सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी सरकार पक्षका कानुन व्यवसायीको बहस शुरु हुनेछ । सम्भवतः यो महिनाको अन्तिमसम्म सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथिको बहस टुङ्ग्याएर आफ्नो फैसला सुनाउनेछ । तबसम्म एमाले भित्रको दोस्रो पुस्ताका नेताहरु आन्तरिक विवाद सल्टाइसक्ने लक्ष्यसाथ काम गरिरहनुभएको छ ।

एमालेभित्र मूलतः २०७५ जेठ २ मा फर्केर पार्टी गतिविधि सञ्चालन गर्ने, सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने माग दावीमा पेश गरिएको एमाले नेताहरुको हस्ताक्षर फिर्ता गर्ने र माओवादी केन्द्र परित्याग गरी एमालेमा फर्केका नेताहरुको उचित व्यवस्थापनको मुद्दामाथि केन्द्रित भएर छलफल भइरहेको नेताहरुको भनाइ छ । यी तीन विषयको सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल जारी छ । तर सहमतिको बिन्दुमा पुग्ने विकल्प अझै फेला नपरेको नेताहरुको बुझाइ छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २३ जेठमा गर्नुभएको पार्टी एकताको ६ बुँदे विकल्प सहितको आव्हान र नेता माधवकुमार नेपालले जेठ २४ मा फर्काउनु भएको ६ बुँदे जवाफमा केन्द्रित भएर दोस्रो पुस्ताका नेताहरुबीच नियमित छलफल भइरहेको छ । नेता नेपालले माग गरेअनुरुप अध्यक्ष ओलीले जेठ २ मा फर्केर पार्टी गतिविधि अगाडि बढाउने सहमति जनाइसक्नुभएको छ । तर नेता नेपालले पछिल्लो समय प्रधानमन्त्रीले कुनै एक पद (पार्टी अध्यक्ष वा प्रधानमन्त्री) बाट राजिनामा दिनुपर्ने, प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार्नुपर्ने नयाँ शर्त अगाडि सार्नुभएको छ ।

अध्यक्ष ओलीले आफू जेठ २ मा फर्किन तयार रहेको तर नेता नेपाल पक्षका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्नुभएको थियो । हस्ताक्षर फिर्ता लिनमा नेता नेपाल पक्षका नेताहरु अझै सहमत नभएकाले सहमतिको बिन्दु पहिल्याउने क्रम जारी रहेको नेताहरुले बताउँदै आउनुभएको छ । सर्वोच्चको फैसला आउन अझै केही साता लाग्ने भएपछि त्यसअघि नै विमतिलाई सहमतिको रुप दिने प्रयास दोस्रो पुस्ताका नेताहरुले गरिरहनुभएको छ ।

आन्तरिक विवाद मिलाउन संयोजनकारी भूमिकामा सक्रिय स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको प्रयास सकारात्मक ढङ्गले भइरहेकाले सर्वोच्चको फैसलाअघि नै केही न केही निचोडमा पुगिने विश्वास व्यक्त गर्नुभयो । “पार्टीभित्र आन्तरिक समस्या आएपछि त्यसलाई सल्टाउने विभिन्न मोडलमाथि छलफल भइरहेको छ, चाँडै हामी निस्कर्षमा पुग्छौं भन्ने विश्वास छ” उहाँले भन्नुभयो । शुक्रबार दुवै पक्षका नेताहरुबीच लामो छलफल भएको जानकारी दिनुहुँदै नेता नेम्वाङले आइतबार पनि बैठक जारी रहने बताउनुभयो ।

आन्तरिक एकता कायम हुन नसक्दा एमालेका एक खेमा विपक्षी गठबन्धनमा पुगेको छ । आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने कसरतमा लाग्नु भएका नेता नेपाल पक्षको खेमा पार्टी पङ्तिको गुनासोको निसाना बनेको छ । सरकार र पार्टी अध्यक्षको कार्यशैलीप्रति जति नै गुनासा भएपनि आन्तरिक रुपमै सल्टाउन सकिने उपाय रहँदारहँदै विपक्षी नेतालाई बोकेर हिँड्नु पार्टीप्रति गद्दारी भएको बुझाइ एमाले नेता कार्यकर्ताको छ ।

सहमतिको प्रयासमा निरन्तर सहभागी रहनुभएका नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले पार्टी जोगाए मात्र एमालेजन र देशको हित जोगिने बताउनुभयो । काम गर्ने क्रममा अनेक मानवीय कमजोरी हुने तर त्यसैलाई कारण बनाएर पार्टी नै भत्काउनेसम्मको कदम उचित नभएको उहाँले बताउनुभयो । “सर्वोच्चमा कानुन व्यवसायीको बहस जारी छ, फैसला आउनुअघि सहमतिमा पुग्ने लक्ष्यसाथ संवाद भइरहेको छ” नेता आचार्यले भन्नुभयो, “मिलनबिन्दुको नजिक नजिक छौं, निरन्तरको छलफलले हामी चाँडै सहमतिमा पुग्छौं ।”

दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओलीको तर्फबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल संवादमा सक्रिय रहनुभएको छ । त्यस्तै नेता नेपाल पक्षबाट नेताहरु घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीमप्रसाद आचार्य सक्रिय रहनुभएको छ । संवाद र छलफल बाटै निचोडमा पुग्न सकिने भएकाले चाँडै आन्तरिक विवाद टुङ्गिने नेताहरुको विश्वास छ । यद्यपि नेता नेपाल र भीमबहादुर रावल विपक्षी गठबन्धनको बैकठ, छलफलमा सक्रिय रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि