पूर्व सहकर्मीबीचको रोचक त्रिपक्षीय प्रतिस्पर्धा

सर्लाही, १८ मंसिर – एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ ।

sarlahi-district

सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली काँग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा छन् ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादवको जिल्लामा राजापाका तीन पूर्व सहकर्मीबीच यो क्षेत्रमा भइरहेको प्रतिस्पर्धालाई धेरैले चासोपूर्वक हेरेका छन् ।

संघीय समाजवादी फोरम–राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकोले फोरमको सहयोग महेन्द्रलाई र वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकोले नेकपा (एमाले)को सहयोग दिनेशलाई रहेको छ ।

स्थानीय तहको मतपरिणामको आधारमा यो क्षेत्रमा काँग्रेस र राजपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ती दुईबीचको प्रतिस्पर्धाबाट आफूलाई फाइदा पुग्ने आकलन वाम गठबन्धनको छ ।

अन्य दलभन्दा यो क्षेत्रमा राजपा नै सबैभन्दा बलियो रहेपनि सो पार्टीकै उम्मेदवारले पार्टी छाडी अन्य पार्टीबाट उम्मेदवार बनेकाले कस्तो परिणाम आउने हो भन्नेमा दुविधा देखिन्छ ।

राजपाका उम्मेदवार महेन्द्रले काँग्रेसका उम्मेदवार जंगिलाल र (माओवादी केन्द्र)का उम्मेदवार दिनेश दुबैजनाले मधेसी जनतालाई धोका दिँदै मधेसी मुद्दा छोडेर गएकाले जनताले उनीहरुलाई निर्वाचनमार्फत दण्डित गर्ने  बताए ।

निर्वाचनको माहोल हेर्दा आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखिएकाले आफू जित्नेमा ढुक्क रहेको उनको भनाइ छ । काँग्रेसका उम्मेदवार जंगीलालले राजपा जस्तो क्षेत्रीय दलले मधेसीको समस्या समाधान गर्न नसक्ने तथा उनीसँग कुनै पार्टीगत एजेण्डा नै नरहेकाले सो दल छोडी आफूले काँग्रेस रोजेको स्पष्ट पारे ।

विकास, समृद्धि, सद्भाव, प्रजातन्त्र र मधेसको माग सम्बोधनका लागि काँग्रेसलाई मतदान गर्नुको विकल्प नरहेकाले आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ छ ।

माओवादी केन्द्रका उम्मेदवार दिनेशले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, विकासको लागि तथा विगतमा आफूले गरेको निस्वार्थ सेवाका कारण आफू जित्नेमा ढुक्क रहेको बताए ।

राजपा छोड्नुको कारणबारे उनले भने,’विश्वमा कहीँ नभएको एउटै दलमा छ जना अध्यक्ष छन् । भारतमा राम र रहिम भनेर तथा इराकमा सुन्नी र सिया भनेर जनता भिडाए जस्तो नेपालमा पनि जातिका आधारमा नेपाली जनता भिडाउन खोजेकाले राजपा छोडें ।’

विसं २०७० को संविधानसभा चुनावमा राजपाका उम्मेदवार महेन्द्रराय अहिलेकै निर्वाचन क्षेत्रबाट विजयी भएका  थिए भने काँग्रेसका उम्मेदवार बनेका  जगीलाल साविकको क्षत्र नं ५ बाट विजयी भएका  थिए । निर्वाचन क्षेत्र निर्धारणका क्रममा दुबै सांसदको क्षेत्र अहिले एउटै क्षेत्रमा परेको छ ।

सो क्षेत्रबाट निवर्तमान सांसद रहेका दुईजनाबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ने हो भन्ने थाहा पाउन चुनावको नतिजा कुर्नु पर्नेछ । सर्लाही क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट पशुपक्षी विकास राज्यमन्त्री समेत रहेका  शम्भुलाल श्रेष्ठ, वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष धुव्रप्रसाद गौतम, राजपाको तर्फबाट प्रमोद साहबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

मधेसी बाहुल्य र पहाडी जनजाति समुदायको बाक्लो उपस्थिति रहेको यो क्षेत्रमा निर्वाचनको मुखैमा माओवादी केन्द्र परित्याय गरी काँग्रेस प्रवेश गरेका उम्मेदवार श्रेष्ठले माओवादीको केही मत ल्याउन र जनतामा आकर्षित गर्न सकेमा मात्रै सहज हुनेछ ।

स्थानीय तहको मतपरिणामको आधारमा वाम उम्मेदवारको मत बलियो देखिएकाले सोही आधारमा निर्वाचन जित्ने आश एमाले उम्मेदवार गौतमको छ । काँग्रेस र माओवादीबीचको प्रतिस्पर्धामा मधेसी बाहुल्यताको फाइदा उठाउँदै आफूहरुले जित्ने दाउ राजपा उम्मेदवार साहको छ ।

यस्तै क्षेत्र नं ३ मा काँग्रेसको तर्फबाट हरेश महतो, वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामेश्वर राय यादव र राजपा–फोरम गठबन्धनको तर्फबाट फोरमका अशोककुमार सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।

यो क्षेत्रमा काँग्रेसको जनाधार बलियो रहेपनि काँग्रेस निकट सुरेन्द्र साहले स्वतन्त्रमा उम्मेदवारी दिएकाले माओवादी केन्द्र र फोरमका उम्मेदवारले फाइदा उठाउने सम्भावना पनि उत्तिकै देखिन्छ ।

यस्तै क्षेत्र नं ४ मा काँग्रेसबाट अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्रबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा बलियो उम्मेदवार मानिएका माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवलाई निर्वाचन आयोगले अदालतबाट दोषी ठहर व्यक्ति भएकाले उम्मेदवार बन्न अयोग्य भन्दै उम्मेदवारी रद्द गरिदिएको थियो ।

उनको उम्मेदवारी रद्धपछि काँग्रेस र राजपाका उम्मेदवारलाई फाइदा पुगेको छ । यादवले भने आफ्नो उम्मेदवारी यथावत् रहेको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दर्ता गरी प्रचारप्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना