March 4, 2017

युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्या

काठमाडौं, फागुन २१ – युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो ।

मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको बताइएको छ । मनोजले प्रतिशोधका कारण दुर्गा तिवारीको हत्या गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । तर, कुन कुराको प्रतिशोध भन्ने उनले खुलाएनन् ।

गत आइतबार प्रहरीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा मनोजको आंतक अझै पनि कायम रहेको उल्लेख छ । तर, कस्तो आतंक भन्नेबारे प्रहरीले थप स्पष्ट पारेको छैन । ‘त्यसबारे पछि कुरा गराँैला,’ प्रहरी उपरीक्षक धानुकले भने । मनोजको सञ्जालबारे पनि प्रहरीले थप स्पष्ट पारेको छैन ।

अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहयोग गर्ने सबैमा जिल्ला प्रहरी कार्यालयले धन्यवादसमेत दिएको छ । तर, प्रहरीले अझै धेरै प्रश्नको उत्तर दिएको छैन ।

यसरी भएको थियो हत्या
गत ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हँुदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए । उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए ।

देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो ।

तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल बरामद ग¥यो । सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए  ।

हुन्डीमार्फत अझै रकम असुल्दै मनोजको गिरोह
दुर्गा तिवारीको हत्यापछि घटनाको जिम्मा लिएका मनोज पुनले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको निष्कर्षमा प्रहरी पुगेको छ । तिवारीको हत्या हुनुअगावै रकम असुलीमा संलग्न मनोजको गिरोहले तिवारी हत्यापछि पनि सो काम नछाडेको बताइएको छ । हत्यापछि विभिन्न व्यक्तिलाई फोन गरी मोटो रकम माग गरेको र नदिए तिवारीकै हालत बनाउने धम्की दिएको प्रहरीको निष्कर्ष छ ।
आफ्ना संगठनका अधिकांश सदस्य पक्राउ परिसकेपछि मनोजले रकम असुलीको शैली परिवर्तन गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।  उनले एक व्यापारीमार्फत अर्को व्यापारीसम्म रकम पु¥याउन लगाई व्यापारीकै हातबाट हुन्डीमार्फत असुली गर्ने तरिका अपनाएको प्रहरीले जनाएको छ ।
मनोजको समूहका अधिकांश सदस्य पक्राउ परिसके पनि त्रास कायम रहेको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयले केही दिनअघि गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मनोजले प्रविधिको फाइदा उठाई धम्क्याउन सक्ने अवस्था विद्यमान रहेकोमा सोबाट त्रसित बनी रकम नदिन हुन अनुरोध गर्दछौँ ।’

दुर्गा–मनोज यसकारण दुस्मनी
एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारीलगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए ।
डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए । दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने ।
उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट