विद्युत प्राधिकरणलाई महानगरले ५० करोड बुझाउन बाँकी ! चोरेको बिजुलीको बिल पनि महानगरपालिकालाई ?

१७ माघ, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा रहेको नेपाल विद्युत प्राधिकरणले केही दिनअघि रुद्रसिंह तामाङको नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकालाई बिजुलीको बिल पठायो । बिलअनुसार रुद्रसिंहको कार्यालयले कुलमानको कार्यालयलाई तिनुपर्ने रकम रहेछ- ५० करोड रुपैयाँ मात्र !kulman-ghising-and-rudra-singh-tamanag

 

नेपाल विद्युत प्राधिकरणले महानगरपालिकामा पठाएको ५० करोडको बिल राजधानीका सडकमा बालिएको ‘सडक बत्ती’को हो । यसमा झण्डै ३९ करोड रुपैयाँ सडक बत्तीको खुद महशुल हो भने करिब १० करोड जरिवाना वापतको रकम समाविष्ट छ ।

महानगर भन्छ- सोलार बाल्दैछौं, कसरी ५० करोड उठ्यो ?

महानगरपालिकाका अधिकारीहरु यत्रो महसुल सडक बत्तीका नाममा कसरी उठ्यो भन्दै प्राधिकरणसँग आक्रोशित बनेका छन् । उनीहरु काठमाडौंका सडकमा विद्युत प्राधिकरणका पोलमा बल्ने बिजुली न्यून रहेको र अधिकांश ठाउँमा सोलार प्रयोग गरिँदै आएको बताउँछन् ।

‘सोलार बाहेक काठमाडौं महानगरपालिकामा कति स्थानमा पोलमा सडक बत्ती बलेका छन् ? यो जनताले देखेका छन्’ महानगरपालिकाका सूचना अधिकारी महेश काफ्ले भन्छन्, ‘हामी अचम्मित छौं कि यत्रो आधा अर्ब रुपैयाँ महशुल उठ्ने गरी कहाँ बालिएको छ त सडकमा बिजुली ?’

सडक बत्तीमा प्रयोग भएको बिजुलीको खपत युनिट नै उल्लेख नगरी महानगरपालिकालाई प्राधिकरणको ग्राहक सेवा निर्देशनालयले पत्र आएको महानगरका कर्मचारीको गुनासो छ । सो बिलमा ग्राहक नम्बर र सडकबत्ती वापत उठेको रकम र समयमै नतिरेको जरिवाना मात्रै उल्लेख छ । तर, विजुलीको खपत युनिट कति हो भन्ने बिलमा उल्लेख गरिएको छैन ।

कर्मचारीका अनुसार सडकबत्ती बाल्दा कति युनिट उठेको भन्ने कतै उल्लेख गरेको भेटिँदैन । मिटर रिडरले सीधै प्राधिकरणलाई सडकबत्तीको महशुल उल्लेख गरिदिएका छन् । यसबाटै सडकबत्तीका नाममा प्राधिकरणका कर्मचारीले गडबडी गरेको प्रष्ट हुने महानगरपालिकाका अधिकारीकारीको दाबी छ ।

‘काठमाडौंमा सडकबत्ती नै भएन भनेर मुख्य क्षेत्रमा सार्क सम्मेलनका बेलामा बत्ती जोडिएको हो’ सूचना अधिकारी काफ्ले भन्छन्, ‘काठमाडौंकै मुटुमा त सडकबत्ती नबलेपछि सोलार जोड्नुपर्‍यो भने ३९ करोड रुपैयाँ बराबरको बत्ती काठमाडौंमा बल्यो भन्नेमा महानगरपालिका विश्वस्त छैन ।’

अहिले काठमाडौंमा सोलार जोडिएका बाहेकका क्षेत्रमा खासै सडक बत्ती बल्दैनन् । धेरै ठाउँमा जोडिएकै छैन भने जोडिएका ठाउँमा बत्ती छिटपुटबाहेक ठाउँमा उज्यालो दिन समर्थ छैनन् ।

तर, नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिकालाई दिएको सडकबत्तीको बील हेर्ने हो भने चाँही काठमाडौंका कुनै क्षेत्र सडकबत्तीविहीन छैन भनेजस्तो देखिन्छ ।

त्यसो त महानगरका कर्मचारीको अर्को गुनासो के पनि छ भने काठमाडौंमा सडक बत्ती बालेवापत मिटर जाँच गर्ने ठाउँ पनि कतै देखिँदैन । यसरी अहिलेसम्म सडकबत्तीको मिटर कतै पनि नदेखिनुले पनि आशंकालाई बल पुगेको कर्मचारीहरु बताउँछन् ।

आफ्ना सबै कार्यालयको बिजुलीको बिल भने महानगरपालिकाले मासिकरुपमा तिर्दै आएको छ । ‘खपत भएको युनिट नै नदेखाई केका आधारमा यो बिल दिइन्छ भन्ने हामीले बुझेका छैनौं’ काफ्ले भन्छन्- ‘जति मन लाग्छ, त्यति रकम उल्लेख गरेर पठाउने गर्दा हामीलाई ठूलो आर्थिक भार परेको छ ।’

सूचना अधिकारी काफ्लेले यति चर्को महशुल तिर्नुभन्दा सोलारबत्ती जोड्नु सुलभ भएको बताए ।

पैसा तिर्छौं, तर अब प्राधिकरणको सडकबत्ती बालिँदैनः रुद्रसिंह

यसैवीच महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले प्राधिकरणले सडक बत्तीका लागि पठाएको बिल भुक्तानी गर्ने बताए ।

तर, अब प्राधिकरणका पोलमा सडकबत्ती नराख्ने र सबै सोलारबाट विस्थापित गर्ने योजना बनेको सुनाए ।

यद्यपि तामाङले पैसा तिर्ने भने पनि महानगरपालिकाका केही उच्च अधिकारी भने विनाआधार आएको बिजुलीको बिल भुक्तानी गर्न नहुने बताइरहेका छन् ।

स्थानीय विकास मन्त्रालयको चासो

त्यसो त काठमाडौं महानगरपालिकाले मात्रै होइन, देशैभरका उपमहानगर र नगरपालिकाहरुले सडक बत्तीको पैसा प्राधिकरणलाई तिर्न सकिरहेका छैनन् । नेपाल विद्युत प्राधिकरणले देशैभरिका नगरपालिकाहरुलाई सडक बत्तीको पैसा दिर्न ताकेता गरेपछि यसमा स्थानीय विकास मन्त्रालयले चासो देखाएको छ ।

मन्त्रालयले यसबारे बुझ्न राज्यमन्त्री श्रीप्रसाद जबेगुलाई जिम्मा दिएको छ । राज्यमन्त्री जबेगुले देशैभरिका नगरपालिकाले प्राधिकरणलाई सडक बत्तीको पैसा तिर्न कति बाँकी छ, सोको विवरण मगाएका छन् ।

चोरीको बिजुली नगरपालिकाको थाप्लोमा ?

स्थानीय विकास मन्त्रालयले स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विद्युत चुहावट एवं चोरी भई खपत हुन गएको विजुलीको बिलसमेत प्राधिकरणले नगरपालिकालाई बोकाउने गरेको पाइएको छ । र, यही कारणले प्राधिकरणले महानगरपालिका र नगरपालिकालाई पठाएको बिलमा विद्युतको खपत युनिट उल्लेख नभएको स्थानीय निकायका कर्मचारीको दाबी छ ।

चोरीको विद्युतको भार समेत महानगरपालिकालाई बोकाइएको भन्दै अब सडक बत्ती जोड्दा पोलमै मिटर राख्ने व्यवस्था गर्नसमेत कर्मचारीले माग गरेका छन् ।

कतिपयले सडकबत्तीबाट छेउको मन्दिरमा र त्यहाँबाट घरमा समेत बिजुली तानेर बाल्ने गरेको र त्यसको पैसा पनि नगरपालिकालाई बोकाउने गरिएको गुनासो कर्मचारीहरुको छ ।

स्थानीय विकास मन्त्रालय स्रोतका अनुसार बिजुली चोरीमा संलग्न कर्मचारीहरुले खपत भएको बिजुलीलाई सडकबत्तीको बिलमा जोडेर राखिदिने गरेकाले नगरपालिकामा नबालेको बत्तीको बिल खापिएको हो ।

यस्ता कर्मचारीहरुले ठूला ग्राहकको बिजुलीको मिटर बिगारेबापत रकम बुझ्छन् र त्यसमा खपत भए बराबरको बिजुलीचाँहि सडकबत्तीका नाममा नगरपालिकामा जान्छ । काठमाडौं महानगरपालिकामा पनि यसैगरी चोरीको बिजुलीसमेत खापिएको स्रोतको जिकिर छ । यसबाट चोरीमा खपत भएको बिजुलीको भार स्थानीय निकायले बेहोर्ने र चोरीमा संलग्नले सजिलै उन्मुक्ति पाउने स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्