श्रावण ७, २०७४- थोरै तर कर्णप्रिय गीत गाएका अरुण थापाको भौतिक शरीर यो संसारबाट टाढिएको १८ वर्ष पूरा भयो। उनले गाएका ‘चोट के हो, व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’ जस्ता कैयौं गीत आज पनि उत्तिकै लोकप्रिय छन्। नेपाल मगर विद्यार्थी संघले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा अरुणको स्मृति सभा गर्दै उनकै नाममा स्थापित पुरस्कार वितरण गरेको छ
अरुणसँगै लामो समय सहकार्य गरेका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान (नेसंनाप्रप्र) का कुलपति सरुभक्तलाई अरुणको नाम अगाडि ‘स्वर्गीय’ जोड्न मन लाग्दैन। उनले अरुणसँग जोडिएका थुप्रै याद कार्यक्रममा साझा गरे। भने, ‘अरुणसँग मिलेर पोखरामा कार्यक्रम गर्दा मैले नाटक देखाएको थिएँ।
अरुणले ‘यो ज्यानलाई पर्नु पीर पर्यो’ र ‘जति माया लाए पनि’ गीत गाएका थिए। थोरैले चिन्ने अरुण कार्यक्रमपछि अचानक व्यापक रूपमा चर्चित भए। धेरैभन्दा पनि राम्रो गीत गाउने लालसा थियो अरुणमा। गीत दिनेहरूको ताँती नै लाग्थ्यो तर अरुण छानेर भित्र मनैदेखि छुने गीत मात्र गाउँथे। अरुण गलाले मत्रै होइन, सम्पूर्ण शरीरले नै गीत गाउँथे।’
अरुण काठमाडौं आएपछि भने उनीहरू दुईबीच भेटघाट पातलियो। अरुणका अन्तिम वर्षहरूमा समेत भेट्न नपाएको कुराले सरुभक्त अहिले पनि दु:खी हुन्छन्। तर, अरुणका गीतहरू अचेल नवोदित पुस्तामाझ पनि लोकप्रिय भइरहेको पाउँदा साह्रै खुसी लाग्ने उनले सुनाए।
अरुणकै सम्झनामा संघले २०६० देखि संगीतकर्मीहरूलाई सम्मान गर्दै आएको छ। यस वर्ष कवि/गायक प्रचण्डबहादुर बुढाथोकी मगरलाई ‘अरुण स्मृति संगीत सम्मान’ गरिएको थियो। सरुभक्तले मगरलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ गीत २०६० मा बीबीसीले गरेको सर्वेक्षणमा विश्वकै उत्कृष्ट गीतमा सातौं स्थान ओगट्न सफल भएको थियो। नेपाली गीतसंगीतलाई विश्वसामु चिनाएका अरुणलाई नेपालकै सरकारले भने सम्झिन नसकेको नेपाल मगर संघका अध्यक्ष नवीन रोक्का मगरले बताए।
कार्यक्रममा विद्यार्थी संघका तर्फबाट गायकगायिकाले ‘करोडौँ मुटुहरूको एउटै’ गीत गाए भने गायकहरू तेज आलेमगर, मनोज थापा मगर, मिलन थापामगर, सूर्य पूर्वछाने मगरलगायतले अरुणका कालजयी आधुनिक गीतहरू गाए।
यसै गरी, सूर्यविनायक नगरपालिका–४ दधिकोटको मोडर्न बोर्डिङ सेकेण्डरी स्कुल, शुभारम्भ द म्युजिकल जर्नी र विनाता कला प्रतिष्ठानले पनि अरुणप्रति सांगीतिक श्रद्धाञ्जलि अर्पण गरे।
अरुण सबै संगीतप्रेमीको मनमा बस्न सफल भएको उल्लेख गर्दै वरिष्ठ गीतकार चेतन कार्कीले अरुणलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दु:ख व्यक्त गरे। लेखक/फिल्मकर्मी प्रकाश सायमीले अरुणका गीतहरू नयाँ पुस्तामा पनि उत्तिकै लोकप्रिय भएको सुनाए। स्कुलका प्रिन्सिपल अनिल कसपालले अरुणलाई ‘लाखौँ संगीतप्रेमीहरूको ढुकढुकी’ का रूपमा विश्लेषण गरे।
कार्यक्रममा गायिका ऋतु कँडेल, अधिश्री कसपाल, कपिल कसपाल, बद्रीनारायण ताम्राकार, संगीता तामाङ, रिता तमखु, सानुमैया ताम्राकार, दिवकार खडका, सर्वश्री कसपाल, सुरज कपाली, विनोदराज ढुंगेल, चिरी महर्जनले, अमला महर्जनले, विधिसा ताम्राकारले र आयुष केसीले अरुणका गीतहरू प्रस्तुत गरे।
http://kantipur.ekantipur.com/news/2017-07-22/20170722082622.html
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने