डाक्टर गोविन्द केसीको पछिल्लो स्वास्थ्य स्थितिपछि बसेको नेकपाको आकस्मिक बैठकले उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने निर्णय गरेको छ।
केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बैठक बसेको हो। उक्त बैठकले केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउनु उचित हुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए।
‘डा.केसीलाई सिसियुमा राख्नुपर्छ भन्ने रिपोर्ट आयो’, श्रेष्ठले भने, ‘सरकार र हाम्रो पार्टीको पहिलो कर्तव्य डा.केसीको जीवन रक्षा गर्नु हो। चार पाँच दिनदेखि गम्भीरताका साथ वार्ता कमिटी बनाएर काम गरे पनि सहमति भएन। मेडिकल बुलेटिनपछि हामी सिरियस भयौं।’
उनले वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने समझदारी जुटेको बताए।
‘चिकित्सकको सुझाव अनुसार सिसियु भएको अस्पतालमा राख्नुपर्यो भन्ने निर्णय भयो’, श्रेष्ठले भने, ‘यद्यपी उहाँको अनसन र विचार बाँकी नै छन्। त्यसमा कुनै पनि प्रकारको आग्रह कसैले नराखी छलफल होस् भन्ने हामी चाहान्छौं। उहाँलाई काठमाडौं ल्याउने कुरा भएको हो।’
डा.केसी चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा १९ दिनदेखि अनसनमा छन्।
केसीले उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न दिन नहुने र एक विश्वविद्यालले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने धारण राख्दै आएका छन्। केसीको मागका आधारमा अध्यादेशमा यी व्यवस्था गरिएका थिए। तर सरकारले संसदमा विधेयक लैजाने क्रममा यी प्रावधान हटाएको थियो।
यता केसीले विधेयक फिर्ता नभएसम्म जुम्लाबाट काठमाडौं नआउने अडान लिँदै आएका छन्। सरकार भने अझै विधेयक फिर्ता लिने मुडमा छैन।
वार्ता समितिका एक सदस्यका अनुसार नेकपाका उच्च नेताहरुले विधेयक स्थगन गर्ने प्रस्ताव राखेका छन्। तर, केसी भने स्थगन नभइ फिर्ता नै गर्नुपर्ने अडानमा यथावत् छन्।
‘चिकित्सा शिक्षा विधेयकमा तर्क र तथ्यको आधारमा छलफल गरौंला’, प्रवक्ता श्रेष्ठले भने, ‘अब यो दोस्रो एजेण्डा बन्ने भयो। केसीको स्वास्थ्य अवस्था अप्ठेरोमा परिसक्यो। वार्ता अलिक दिन लाग्न सक्छ। जीवन रक्षा गर्ने र साथसाथै उहाँले उठाउनु भएको मुद्दा र मागबारे साथै चिकित्सा शिक्षा विधेयकबारे खुल्ला ढंगले छलफल गर्ने नेकपाको निर्णय हो।’
आज जारी स्वास्थ्य बुलेटिनमा मुटुको चाल, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उल्लेख छ।
‘रगतमा सेतो रक्त कोशिकाको मात्रा झन घटेको छ। क्यानेला राखिएको दुवै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थिति थप बिग्रने छ’, मेडिकल रिपोर्टमा भनिएको छ, ‘कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्या झन बढेको छ भने छाति दुख्ने समस्याले डा.केसीलाई झन पिरोल्न थालेको छ। यसरी मुटुको चालमा गढबढी भइरहे बिरामीलाई सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ।’