संशोधन प्रस्ताव पारित नभए के हुन्छ ?

 
 

 
 Samsad-tanab-10

मोर्चाका नेता भन्छन्- एमालेले पनि समर्थन गरोस्

 

 

१५ बैशाख, काठमाडौं । सरकारले संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावका विषयमा सत्तापक्ष र प्रतिपक्ष दुबैले आ-आफ्नो पक्षले जित्ने दाबी गरिरहेका छन् । सरकारले यो प्रस्तावमा दुई तिहाई बहुमत पुग्ने दाबी गरेको छ भने प्रतिपक्षी एमालेले दुई तिहाई मत पुग्न नदिने आफूसँग पर्याप्त मत रहेको दाबी गरेको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा संशोधन दर्ताका लागि संसदले ७२ घण्टा समय दिएको छ, जुन समय शनिबार साँझ सकिनेछ र त्यसपछि यो प्रस्ताव मतदानको प्रक्रियामा जानेछ ।

संसदमा हाल ५९३ सदस्य छन् । सभामुख ओनसरी घर्ती र फौजदारी कसुरमा जेल परेका सांसद सञ्जय साहले मतदान गर्न पाउँदैनन् । दुबैतर्फ बराबर मत भएको अवस्थामा मात्रै सभामुखलाई निर्णायक मतदान गर्ने अधिकार छ ।

संविधान संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाट पारित गर्नका लागि ३९६ मत आवश्यक पर्छ । प्रतिपक्षी दल एमालेले आफ्नो गठबन्धनमा १९८ मत रहेको भन्दै सत्तापक्षसँग ३९१ मतमात्रै रहेको दाबी गरेको छ । एमालेले संशोधन प्रस्तावलाई असफल पार्ने रणनीति बनाएको छ ।

सत्तापक्षले भने संविधान संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाट पारित हुने दाबी गरेको छ । सत्तापक्षको हिसाब अनुसार विपक्षी एमालेको गठबन्धनमा १९५ मोट मात्रै छ भने सत्तापक्षसँग ३९८ मत छ ।

एमालेको दाबी

प्रतिपक्षी दल एमालेले विहीबार आफ्नो पार्टी कार्यालयमा विपक्षी गठबन्धनको बैठक बोलाएको थियो । त्यहाँ निकालिएको हिसाब अनुसार एमालेको पक्षमा १९८ मत छ ।

एमाले स्रोतका अनुसार एमालेको १८१, मालेको ५, नेमकिपाको ४ राष्ट्रिय जनमोर्चाको ३ परिवार दलको २ भोट विपक्षी गठबन्धनको साथमा छ । त्यसैगरी नेपा पार्टी, बहुजन शक्ति र मधेस समता पार्टीको १/१ भोट गरी ३ भोट आफ्नो पक्षमा रहेको एमालेको दाबी छ । यो सबै मत जोड्दा विपक्षमा भएको मत १९८ पुग्छ ।

एमालेको दाबी अनुसार सत्तापक्षमा ३९१ भोट छ । कांग्रेसको २०७, माओवादीको ८१, राप्रपाको ३७, राजपाको २४, संघीय समाजवादी फोरमको १५, लोकतान्त्रिक फोरमको १४ नेकपा संयुक्तको ३ र अन्य साना दल १० समेत गरी सत्तापक्षसँग ३९१ मत मात्रै रहेको एमाले नेताहरुको दाबी छ ।

सत्तापक्षको दाबी

सत्तारुढ गठबन्धनको दाबीचाहिँ संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत रहेको र संशोधन प्रस्ताव पारित हुने भन्ने छ ।

सरकारले मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधनको पक्षमा बहुमत रहेको लिस्ट नै बुझाएको स्रोत बताउँछ । सरकारले संविधान संशोधनको पक्षमा हाल ३९८ मत रहे पनि मतदान प्रक्रियामा जाँदा ४ सय मत कट्ने दाबी गरेको छ ।

सत्तापक्षको दाबीअनुसार एमाले गठबन्धनमा एमालेको १८१, माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३ बहुजन पार्टी १ र नेपाल पार्टी १ गरी हाल १९५ मत रहेको छ । यसबाट बहुजन पार्टी र नेपाल पार्टी संविधान संशोधनको पक्षमा आउने दाबी सत्तापक्षको छ ।

सत्ता पक्षको दाबीअनुसार संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसको २०७ मत, माओवादी ८१, राप्रपा ३७, राजपा नेपाल २५, लोकतान्त्रिक फोरम १६, संघीय समाजवादी १५ नेकपा संयुक्त ३ र अन्य दलबाट १४ मत खस्ने सम्भावना छ ।

संशोधन प्रस्ताव पारित नभए के हुन्छ ?

मधेसी मोर्चाले संविधान संशोधनलाई निर्वाचनमा आउने पूर्वशर्त मानेको छ । अब संसदको प्रक्रियामा जाँदाखेरि यो प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित भएन र असफल भयो भने के हुन्छ ? त्यसो अवस्थामा मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिन्छ कि लिँदैन ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ ।

हामीले राजपा नेपालका नेता राजकिशोर यादवलाई सोध्यौं- संविधान संशोधन प्रस्ताव पारित भएन भने मधेसी मोर्चा यो प्रक्रियालाई मानेर निर्वाचनमा आउँछ कि आउँदैन ? जवाफमा यादवले भने- कसरी हुन्छ असफल ? संविधान संशोधनको पक्षमा स्पष्ट दुई तिहाई बहुमत पुगिसकेको छ ।

तर, प्रतिपक्षी एमालेले त संशोधनको पक्षमा दुई तिहाई पुग्न नदिने र असफल पार्ने बताइरहेको छ नि भन्ने प्रश्नमा यादवले अनलाइनखबरसँग भने- ‘संविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य गर्नुपर्छ भन्ने माग राजनीतिक विषय हो, यसलाई गणितीय विषयका रुपमा मात्रै हेरिनुहुँदैन, एमालेले पनि यसमा सहमति जनाउुनुपर्छ । देशको हितका लागि एमालेले पनि संविधान संशोधनको पक्षमा भोट हाल्नुपर्छ ।’

तर, प्रस्तावको पक्षमा दुई तिहाई पुगेन भने प्रक्रियामा गएपछि तपाईहरुले पनि त खेलको नियम मान्नुपर्दैन ? यो प्रश्नमा यादवले भने-‘ यो हाम्रो राजनीतिक माग हो, दलहरुले भोट हालेनन् र हाम्रो माग सम्बोधन गरेनन् भने त्यो अवस्थामा हामी चुनावमा कसरी जाने ? जाँदैनौं ।’

देशलाई निकास दिने हो भने संविधान संशोधन प्रस्तावलाई सबैले मिलेर पारित गर्नुपर्ने यादवले बताए । कांग्रेस र माओवादीका सबै सांसदले अनुपस्थित नभइकन भोट हाले भने संशोधन प्रस्ताव पारित हुने र आफूहरुले पारित गराई छाड्ने र त्यसपछि स्थानीय चुनावमा सहभागी हुने यादवले  बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको