काठमाडौँ, चैत ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढन सक्ने भन्दै देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको जानकारी गराउनुभयो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा समेत कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध गरिएको उहाँले बताउनुभयो । मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ ।
भारतबाट आउनेको परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल–भारत स्थल सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । मन्त्रालयले ७७ वटै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत पत्र पठाउँदै हाइ अलर्टमा रहन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले भारतमा दिनानुदिन बढ्दै गइरहेको कोरोना सङ्क्रमणले नेपालमा जोखिम बढ्न सक्ने आकलन गरेर १४ वटै सीमा नाकाका हेल्थ डेस्कलाई थप सक्रिय बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो । भारतबाट आउनेहरूलाई लक्षण तथा जोखिमको प्राथमिकता निर्धारण गरी एन्टिजेन परीक्षण गर्नसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पछिल्लो समय भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतबाट आउने नागरिकलाई लक्षण र सम्भावित जोखिमको आधारमा एन्टिजेन परीक्षण गरी सीमा नाकामा क्वारेन्टाइन र स्थानीय तहमा संस्थागत वा होम क्वारेन्टाइन राख्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
७७ जना सङ्क्रमित थपिए
आइतबार देशभर थप ७७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आइतबार नै देशभरबाट थप १०६ जना सङ्क्रमित निको भएका छन् । त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये
काठमाडौँमा ३४, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी उपत्यकामा ४१ जना थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा तीन हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । त्यसैगरी कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ९२१ पुगेको छ । यस्तै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९६९ रहेको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् । गएको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १६ पुगेको छ ।