April 26, 2017

१० वर्षमा सबै नगरपालिका ‘स्मार्ट सीटी’ :राप्रपा

 

एक परिवार एक रोजगारी, कार्यालयमा पृथ्वीनारायणको तस्वीर अनिवार्य

 

१३ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी गरेको छ ।

कुल बजेटको २० प्रतिशत शिक्षामा

राप्रपाले गाउँ/नगरपालिकाहरुको आफ्नो कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने बताएको छ । स्थानीय तहबाट अनुदान प्राप्त गर्ने विद्यालयहरुमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने उसले बताएको छ ।

राप्रपाले शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाउने बताएको छ । साथै स्कुलहरुमा बन्द हड्ताल गर्न र दलको भ्रातृ संगठन खोल्न बन्द गरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा घोषणापत्रमा गरिएको छ ।

प्रत्येक गाउँ/नगरपालिकाले हरेक वर्ष छात्रवृत्ति प्रदान गरी गाउँ/नगरको जेहेन्दार विद्यार्थी मध्येबाट एकजना डाक्टर र एकजनालाई इञ्जिनियरिङ पढ्न पठाइने बताइएको छ ।

राप्रपाले भनेको छ- ‘त्यसरी पढेर आएको व्यक्तिले कम्तिमा ५ वर्ष सम्बन्धित गाँउ नगरको अस्पतालमा काम गर्नु पर्नेछ ।’

२५ बेडको अस्पताल, आवासका लागि ‘स्वामित्वमा साझेदारी’

राप्रपाले प्रत्येक स्थानीय तहमा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गर्ने बताएको छ । गाउँ र नगरपालिकाहरुमा स्वास्थ्य उपचार कोष स्थापन गर्ने र क्यान्सर लागेका एवं मृगौला फेल भएका बिरामीहरुलाई १ लाख औषधोपचार खर्च दिने घोषणा पत्रमा उल्लेख छ ।

प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने, ५ बर्षभित्र सबै नगारिकको स्वास्थ्य वीमा गर्ने र विपन्न परिवारमा जन्मिएका शिशुलाई ५ हजार रुपैयाँ सुपोषण अनुदान दिने उसले बताएको छ ।

राप्रपाले व्यवस्थित आवासका लागि ‘स्वामित्वमा साझेदारी’ (सेयर्ड अनरसिप) को अवधारणा अघि सारेको छ । ‘यस प्रणालीमा आवास उपभोक्ताले घरको केही अंश वा तल्ला वा फ्याट घरधनीलाई रकम भुक्तानी गरी खरीद गर्ने र बाँकी रकम घरमा बसेवापत मासिक भाडाका रुपमा भुक्तानी गर्दै जाने प्रणाली राप्रपाबाट विजयी भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागु गरिनेछ’ घोषणा पत्रमा भनिएको छ ।

एक परिवार एक रोजगारी, २५ जनालाई रोजगारी दिए स्थानीय कर मिनाहा
राप्रपाले ‘एक परिवार एक रोजगारी’ को नारा दिएको छ । उसले २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने राप्रपाको प्रतिवद्धता छ ।

प्रत्येक घरमा बिजुली र खानेपानी र ५ बर्षभित्र हरेक वडामा मोटरबाटो पुर्‍याउने बताएको छ ।


प्रत्येक स्थानीय तहको बिशिष्ठताको आधारमा कृषि क्षेत्र विकास योजना गर्ने र एक गाउँनगर, एक उत्पादन अभियान चलाउने राप्रपाले बताएको छ । व्यवसायिक रुपमा गौपालन गर्नेलाई स्थानीय कर मिनाहा, निशुल्क पशु वीमा र सहुलियतमा ऋण पाउने व्यवस्था गरिने उसले बताएको छ ।

राप्रपाले हरेक स्थानीय तहमा प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने, एक घर दुई बिरुवा अभियान चलाउने, नगरपालिकाको प्रत्येक वडामा एक बाल उद्यान बनाउने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।

राप्रपाले साना जलविद्युत वा सौर्य ऊर्जा उत्पादन गर्न चाहने कम्पनी, गैरसरकारी संस्था वा समुदायलाई लागतको ४० प्रतिशत रकम अनुदान दिने वा स्थानीय तहले शेयर लगानी गर्ने व्यवस्था गर्ने बताएको छ ।

गाउँ/नगरपालिकामा ५ वर्षभित्र एक खेलमैदान वा रंगशाला र कभर्ड निर्माण गर्ने, जनकपुर, लुम्बिनी र विजयपुरलाई क्रमशः मिथिला, बौद्ध र किरात संस्कृतिको वृहत केन्द्रका रुपमा विकास गर्ने पनि उसले बताएको छ ।

कार्यालयमा पृथ्वीनारायणको तस्वीर अनिवार्य

राप्रपाले आफूले जितेको स्थानीय तहका प्रत्येक कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने बताएको छ । विद्यालयहरुको पाठ्यक्रममा नैतिक र आध्यात्मिक शिक्षाका साथै राष्ट्रियताको भावना अभिवृद्धि हुने विषयहरु समावेश गर्ने उसले बताएको छ ।

गौहत्यालाई पूर्णत निषेध गर्ने र प्रत्येक गाँउ/नगरपालिकाहरुमा गौशालाहरु निर्माण गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने