कांग्रेस कता ? यता न उता

गोपाल बुढाथोकीGopal-Budhathoki

संसदीय आकारका दृष्टिले अहिले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । आकारमा ठूलो भएकाले बुद्धि र व्यवहारमा पनि ऊ नै सबैभन्दा परिपक्व हुने अपेक्षा गरिनु स्वाभाविक हो । तर, नेपाली कांग्रेस समाधान दिने पार्टी नबनेर समस्या सिर्जना गर्ने पार्टी भएको छ । अगुवा पार्टी नभएर पछुवा पार्टी बनेको छ । अरुका लागि अनुकरणीय र उदाहरणीय पार्टी बन्नुपर्नेमा नकारात्मक प्रवृत्तिको प्रतिनिधि पार्टी बनिरहेको छ । समकालीन नेपाली घटनावलीमा कांग्रेसको दृष्टिकोण के हो ? देशलाई समाधानमा लैजान कांग्रेसको दृष्टिकोण के छ ? कार्यक्रम के छ ? बरु एकमुखे रुद्राक्ष खोज्दा पाइएला तर कांग्रेसको दृष्टिकोण पाइँदैन ।

दु:खद कुरा इतिहासमै पहिलोपल्ट दृष्टि र दृष्टिकोणविहीन पार्टीको पर्याय बनेको छ, शेरवहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेस † हरेक पार्टी आआफ्नो विधिविधान र नियमावलीले चल्छ । तर, कांग्रेसमा विधान कता छ खोज्नुपर्ने भएको छ । आफ्नै पार्टीको विधान कार्यान्वयन गर्न नसक्ने पार्टीले देशको संविधान कसरी कार्यान्वयन गर्छ ? गंभीर प्रश्न उठेको छ । अहिले सत्ता साझेदार पार्टी हो कांग्रेस । सरकार संचालनमा कांग्रेसको दृष्टिकोण के हो ? सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् जो तेस्रो ठूलो पार्टीका नेता हुन् । सरकारमा सहभागी भएपछि सरकार संचालन तथा सरकारको काम बारे न्यूनतम कार्यक्रम सार्वजनिक गर्न पनि कांग्रेसलाई वास्तै छ्रैन । खासमा कांग्रेसको ध्यान कता छ ?

सरकारमा माओवादी केन्द्र हावी छ र कांग्रेसको साथमा मन्त्रालय र मन्त्री छन् तर सरकारमा उपस्थिति अनुभूत गर्न सकिंदैन । सरकारका काम र कार्यक्रममा आफ्नो चुनाव घोषणापत्र कार्यान्वयन गर्न कांग्रेसले यो अडान लियो भनेर देख्न सुन्न पाइएको छैन । हो, कांग्रेसले अडान लिन्छ तर शुभ लाभकारी नियुक्तिहरुमा मात्र । अर्बौं अर्बको ठेक्कापट्टा र खरिदबाट आर्थिक लाभ हुने क्षेत्रमा कांग्रेसका मन्त्री तथा नेताहरुले ध्यान दिएको देखिन्छ तर अन्य क्षेत्रमा वास्तै छैन । चुनाव गर्ने र संविधान कार्यान्वयन गर्ने पक्षमा त झन कांग्रेसको धारणा के हो भन्ने फिटिक्कै बुझ्न सकिंदैन । यसका नेताहरु किंकर्तब्यमूढ हालतमा देखिन्छन् । माओवादी अध्यक्ष प्रचण्डले जे बोल्छन् कांग्रेसको धारणा त्यही हो भनेर बुझ्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, मधेसी मोर्चाका एकसिटे पार्टीका नेताले के बोल्छन् कांग्रेसको धारणा त्यही हो भनेर बुझ्नुपर्ने अवस्था छ ।

अवस्था यतिमा मात्र सीमित छैन, नेपालको आन्तरिक मामिलामा विभिन्न च्यानलले व्यक्त गर्ने भारतीय धारणा जे हो कांग्रेसको धारणा त्यही हो भनिठान्नुपर्ने लाजमर्दाे अवस्था छ । अहँ, कहीँकतै कांग्रेसले आफ्नो उपस्थिति र प्रभावकारिता देखाउन सकेको छैन । यसका नेताहरुले बोलेका कुरा मिडियाको प्रमुख समाचार बन्न छाडेका छन् । किनभने कांग्रेसको अबको रणनीति यसका नेताहरुको मुखबाट भन्दा प्रचण्ड र मधेसी मोर्चाका नेताहरुको मुखबाट आउँछ भन्ने स्थापित हँुदै गएको छ ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको हालत यस्तो दयनीय छ भने पार्टीको आन्तरिक जीवन पनि बेहाल बन्दै गएको छ । वर्तमान सभापति शेरबहादुर देउवाले पद सम्हालेको २०७२ चैतबाट आज २०७३ माघ २४ गतेसम्म गन्दा एघार महिना पूरा भयो । उनले निर्वाचित हुनासाथ विधान अनुसार, पार्टी पदाधिकारीहरु मनोनयन गर्छु भनेका थिए । पार्टीका विभागहरु गठन गर्छु भनेका थिए । अहँ, त्यतातिर उनको ध्यान नै छैन । पार्टी संगठन निष्क्रिय प्राय छ, पार्टीको गतिविधि शून्यप्राय छ । पार्टीका नेता कार्यकर्ताहरु बेरोजगार प्राय भएका छन् ।

माओवादी मधेसवादीको पुच्छर बन्ने नीति लिएपछि कांग्रेसप्रतिको जनसमर्थन नराम्रोसंग खस्किएको छ भने आकर्षण त झनै घटेको छ । न संविधान कार्यान्वयनमा कांग्रेसलाई वास्ता छ, न पार्टीको विधान कार्यान्वयनमा । सभापति देउवा विगतमा एक व्यक्ति एक पद भन्थे तर अहिले सभापति पदमा छँदाछँदै प्रधानमन्त्री बन्ने चक्करमा छन् । विगतका सभापतिहरुलाई विधान अनुसार, पार्टी चलाउन नसकेको भन्दै आलोचना गर्थे तर अहिले सभापति देउबाटै कांग्रेसको विधानकै बेहाल भएको छ । पार्टीमा कसलाई कसो गर्ने भन्ने समेत भारतीय राजदूतावासले तय गर्छ भनेर कांग्रेस भित्रैबाट लागिरहेको आरोपमा सभापति देउवा चूँ बोल्दैनन् । अर्थात्, कांग्रेस सबैभन्दा ठूलो पार्टी त हो तर सबैभन्दा कमजोर र नालायक पार्टी समेत बन्दैछ ।

लोकतन्त्रमा राजनीतिक दलहरु विधिविधान अनुसार चल्नुपर्छ । दलीय व्यवस्थामा दलहरु उदाहरण बन्नुपर्छ । कुनै पनि राजनीतिक दलको आन्तरिक स्वास्थ्य र बाह्य व्यवहार त्यो दलका कार्यकर्ताको मात्र सरोकारको विषय होइन, आम नागरिकको सरोकारको विषय हो । किनभने दलको हैसियत नागरिकको मतले बन्ने हो । देशको सबैभन्दा ठूलो पार्टीको जिम्मेवारी पाउनु भनेको निश्चित दायित्व पूरा गर्नु पनि हो । कांग्रेसलाई जनताले अगुवा बन्न मत दिएका हुन्, पिछलग्गू बन्नलाई होइन । कांग्रेसबाट जनताले समाधानको आश गरेका छन्, आफै समस्या बन्न मत दिएका होइनन् । पार्टीको आन्तरिक विधान कार्यान्वयन गर्दै देशको संविधान कार्यान्वयन गर्नु र चुनावका लागि आवश्यक तदारुकता देखाउनु नै अहिले कांग्रेसको कार्यभार हो । यो कार्यभारबाट यसरी नै चुक्दै गएमा कांग्रेसलाई जनताले माफ गर्ने छैनन् । कांग्रेसजनलाई चेतना भया ।

(वरिष्ठ पत्रकार बुढाथोकी सा“घु साप्ताहिकका सम्पादक हुन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,