भोजपुरको अरुण र छिमेकी गाउँमा रुवावासी : मर्ने त मरेर गए, बाँच्नेका पनि थामिएनन् आँशु

3-children_0XLNVmq7AUबुद्ध तामाङ

असार २९, भोजपुर– भोजपुरको पुर्वी अरुण गाउँपालिका–१, प्याउलीको मरेङडाँडास्थित दुई घरका तीन बालबालिकाको एकै पटक भएको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । घटनाको तीन साता वित्न लाग्दा समेत भित्री पाटो नखुल्नु र दोषी पहिचान गर्न नसक्नुले पीडित परिवारमाथि पीडा थपिएको त छ नै स्थानीयबासिन्दा पनि त्रासपुर्ण र भयभित अवस्थामा बाच्न बाध्य छन् । 
कसरी भयो निर्मम हत्या ?
असार १० गते शनिबार साँझ हराएका उनीहरु असार १२ गते सोमबार विहान साढेसात बजे स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा मृत फेला परेका थिए । 
उक्त गाउँपालिका – ३ का १६ बर्षीय रन्जिव सापकोटा, १४ बर्षीय सुष्मा फुयाल र ८ बर्षीय प्रदिप फुयाँलको निशंस हत्या भएको थियो । उनीहरुको घर र घटनास्थल मरेङडाँडा ढेडसय मिटर दुरीको फरकमा पर्छ । शंकास्पद घटना भन्दै प्रहरीको अनुसन्धान व्युरोले अनुसन्धान जारी रहेको बताएपनि घटनाबारे यथार्थ आउन सकेको छैन । घटनापछि प्याउलीबजार र आसपासका शोकमा डुबेका अरुण गाउँपालिकाबासीको आशु अझै ओभाएको छैन ।

मृतकका घरपरिवार र आफन्त भावह्विल छन् । रविन्द्र रन्जिव सापकोटाका तीन सन्तान मध्येका कान्छो सन्तान हुन् । सुष्मा र प्रदिप चेतनाथ फुयाँलका तीनसन्तान मध्येका दुईसन्तान  । दुवै घरमा एकैचाटी ३ जनाको काजक्रिया भैरहेको छ । ‘काजक्रियाको एघारौ दिन भैसक्यो, घटनाको अत्तोपत्तो छैन, दोषी पत्ता लाउन सकेका छैनन्,’ पीडित रविन्द्र सापकोटाले भावविह्वल हुदै भने, ‘छोरो त कहिल्यै नफर्किने गरी चुडियो, न्याय पाउने आशा पनि टुटेजस्तै लाग्न थालेको छ ।’ 
अझै आँशु थामिएनन् 
रन्जिवकी आमा ३८ बर्षीय सीता सापकोटाका पनि आँशु अझै थामिएका छैनन् । ७२ बर्षकी हजुरआमा कौशिला सापकोटा १२ बर्षदेखि रोगी भएर ओछ्यानमा थलिएकी थिइन् । नातीलाई हत्या गरेको सुनेदेखि मुर्छा परेकी उनी होसमा आउँने हुन या हैनन पत्तो छैन । कलकलाउँदा बालखा सन्तानको हत्या भएदेखि छिमेकी दुवै घरमा रुवाबासी रोकिएको छैन । अनुसन्धानले हत्यारा पत्ता लाउन नसकेपछि अरुण गाउँपालिकाबासी जीवन सुरक्षाका लागि हारगुहार गरिरहेका छन् । ‘मर्ने त मरेर गए, बाँच्नेका आँसु थामिएनन्, बाँच्न पनि गाह्रो भैसक्यो,’ सुष्मा र प्रदिपका ३४ बर्षीय आमा निर्मला फुयाँल रुदै भन्छिन्, ‘अपराधीहरुले छोराछोरी सखाप पारेरै छाडे, चाडै न्याय दिलाइयोस्,’ बाँच्नका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउँछिन् उनी । 
सयौ सुरक्षाकर्मीको अगाडि भयो घट्ना
द्धन्द्धकालमा समेत यहाँका जनतालाई सुरक्षाको समस्या थिएन । इलाका प्रहरीमा ७ जना प्रहरीले धान्दै आएका थिए । स्थानीय तह निर्वाचनताका नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र र म्यादी गरी ढेडसयको गस्ती खटिरहेका बेला शंकास्पद ढंगले जघन्य घटना घटेपछि आतंक मच्चिएको छ । 
यस्तो अपत्यारिलो घट्ना राज्यका लागि चुनौती भएको भन्दै दोषीमाथि चाडो छानविन हुनुपर्ने स्थानीय रुद्रबहादुर खत्रीले बताए । ‘त्रासैत्रास छ, साँझ परेपछि घरबाहिर कोही निस्कदैनौ, ढोका थुनेर बस्छौ, मेलापात जाँदा केटाकेटी साथै लिएर जान्छौ,’ बसोबासका लागि एकदमै डरलाग्दो परिस्थिती सृजना भएको छ । अबोध बालबालिकाको निर्मम हत्याको घटनाले जोसुकैमा शंका उत्पन्न गराएको छ । 
कसैसँग थिएन रिसराग
ओल्लोघरपल्लोघरका यी दुई परिवारको न कसैसंग रिसराग थियो । नत मनमुटाव नै । सापकोटा कृषि कार्यालयका कर्मचारी हुन् । उनी निर्वाचनमा सहायक मतदान अधिकृत खटिएका थिए । तर घटना भएपछि खट्न सकेनन् । फुयाँल प्याउली बजारमा सामान्य फेन्सी पसल गर्छन् । ‘हामी पैसावाल पनि होइनौ, कोहीसँग कसैखाले रिसराग थिएन । हजुर सन्तानै सखाप पारिदिए,’ चेतनाथले भने । 
निर्वाचनताका प्याउलीको रेडक्रस भवनमा नेपाली सेना बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार छिमेकका तीन सन्तान हराएका साँझ रन्जिव र प्रदिप फुयाँल त्यस आसपास निस्किएका थिए । त्यसपछि गायव भए । सुष्मालाई सिरकको खोल लगाउदै घरैमा खाना पकाउन बाबुआमाले अह्राएका थिए । अचानक बेपत्ता भएका उनीहरुलाई खोजविन गर्दा भेटिएनन् । तर, तेस्रो दिन पोखरीमा एकै ठाउँ डुबेको अवस्थामा मृत फेला परे तीनैजना । फेला परेका दिननै अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वको टोली र अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी उत्तमकुमार कार्कीको नेतृत्वको टोलीले घटनाबारे सोधपुछ गरेका थिए । लाशको पोष्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएपनि अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रत्यक्षदर्शीका अनुसार तीनजनैका मुखमा ५–६ वटा÷ ५–६ वटा कपडाका पोका खाँदिएको थियो । 
प्रहरी भन्छ –अनुसन्धान जारी 
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक काजीकुमार आचार्यका अनुसार घटना थाहा भएबाटै स्थलगत अनुसन्धन भैरहेको छ । क्षेत्रीय अनुसन्धान व्युरो विराटनगरका प्रहरी निरिक्षक खगेन्द्र खड्काको नेतृत्वमा ५ जनाको टोलीले निरन्तर घटनास्थलको अनुसन्धान गरिरहेको छ, सादा पोसाकमा समेत प्रहरी खटाइएका छन्, तर घटनाबारे भन्न सक्ने कुनै तथ्य छैन । पुर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेशराज भट्टराईका अनुसार क्षेत्र र जिल्लाको टिम अनुसन्धानका लागि निरन्तर भिडिरहेका छ । उनका अनुसार भिसेरा टेष्ट गर्नुपर्ने भएकाले पोष्टमार्ट रिपोर्ट आउन केहि समय लाग्नेछ ।

उनले भने‘टेष्टका लागि केन्द्रीय विधि विज्ञानमा पठाइएको छ, अनुमान धेरै कोणबाट गरिएको छ, भिसेरा टेष्ट आएपछि अन्तिम निष्कर्ष आउछ,’ फोनसम्पर्कमा उनले भने । घटनाले जिल्लाभर स्तब्ध बनाउनुका साथै विद्यार्थी, बालबच्चा र अभिभावकमा मानसिक सन्त्रास फैलाएको छ ।

‘छानविन चाडो हुन सकेन भने गाउै बसाई सरेर हिड्ने मानसिकता धेरैले बनाइसके, दोषीलाई पत्ता लगाएर कार्यवाही हुनुपर्छ,’ शारदा मावि प्याउलीका शिक्षक तिलक पुलामीले बताए ।

जिल्लास्थित महिला तथा बालअधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ । नियोजित रुपमा घटना भएको भन्दै चाडो भन्दा चाडो अनुसन्धान हुनुपर्ने र शान्ति, सुरक्षाको आभास दिलाइनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना