ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे । पछि माओवादी पनि छाडे र एमाले छिरे । स्थायी समितिमा पुन:स्थापना नगरिए पार्टीमा नफर्किने भनिरहेका मैनालीलाई अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गराएका थिए । तिनै मैनालीसँगको संवाद :
अझै स्थायी समिति सदस्य बन्नुभएन, माग छाडेर किन एमाले फर्कनुभएको ?
अध्यक्ष भइसकेपछि केपी ओली आफैँ मेरो घरमा आए । कर गरे, ‘ पार्टीको नेता तिमी, मेरै नेता पनि तिमी । तिमी बाहिर, मचाहिँ एमालेको अध्यक्ष भएर बस्दा त्यति राम्रो सन्देश जान्न ।’ त्यस दिन म केही बोलिनँ । केही दिनपछि आफ्नै घरमा बोलाए । त्यही कुरा दोहोर्याए । मैले त अलिक पछि निर्णय गर्छु भनेको हो । उनी कराए, ‘पछि के निर्णय गर्छाै ? अहिले केन्द्रीय समितिमा आऊ, पछि स्थायी समितिमा ल्याइहाल्छु नि !’ उनको ‘बडिल्याङ्ग्वेज’ हेर्दा मलाई लाग्यो, पछि स्थायी समितिमा कसो नलैजालान् त ! तर, दुई वर्ष बितिसक्यो, लैजाँदैनन् । बीचमा एक–दुईपटक सम्झाएँ पनि । मेरै बारेमा बिहान–बेलुकी कुराकानी गर्न जाऊँ, त्यो पनि भएन । त्यसैले मैले अलिक असहज महसुस गरेको छु ।
भेटघाटका बेला केही कुरा हुँदैन ?
देखावटी कुरामा साह्रै सिपालु मान्छे हुन् उनी । आफूलाई बाहिर राम्रो देखाउन गर्नुपर्ने व्यवहारमा कुनै कञ्जुस्याइँ गर्दैनन् । मलाई पनि त्यसै गर्छन्, देख्नासाथ बोलाएर छेउमै राख्छन्, मीठो गफ गर्छन् । तर, दिलदेखि नै जिम्मेवारी दिने कुरामा चाहिँ त्यस्तो देखिएनन् ।
माधव नेपालले रोकेर पो हो कि त ?
हो कि त भनेर माधवसँग पनि कुरा गरेँ । उनले ‘हिजो पार्टीबाट हटाएको जिम्मेवारी लिने तर स्थायी समितिमा ल्याउन मैले रोकेको होइन’ भने । उनले यतिसम्मै भने कि ‘यदि ओलीले प्रस्ताव ल्याए र मैले रोकेँ भने, मेरो मुखमा थुकिदिए हुन्छ ।’ माधवजीका तर्फबाट स्थायी समितिमा मलाई लैजान रोकावट हुन्न भनेर ओलीसँग भनेको पनि हुँ । तैपनि, भएको छैन ।
कहिले राजाकहाँ, कहिले माओवादीमा गएको मान्छेलाई किन स्थायी समितिमा ल्याउने भनेर पनि त हुन सक्छ, होइन ?
राजनीतिमा कहिले सही काम गरिन्छ, कहिले गलत । सबैको हुन्छ यस्तो । मैले के सही गरेँ, के गलत गरेँ भन्ने कुरा हजारचोटि भनिसकेँ हुँला । म एमाले खोज्दै गएको होइन । एमाले मलाई खोज्दै आएको हो । यदि राजा र माओवादीकहाँ गएको भनेर जिम्मेवारी नदिएका हुन् भने मलाई एमालेमा नबोलाएको भए हुन्थ्यो ।
त्यति वरिष्ठ नेता, किन पछि परियो भनेर सोच्नुभएको छ ?
मनमा जे लागे पनि बाहिर ‘रिजर्व’ बस्ने, भित्रभित्रै चाहिँ टिम बनाएर दाउपेच खेल्ने कुरा रहेछ राजनीति । तर, मैले बुझेको राजनीति भनेको लागेको कुरा भन्ने हो, जानेको कुरा गरिहाल्ने हो । यस्तो स्वभावको मान्छेलाई राजनीति गर्न सजिलो हुँदो रहेनछ । सबैले झुक्याउँदा मात्र रहेछन्, छक्याउँदा मात्र रहेछन् ।
किन होला त ?
अरूले राम्रो भनून् कि नराम्रो, लागेको कुरा भन्ने बानीका कारण धेरै मित्र मसँग चिढिए । नाफानोक्सान हेरेर बोल्ने बानीको विकास गर्न सकिनँ मैले । त्यस्तो हिसाबकिताब गर्ने मित्रहरू माथि पुगे ।
तपाईं दाजु–भाइ (सीपी मैनाली)बीचको फुटले गर्दा पनि हो कि ?
एकले अर्काेलाई तानेर हामी नेता भएका होइनौँ । आ–आफ्नो सोचाइ र पृष्ठभूमिका साथ हामी राजनीतिमा अघि बढेका हौँ । त्यसैले दाजुभाइ फुटेकैले यस्तो भइयो भन्ने लाग्दैन ।
सीपीसँग किन तपाईंको कहिल्यै मतो मिल्दैन ?
उनको र मेरो स्वभाव नै फरक छ । उनी राजनीतिमा हिसाबकिताव गर्न जान्दछन्, कमर्सियल स्वभावका छन् । मलाई त्यस्तो हिसाबकिताब गर्न आउँदैन ।
ओलीचाहिँ कत्तिको हिसाबकिताब गर्नुहुन्छ ?
भन्न त उनलाई कतिपयले राजनेता पनि भनेका छन् । तर, मेरो दृष्टिमा उनी राजनीतिक नेता होइनन्, राजनीतिक खेलाडी हुन् । नाफा–नोक्सान हेर्छन् । कताबाट किक हान्दा गोल गर्न सकिन्छ, उनको ध्याउन्न यसैमा छ ।
त्यसो भए ओलीको राष्ट्रवाद आस्था हो कि खेल हो त ?
कस्तो अप्ठ्यारो प्रश्न ! नबोलौँ, मनमा लाग्या कुरा पर्यो । भनौँ, पार्टीका अध्यक्षका बारेमा बोल्नुपर्ने भो ! राजनीतिक खेलाडीका रूपमा उनले राष्ट्रवादका कुरा गरिरहेका छन् । नत्र, महाकाली सन्धिमा पानीको बाँडफाँटमा नेपाल ठगिँदा उनको राष्ट्रवाद कहाँ गएको थियो ? त्यो सन्धिताका उनले राष्ट्रवादलाई कसरी बुझेका थिए ? अहिले कसरी बुझिरहेका छन् ? त्यसैले ओलीका लागि राष्ट्रवाद राजनीतिक खेल हो, आस्था वा आदर्शको विषय होइन ।
ओलीलाई चतुर नेता भन्छन्, यस्तो हुनुभएको कहिलेदेखि हो ?
पहिले त यस्ता खेलाडी होइनन् उनी । दासढुंगा काण्डपछाडि र महाकाली सन्धिको आसपासदेखि हो, उनी खेलाडी बन्न थालेको । त्यसयता उनी कहिले राष्ट्रवाद बिर्सन्छन्, कहिले राष्ट्रवादी बनिदिन्छन् । के बोल्दा फाइदा हुन्छ, त्यही गर्दै छन् ।
अहिलेको राजनीतिक घटनाक्रम कस्तो लागिरहेको छ ?
राजनीतिले राष्ट्रलाई माथि उठाउनुपर्ने हो । तर, कांग्रेस, एमाले, माओवादी तीनै पार्टीको राजनीतिले राष्ट्रलाई संकटमा पारेको छ । हिजो पो दरबार हाउगुजी थियो । भित्र जतिसुकै खोक्रो भए पनि त्यही हाउगुजीले राष्ट्र टिकेको थियो । अहिले ‘पार्टीहरू अजङ्गका छन्’ भन्ने त्यस्तै हाउगुजी हुनुपर्ने तर छैन । पार्टीहरू कस्ता छन् भने बाहिर हेर्दा सुन्निएका, भित्रचाहिँ अन्तर्संघर्षले धोद्रिएका । सबै नेता पखालिएका । कुनै नेताको प्रशंसामा कसैले बोल्दैन । बोले पनि जनताले पत्याउँदैनन् । पार्टी र नेताहरू यो स्थितिमा पुग्नु भनेको देशमा संकट सिर्जना भइसकेको छ भन्ने संकेत हो ।
राजतन्त्र फर्केला त त्यसो भए ?
जादुगरी खेल नै चल्यो भने अर्कै कुरा । नत्र राजतन्त्र फर्किन सम्भव छैन । जतिसुकै जे भने पनि राजतन्त्र भनेको परम्परागत खालको व्यक्तिवादी संस्था हो । यदि राजा ज्ञानेन्द्र ‘पपुलर’ थिए भने राजतन्त्र हट्दै हट्दैन थियो । अहिले ज्ञानेन्द्र मात्र होइन, पूर्वराजपरिवारका अरू सदस्य पनि पपुलर छैनन् । त्यसैले राजतन्त्र फर्केलाजस्तो मलाई लाग्दैन ।
के होला त त्यसो भए ?
हालै मात्र अवकाश पाएका सेनाका केही जनरलसँग मेरो भेटघाट भयो । उनीहरू पनि राजनीतिक अवस्थाबाट निराश देखिए । ओजनदार व्यक्तित्व राष्ट्रपतिको जिम्मेवारीमा आउन नसकेकामा पनि गुनासो रहेछ उनीहरूको । राजनीतिक आरोह–अवरोह नबेहोरेकाहरू राष्ट्रपति भएका छन् । ३०/३५ वर्षको अनुभव भएका सेनाका अधिकृतहरूले विश्वास र भर गर्न सक्ने मान्छे परमाधिपति पाउन सकेको छैन ।
राजतन्त्र समाप्त भएर मुलुकलाई हानि भयो भन्न खोज्नुभएको ?
त्यस्तो पनि होइन । म त खुसी नै थिएँ राजतन्त्र जाँदा । राजाहरूमा एउटा आदर्श होला भन्ने लाग्थ्यो । नजिकबाट हेर्दा त्यस्तो होइन रहेछ । राजाहरू पनि नेताजस्तै आफ्नै मात्र स्वार्थ हेर्ने प्राणी रहेछन् । त्यस्तो संस्था गयो, नेताहरू पनि अब फिर्छन् होला जस्तो लागेको थियो । तर, हाम्रो दुर्भाग्य !
कुन बाटो तय गर्ला त राजनीतिले ?
तीन ठूला दल मिले भने ठीकै ठाउँमा जान्छ । मधेसीसमेत मिले भने त झन् राम्रो हुन्छ । तर, उनीहरू किन मिल्दैनन् भने उनीहरूको साँचो उनीहरूको हातमा छैन । हुन त तीन ठूला दलको साँचो पनि उनीहरूको हातमा छैन । अर्कैको साँचो आफ्नो खल्तीमा लुकाएर हिँडिरहेका छन् उनीहरू । जे होस्, तीन ठूला दल मिले भने कम्तीमा संविधानचाहिँ कार्यान्वयन हुन्छ । तर, संविधान कार्यान्वयन नहुँदा पनि म खुसी नै हुन्छु । किनभने, संविधान कार्यान्वयन नहुँदा कम्तीमा संघीयता र धर्मनिरपेक्षताको क्यान्सरबाट मुलुकले मुक्ति पाउँछ । राजनीति त्यही दिशातिर गइरहेको छ । तपाईंको विचार राप्रपासँग पो मिल्दो रहेछ त ? कति ठाउँ चहारी हिँड्नु मैले यो उमेरमा ! त्यसैले विचार जोसँग मिले पनि बस्नचाहिँ एमालेमै बस्छु । नातागोता सबै एमालेमा छन्, हात मिलाउने साथीहरू पनि यहीँ छन् । म जहाँ पुगे पनि एक्लै जाने हो । अरूहरू मसँग जाँदैनन् । तर, एमालेमा बसिया’छ, केही काम गर्नु पनि पर्या’छैन । रमिता हेर्या’छु, बस्या’छु । यसभन्दा आनन्द अरू केमा हुन्छ ?
अनि, समकक्षी राजनीतिक साथीहरूबीच कत्तिको चियापान हुन्छ ?
उनीहरू बोलाउँदैनन् । नबोलाएपछि आफूले पनि किन बोलाउने भन्ने लाग्छ । मित्रहरूले के बुझेका छन् भने कुरा चियाको होइन, ‘पावर’को हो । मसँग ‘पावर’ हुँदो हो त उनीहरू चिया खाने निहुँमा आइरहेका हुन्थे । ‘हिजो राजाको सरकारमा गएको’ भनेर अहिले खिसी गर्ने साथीहरू राजाको मन्त्री छँदा मकहाँ धाउँथे । अहिलेको एमाले पोलिटब्युरोका आधाभन्दा बढी सदस्य आउँथे मकहाँ । मीठा कुरा गर्थे, काम पट्याएर जान्थे । स्थिति कस्तो छ भने उनीहरू मलाई भेट्न आउँथे भन्दा कसैले पनि पत्याउँदैन । यस्तो अवस्था छ, अहिले मेरो । -साभारः नेपाल साप्ताहिक
काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका
भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।
क.सहदेव न्यौपाने,नेता नेकपा एमाले,भक्तपुर भक्तपुरको सुर्यविनायक नगरपालिका ४ दधिकोटको नेकपा एमालेलेमा
चार दशकदेखि निरन्तर राजनीतिमा रहेर दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा समर्पित चन्दन कृष्ण
नेकपा मसाल दोलखाको सेक्रेटरी,वागमती क्षेत्रीयव्युरो सदस्य मसाल निकट विभिन्न जबस तथा खुल्ला मोर्चाहरुको केन्द्रिय भुमिका
पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन २०७८