March 31, 2017

ट्वाइलेटको आम्दानी गोलमाल

चैत १८,काठमाडौं – काठमाडौं महानगरपालिकामा सञ्चालित सातवटा घुम्ती शौचालय तीन महिनापछि पुनः सञ्चालनमा आएका छन् । तिर्नुपर्ने न्यून राजस्व पनि नतिरेका कारण तीन महिनाअघि बन्द भएका यी शौचालय राजस्व नतिरी खुलेको स्रोतले जानकारी दिएको  छ ।

करिब ४० लाख मानिस बसोबास गर्ने महानगरपालिकामा सात घुम्ती र २७ वटा सार्वजनिक शौचालय छन् । सार्वजनिक २७ मध्ये तीनवटा निजी संस्थाले ठेक्कामा र बाँकी महानगरपालिकाका कर्मचारीले सञ्चालन गरेका छन् । महानगरपालिकाको सार्वजनिक शौचालयसम्बन्धी प्रमुख जिम्मेवारी बाबुराजा पुजारीले समालिरहेका छन् । उनी महानगरपालिकाको सफाइ विभागअन्तर्गत कुचीकारका नाइकेसमेत हुन्।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर कार्की, हरि कुँवरलगायत कर्मचारीको आ श्रयमा पुजारीले सार्वजनिक शौचालय मनपरी सञ्चालन गर्दै आएको स्रोतको दाबी छ । ‘राजस्व तिरेकालाई सञ्चालन गर्न दिइन्छ । कसैले मनोमानी ढंगले सञ्चालन गर्दै आएको छ भने हामी बन्द गर्छौं र कारबाहीको दायरामा ल्याउँछौं’, प्रशासन प्रमुख कार्कीले भने ।

महानगरपालिकाको सार्वजनिक शौचालय र फोहोर व्यवस्थापनको काम गर्ने वातावरण विभागमा प्रमुख रवीनमान श्रेष्ठलाई नै सार्वजनिक शौचालय कसरी चलिरहेका छन् भन्ने थाहा छैन । ‘रत्नपार्क र कोटेश्वरबाहेक अन्यत्रका सार्वजनिक शौचालय सञ्चालकले आफूखुसी सञ्चालन गरिरहेका छन्’, उनले भने । राजस्व लिएर सार्वजनिक शौचालय सञ्चालन गर्न अनुमति दिइएको उनको दाबी छ । ‘२७ मध्ये दुईवटाको मात्रै थाहा छ । अरू कसरी सञ्चालन भएका छन्, त्यसबारे मलाई जानकारी छैन’, उनले भने।

ठेक्का दिइएका तीन सार्वजनिक शौचालयबाहेक अन्यले महानगरपालिकालाई राजस्व नबुझाएको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए । केही घुम्ती शौचालय सञ्चालकले बैंकमार्फत महानगरपालिकाको राजस्व बुझाएको स्रोतको दाबी छ । ‘सञ्चालन स्वीकृति नलिई बुझाएको राजस्वको मान्यता हुँदैन’, महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख ध्रुव काफ्लेले भने, ‘तीन महिना बन्द हुँदा उहाँहरूले रकम बुझाउनुभएन । अहिले सञ्चालन स्वीकृतिबिना राजस्व बुझाएर मात्र शौचालय चलाउन पाइँदैन ।’

घुम्ती शौचालय भनिए पनि तीनवटा शौचालय मात्र विभिन्न ठाउँमा सर्छन्, बाँकी चार भने एकै ठाउँमा रहन्छन् । दरबारमार्ग, कोटेश्वर, सुन्धारा र बानेश्वरमा राखिएका घुम्ती शौचालय सधैं त्यहीं रहन्छन्, अन्यत्र जाँदैनन् । भीड र आवतजावत बढी हुने स्थानमा सर्वसाधारणको सहजताका लागि घुम्ती शौचालयको अवधारणा ल्याइएको हो ।

सहरी सेवा केन्द्रका नाममा सञ्चालित सार्वजनिक शौचालयमध्ये रत्नपार्कबाट वार्षिक ४७ लाख, वीर अस्पताल अगाडिबाट १३ लाख, खुलामञ्चबाट २६ लाख र कोटेश्वरबाट एक लाख रुपैयाँ राजस्व महानगरपालिकामा जम्मा भएको छ । यी तीन घुम्ती शौचालयले महानगरपालिकालाई मासिक दुई हजार एक सय रुपैयाँ राजस्व बुझाउँदै आएका छन् । शंखपार्कस्थित घुम्ती शौचालयले ६ महिनामा पाँच हजार पाँच सय रुपैयाँ मात्र राजस्व बुझाएको छ ।

महानगरपालिकाका अनुसार २७ वटा शौचालयको औसत दैनिक आम्दानी प्रतिशौचालय दुईदेखि तीन हजार रुपैयाँसम्म हुन्छ । यी शौचालयको वार्षिक आम्दानी करिब तीन करोड १५ लाख ३६ हजार रुपैयाँ छ । तर महानगरपालिकालाई भने पाँचवटा शौचालयले मात्रै राजस्व बुझाउँदै आएका छन् ।
वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले पनि रत्नपार्क र कोटेश्वरबाहेकका सार्वजनिक शौचालय सञ्चालकले आफूखुसी सञ्चालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि