपछि माओवादी आन्दोलन त्यागे । पढाइमा सधैंभरि प्रथम भएका बाबुराम माओवादी पार्टीमा दोस्रो भइरहे र अहिले राजनीतिमा वैकल्पिक धार दिने भन्दै पहिलो ‘पोजिसन’ मा बसेर आफ्नो पार्टीको नेतृत्व गरेका छन् ।

बाबुराम किन राजनीतिमा लागे ?, किन माओवादी बने ? र किन फेरि माओवादी आन्दोलन त्यागे ? यी लगायत माओवादी आन्दोलन र सत्ता सञ्चालनसम्बन्धी उनका अवधारणा पनि यस पुस्तकमा समेटिएका छन् । एसएलसीको बोर्ड ‘फस्ट’ ले काठमाडौं ल्याइपुर्‍याएको बाबुरामलाई आईएस्सीको ‘फस्ट’ ले भारतको चण्डीगढ पुर्‍याउँछ । त्यहाँ पनि पढाइमा अब्बल हुँदै पढाइको यात्रा दिल्ली पुग्यो ।

दिल्ली गएलगत्तै विद्यार्थीको हकहितका लागि गैरराजनीतिक चरित्रको विद्यार्थी संगठन खोल्न पुग्छन् बाबुराम । गैरराजनीतिक पृष्ठभूमिका उनी डेमोक्र्याट्स विचारका हुन्छन् । तर, भारतमा रहेका नेपाली मजदुरहरुले पाएको कष्ट देखेका विश्रुत विद्यार्थी बाबुरामलाई मार्क्सवादी पुस्तकको अध्ययनले कम्युनिष्ट बनाउँछ । नेपालमा आर्थिक विकास र समृद्धिका लागि आन्तरिक रुपमा प्रजातन्त्र बलियो हुनुपर्ने उनको धारणा बन्छ ।

बाहृय रुपमा भारतसँग भएको सुगौली सन्धि र १९५० को सन्धिका विरोधी बाबुराम परनिर्भरता हटाउन असमान सन्धि सम्झौता खारेज हुनुपर्ने धारणा राख्छन् । विद्यार्थीकालदेखिको उनको यो चेतना मसाल, एकता केन्द्र, माओवादी हुँदै नयाँ शक्तिसम्म पुग्दा उस्तै छ । उनको यात्रा यसै दिशामा अविराम देखिन्छ ।

अविराम बाबुराम !

(पत्रकार थापाले लेखेको बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ सांग्रिला बुक्सबाट शनिबारदेखि बजारमा आउँदै छ ।)  अनलार्इनखवरवाट साभार 

 

photo

NOC1-250x300