ओली र तीन पूर्वप्रम उस्तै कि फरक ?

अदालतको फैसला प्रभावित पार्न आन्दोलनको घोषणा

गोपाल खनाल

पहिला समयलाई हेरौँ । आन्दोलनको घोषणा यस्तो बेला गरिएको छ, जतिबेला प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दामा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच ‘सेटिङ’ भएको भ्रामक प्रचार गरी अदालतलाई दबाब दिन गठबन्धनका नेताले पहिला जुन कार्यनीति लिनुभयो, अहिले पनि त्यही दोहो-याउनुभयो । पहिला, देउवा अदालतलाई प्रभावित गर्नुहुँदैन भन्नुहुन्थ्यो, अहिले देउवा फैसला प्रभावित पार्न आन्दोलनको नेतृत्व गरिरहनुभएको छ ।
बहसलाई प्रभावित पार्न उहाँहरूले योजनाबद्ध रूपमा यो अस्त्र रोज्नुभयो । संविधानभन्दा विपक्षी गठबन्धनलाई हेरेर फैसला गर्न अदालतलाई दबाब दिइएको छ । अदालतप्रति विश्वास हुँदा महामारीको यो जोखिममा सडकबाट तर्साउने नीति अख्तियार गर्नुपर्ने थिएन । वास्तविक लोकतन्त्रवादीले अदालतको फैसला पर्खन्छ, त्यसलाई धम्की दिँदैन । त्यसैले प्रथम दृष्टिमै यो गलत छ ।
अब त्यहाँ व्यक्त तीन पूर्वका धारणालाई हेरौँ । त्यसमा पनि मूूलतः प्रचण्डले सबैका तर्फबाट राखेका केही प्रतिनिधिमूलक भनाइमाथि बहस चलाऔँ ।
प्रचण्ड कथन १. ‘राष्ट्रपति कार्यालय बदनाम भएको छ । योभन्दा राजा हुँदा शान थियो । अहिले शान, मान, इज्जत केही छैन ।’
यो कथन र निहाना दुवैको आसय हुन्छ– राष्ट्रपतिभन्दा राजा राम्रो । गणतन्त्रभन्दा राजतन्त्र राम्रो । राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा तत्कालीन राजा ज्ञानेन्द्र राम्रो ।
राप्रपा अध्यक्ष कमल थापाले यो भनाइको स्वागत गर्दै राजतन्त्र स्थापनामा जुट्न प्रचण्डलाई आह्वानसमेत गर्नुभयो । राजतन्त्र पक्षधर राप्रपाले गणतन्त्रवादी नेताको यो तहको वैचारिक स्खलनलाई ‘रेड कार्पेट’ स्वागत गर्नु सामान्य नै भयो ।
२०४७ सालको बहुदलीयता र संवैधानिक राजतन्त्रसहितको संविधानविरुद्ध २०५२ फागुन १ मा प्रचण्डले जनयुद्ध थाल्नुभयो । १७ हजार मानिसको हत्या र ठूलो भौतिक क्षतिपछि सात दल र माओवादीको संयुक्त आन्दोलनबाट राजतन्त्र फालेर नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो । प्रचण्डको सशस्त्र विद्रोह र हिंसा बहुदलीय व्यवस्थाविरुद्ध र सर्वहारा वर्गको अधिनायकत्व स्थापनाका लागि थियो । तर, यो सम्झौतामा टुङ्गियो । जनताले ल्याएको सर्वोच्च संस्थाप्रतिको यो मानमर्दन र उखेलिएको राजतन्त्रप्रतिको प्रचण्डको मोहको अर्थ गणतन्त्र र जनताले बनाएको संविधानप्रतिको अविश्वास हो ? हो भने खुला रूपमा राजतन्त्र व्युुँताउने अर्को आन्दोलन गर्दा हुन्छ । सत्तास्वार्थले व्यक्तिको सोच र विचारलाई कति स्खलित गर्छ भन्ने एउटा दृष्टान्त हो– राष्ट्रपतिभन्दा राजा ठीक भन्ने सोच । त्यसो भए प्रश्न उठ्छ– अब १७ हजार मानिसको बलिदानीको हिसाब खोज्नुपर्छ कि पर्दैन ?
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको आक्रोशमा व्यवस्थाप्रति धावा बोलिएको हो भने यो झन् आपत्तिजनक छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई हटाउने व्यवस्था संविधानमै उल्लेख छन् । व्यक्ति मन नपर्दा राजतन्त्रमै फर्किन्छु भन्न प्रचण्डले व्यक्तिका रूपमा पाउनुहुन्छ तर संविधान र व्यवस्थाविरुद्ध भड्काववादी उक्साहटपूर्ण वक्तव्य दिन पाउनुहुन्न ।
राष्ट्रपति भण्डारी एमालेको नेता हुनुहुन्थ्यो र त्यही हैसियतमै राष्ट्रप्रमुख बन्नुभएको हो । हरेक व्यक्तिका राजनीतिक लिगेसी हुन्छन्, विचारप्रति आग्रह र पूर्वाग्रह हुन्छन् । तर, राष्ट्रपति भएपछि उहाँ पार्टीका नेता रहनुहुन्न । उहाँले संविधानले दिएको भूमिकामा सीमित रहनुपर्छ । अहिलेसम्म राष्ट्रपति भण्डारीले कार्यकारीका सिफारिस अनुमोदन गर्नुभएको छ, जो संवैधानिक छ । प्रतिनिधिसभा विघटन कार्यकारीको सिफारिसमा भएको हो । र, ७६ (५) को प्रधानमन्त्रीमा ओली र देउवाको दाबी नपुगेको निर्णय पनि संविधानले दिएको अधिकार प्रयोगबाटै भएको छ । राष्ट्रपति कार्यालयले दिएको जवाफमा यो राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको उल्लेख छ । अब हामीले भनेको राष्ट्रपतिले नमानेको भन्दै गणतन्त्रको हुर्मत लिन मिल्छ ? सायद शान र मानका लागि राजनीति गरेका प्रचण्डलाई त्यसको प्रतीक राजतन्त्र फालेकोमा पछुतो भएको हुन सक्छ ।
कथन २. ‘केपी ओली र हामीलाई तपाईंहरूले उस्तै–उस्तै भन्नुभयो । हामी त अन्यायमा पर्ने भयौँ । त्यसैले उस्तै–उस्तै भन्दा लिमिट बन्दा बढी नभनिदिनुहोला ।’
प्रचण्डको दोस्रो यो वक्तव्य प्रधानमन्त्रीसँग उहाँहरूको (देउवा, माधव र आफ्नो) तुलनासँग सम्बन्धित छ । यहाँ तीनजनाकै प्रतिनिधित्व प्रचण्डले गरेका रूपमा बुझ्नुपर्छ । देउवा चारपटक, प्रचण्ड दुईपटक र माधव नेपाल एकपटक प्रधानमन्त्री बन्नुभएको हो । पार्टी अलग छन्, विचार अलग छन् र सङ्गठन फरक छन् भने सबै उस्तै नेता कसरी हुन्छन् ? सबै उस्तै हुने भए पार्टी फरक–फरक हुनैपर्दैन ।
ओली र प्रचण्डसहितका यी पूर्वप्रमबीचमा केही मौलिक फरक छन् । प्रचण्डले ओलीभन्दा आफूहरू मौलिक रूपमै फरक के–केमा हो प्रस्ट पार्नुभएको छैन । पार्टी अध्यक्ष, प्रधानमन्त्री र राजनीतिक विरासतका आधारमा प्रचण्डसहितका पूर्वप्रमहरू ओलीभन्दा मौलिक रूपमा फरक हो ? फरक हो तर देश र जनताका निम्ति प्रचण्डसहितका पूर्वप्रमले के गर्नुभयो ? ओलीले के गर्नुभयो ? त्यसको मूल्याङ्कन हुनुपर्छ । हिंसात्मक आन्दोलनबाट साम्यवाद स्थापना गर्न प्रचण्डले भूमिगत आन्दोलन थाल्नुभन्दा २० वर्षअघि नै हिंसाबाट साम्यवादी सत्ता आउँदैन भन्ने निष्कर्षमा ओली पुग्नुभएको हो । राजनीतिक लक्ष्य र त्यसलाई प्राप्त गर्ने तात्कालिक कार्यनीति र रणनीतिका दृष्टिकोणमा प्रचण्ड ओलीभन्दा दुई दशक पछि पर्नुभयो । आखिर सम्झौतामै आउनुभयो र अरू दलभन्दा फरक केही गर्न सक्नुभएन । यो राजनीतिक विरासतको विषय भयो । प्रधानमन्त्री हुँदा प्रचण्डसहितका पूर्वप्रमले के फरक गर्नुभयो ? दुईपटक गरी प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा देश र जनताले सम्झने के काम गर्नुभयो ? गरेको भए सायद सार्वजनिक गर्नुहुन्थ्यो । नयाँदिल्ली सम्झँदै बेइजिङ पुग्नुभयो, फर्कनेबित्तिकै बेइजिङ गएकोमा पछुतो मान्नुभयो र भारतबाटै राजनीतिक भ्रमण गर्ने उद्घोष गर्नुभयो । ‘राष्ट्रवादी’ नेताले नयाँदिल्लीलाई प्रस्टीकरण दिइरहनुपथ्र्यो ?
प्रधानमन्त्रीका रूपमा प्रचण्डले प्रधानसेनापति कटवाललाई हटाएर कुलबहादुर खड्कालाई नियुक्त गर्नुभयो । यसले सेनाभित्रको व्यवस्थालाई कस्तो असर पथ्र्यो, त्यो फरक हो तर कार्यकारीको निर्णय राष्ट्रपतिले रोक्नुहुँदैनथ्यो । आखिर त्यहाँ पनि प्रचण्डले पछि भारतीय संस्थापनलाई स्पष्टीकरण दिनुभयो– प्रधानसेनापतिबारे छलफल गर्न खोजेको थिएँ तर कोही भारतीय अधिकारी सम्पर्कमा आउनुभएन ।’ भूमिगत अवस्थामै भारतीय चाहनाविपरीत नजाने लिखत गरेको सार्वजनिक नै छ । देउवाले दरबारलाई प्रजातन्त्र बुझाएको र नेपालले प्रधानमन्त्रीका लागि दरबारमा दरखास्त हालेकोदेखि प्रतिगमन आधा सच्चिएकोसम्मका घटना स्मरण गर्दा पुग्छ ।
त्यसैले प्रचण्ड र पूर्वप्रमहरूभन्दा ओली फरक नै हुुनुहुन्छ । नाकाबन्दीविरुद्ध लड्नु, चीनसँग पारवहन र यातायात सम्झौता गर्नु, मोदीको चारपटक र सी चिनफिङको भ्रमण गराउनु फरक हुन् । सार्वभौमिकता समानताको ओलीको नीति फरक हो । चुच्चे नक्सा जारी सबैको सहयोगमा भयो तर नेतृत्व ओलीकै हो । राष्ट्रिय स्वार्थको यो मुद्दामा पूर्वप्रमहरूको पनि समर्थन हुनु सकारात्मक हो ।
कथन ३. हामीभन्दा गतिला नेता ल्याउनुहुन्छ भने छाड्न तयार छौँ । नेता जमिनमुनिबाट निकाल्न सकिन्न । आकाशबाट खसाउन पनि सकिन्न । जस्ता भए पनि यो देशका नेता हामी हौँ । हामीलाई धोइपखाली गर्नुप¥यो । पछिल्लो र युवापुस्तामा राजनीति जानुपर्ने माग पार्टीभित्र पनि छ र बाहिर पनि । ओलीभन्दा फरक हौँ भन्ने प्रचण्ड, देउवा, माधव नेपालले ‘हामीले पार्टीको नेतृत्व पनि ग-यौँ, सरकारको नेतृत्व पनि ग¥यौँ, हामीले क्षमताले भ्याएसम्म देश र जनताका लागि ग¥यौँ तर अब पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छौँ भन्नुपथ्र्यो तर त्यसो भन्नुभएन ।
प्रचण्डको माथिको उत्तर पछिल्लो र युवापुस्ताप्रति आपत्तिजनक छ । आफूबाहेक पार्टीभित्रका कसैलाई सक्षम र योग्य उहाँहरू देख्नुुहुन्न । देउवा फेरि काँग्रेस सभापति बन्ने घोषणा गर्दै तयारीमा लाग्नुभएको छ । माधव नेपाललाई एमालेको अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा, नभए नयाँ पार्टीकै भए पनि अध्यक्ष बन्ने इच्छा छ । खै कहाँ देखियो ओलीभन्दा मौलिक फरक ? समकालीन नेतामा अब फेरि संसदीय निर्वाचन लड्दिन र पार्टी अध्यक्षमा उठ्दिनँ भनेको ओलीले मात्र हो । नेकपाकै नेतृत्व गरिरहँदा उहाँले सार्वजनिक रूपमा उद्घोष गर्नुभएको थियो । तर, नेकपा नै नरहेपछि त्यो च्याप्टर स्थगन भएको हो, बन्द भएको होइन ।
अब पद छाड्न तयार छु भन्ने ओली र पद प्राप्तिका लागि गठबन्धन बनाउने पूर्वप्रमहरू उस्तै–उस्तै हुन् त ? साँच्चै, फरक हुन चाहनुभएको हो भने प्रचण्ड, देउवा र माधवले संयुक्त वक्तव्य निकालेर ‘हामी अब राजनीति दोस्रो पुस्तालाई सुम्पन चाहन्छौँ, तयार हुनुहोस्’ भन्नुपथ्र्यो । किनकि उहाँहरू संयुक्त वक्तव्य निकाल्न माहिर हुनुहुन्छ । पूर्वप्रमले यति भनेमा ओलीमाथि झन् दबाब पथ्र्यो र सबै पार्टीमा अर्को पुस्ताको नेतृत्व आउन सक्थ्यो । अझै पनि फरक हुने यो ऐतिहासिक कामको श्रीगणेश गर्दा हुन्छ । तर, सत्ताका लागि राजनीति गर्ने यी पूर्वप्रममा यस्तो सकारात्मक सोच आउँदैन ।
३३ वर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड अझै अध्यक्ष नछाड्ने, चारपटक प्रम भएका देउवा अझै प्रधानमन्त्री बन्ने, १५ वर्ष पार्टीका प्रमुख भएका माधवलाई अझै अध्यक्ष र प्रधानमन्त्री बन्नुपर्ने । तीन दशकदेखि तपाईंहरूलाई नै पद र सत्तामात्र चाहिएको छ, कसरी आउँछ नयाँ पुस्ता नेतृत्वमा ?
सम्झौँ त प्रचण्ड, देउवा र माधवभन्दा गतिला नेता ती पार्टीमा छैनन् ? प्रचण्डले चुनौती दिनुभयो । प्रचण्ड भन्नुहुन्छ– कोही छैनन् गतिला, हामी नै हौँ । हामीलाई धोइपखाली गर्नुहोस् ।’ ओलीलाई समर्थन गर्नेलाई दास करार गर्ने माधव, प्रचण्ड र देउवा पक्षधर सक्षम भनिएका युवा नेता यो भनाइमा मौनता साँध्छन् । स्वीकार्छन्– प्रचण्ड, देउवा र माधवभन्दा हामी गतिला छैनौँ ।’ के युवा पुस्ता धोबीमात्रै हुन् ?
जनताले बुझेका छन्, लडाइँ विचार र सिद्धान्तको होइन । झगडा देश बनाउन र जनताका आवश्यकता सम्बोधन गर्न होइन । ओली हटाएर देउवा, प्रचण्ड वा अरू कोही प्रधानमन्त्री बन्न हो । फेरि यी वैकल्पिक उम्मेदवार ओलीभन्दा कुनै पनि कोणमा सक्षम र योग्य छैनन् । यदि वास्तवमै प्रचण्डले भनेकोजस्तो अरूभन्दा फरक हुन राजनीतिक नेतृत्वले चाहेको हो भने स्वेच्छिक राजनीतिक निष्क्रियता रोज्दै पछिल्लो र युवापुस्तालाई नेतृत्वका लागि बाटो खोलिदिनुपर्छ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद