दसैंका सामान उत्तरी नाकामै रोकिए

काठमाडौं,असोज २१, जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’

दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन्।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ। त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ। 

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए। ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले नागरिकसँग बुधबार भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन्।

अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए। ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ।’ दसैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन्। ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भनेजति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो।’

दसैंका लागि तीनरचार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन्। दसैंमा बिक्री गर्ने जुत्ताचप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी