ससफो र राजपाबीचको चुनावी तालमेल, शीर्ष नेतालाई मात्र जिताउन भएको दाबी

Rajapa-meeting11काठमाडौँ,  २७ कात्तिक ।  सङ्घीय समाजवादी फोरम (ससफो) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले प्रदेश २ मा मात्र चुनावी तालमेल गरेको भन्दै अन्य प्रदेशका नेताले असन्तुष्टि व्यक्त गर्र्नुभएको छ ।
पार्टीका शीर्ष नेता आफू जित्ने सुनिश्चितताका लागि प्रदेश २ मा मात्र तालमेल गरेको अन्य प्रदेशका नेताहरूले आरोप लगाउनुभएको छ ।  प्रदेश २ मा प्रतिनिधि सभाका ३२ वटा सिटमध्ये १७ वटा फोरम नेपाल र १५ वटा राजपा नेपालले लिएका छन् ।
त्यस्तै, प्रदेश सभाका ६४ सिटमध्ये ३१ राजपा नेपाल र ३३ वटा फोरम नेपालले लिएका छन् ।  सुरक्षित स्थान खोज्दै मधेसवादी दलका अध्यक्षले प्रदेश २ मा नै उम्मेदवारी दिनुभएको छ ।  प्रदेश १ सुनसरीका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी २ बाट चुनाव लड्दै हुनुहुन्छ ।
अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव सिरहा ४, राजेन्द्र महतो धनुषा ३, शरतसिंह भण्डारी महोत्तरी १, महन्थ ठाकुर महोत्तरी ३, महेन्द्र राय यादव सर्लाही २ र अनिल कुमार झा रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।  स्थानीय तहको चुनावमा आएको मतका आधारमा सिट बाँडफाँड गरेका कारणले राजपा नेपालले अन्य प्रदेशमा फोरम नेपालसँग तालमेल नगरेको हो ।  राजपाले प्रदेश २ बाहेक अन्य प्रदेशको स्थानीय तहको चुनावमा भाग लिएको थिएन ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफ्नो पार्टीले अरू प्रदेशको स्थानीय तहको चुनावमा भाग नलिएको र त्यो मापदण्ड अन्य क्षेत्रमा नरहेकाले तालमेल नगरेको बताउनुभयो ।
प्रदेश २ मा दुई दलबीच चुनावी तालमेल भए पनि सोही दलका नेताले विद्रोही उम्मेदवारी दिएका कारण नेताहरू तनावमा देखिनुभएको छ ।
ससफो नेपालका अध्यक्ष  यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जेपी ठाकुरले बागी उम्मेदवारी दिनुभएको छ भने महन्थ ठाकुरविरुद्ध राजपा नेपालकै चन्देश्वर झा, अनिलकुमार झाविरुद्ध फोरम नेपालका बबन सिंहले उम्मेदवारी दिनुभएको छ ।  हालसम्म उहाँहरूले उम्मेदवारी फिर्ता लिनुभएको छैन ।
यी दुई दलका अन्य नेताविरुद्ध पनि बागी उम्मेदवारी परेका छन् ।  यिनै बागीका कारण कतिपय नेताको हारजीत हुनसक्छ ।  राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशन दिनुभएको छ तर कार्यान्वयन हुन सकेको छैन ।
सप्तरीमा फोरम नेपाल र राजपा नेपालले दुई–दुईवटा निर्वाचन क्षेत्र लिएका छन् भने सिरहा र धनुषामा चार÷चारमध्ये फोरम नेपालले तीन–तीन र राजपा नेपाललाई एक–एक क्षेत्रमा सहमति भएको छ ।  महोत्तरीमा यी दुई दलले दुई÷दुईवटा लिएका छन् ।  सर्लाही र रौतहटमा फोरम नेपालले एक–एकवटा क्षेत्र लिएको छ ।  बारामा आधाआधा बाँडेका छन् भने पर्सामा फोरम नेपालले तीनवटा लिएका छन् भने राजपा नेपालले एउटामा मात्र चित्त बुझाएका छन् ।  यी सबै सिट बाँडफाँट स्थानीय तहमा आएको मतको आधारमा गरिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी गराउनुभयो ।
राजपा नेपालका उपाध्यक्षहरू सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, नरसिंह चौधरी र फोरम नेपालका इस्तियाक राइन, मङ्गलप्रसाद गुप्तालगायतका नेताहरू पश्चिम मधेसबाट उम्मेदवारी दिनुभएको छ ।  उहाँहरूले शीर्ष नेताहरू आफू मात्र जित्नका लागि प्रदेश दुईमा चुनावी तालमेल गर्नु भएको आरोप लगाउनुभएको छ ।
कपिलवस्तु–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका राजपा नेपालका उपाध्यक्ष नरसिंह चौधरीले अध्यक्ष मण्डलमा पश्चिमका कुनै नेता भएको भए यता पनि तालमेल हुन्थ्यो भनी टिप्पणी गर्नुभयो ।  उहाँले प्रदेश २ भन्दा राम्रो सङ्गठन पश्चिममा रहेको दाबी गर्दै तालमेल नभए पनि आफूहरू चुनाव जित्ने दाबी गर्नुभयो ।
सप्तरीसँगै रहेको प्रदेश १ को सुनसरीमा पनि तालमेल भएको छैन ।  सुनसरीमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ससफोले ठाउँ छोडेको उदाहरण दिँदै बरु काँग्रेसलाई क्षेत्र छाडेको छ तर राजपा नेपालसँग तालमेल नगरेको गुनासो गरिएको छ ।  सुनसरीमा राजपा नेपालले चारवटै क्षेत्रमा र फोरम नेपालले तीन ठाउँमा उम्मेदवारी दिएको छ ।  सुनसरीका राजपा नेपालका केन्द्रीय प्रवक्ता सन्तोष मेहताले सबै ठाउँमा तालमेल गर्ने सहमति भएकोमा छलफल चालिरहेकै बेला फोरम नेपालले उम्मेदवारी घोषणा गरेका कारण अन्य प्रदेशमा तालमेल नभएको दाबी गर्नुभयो तर फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादव (मोरङ) ले अरू ठाउँमा के भयो थाह नभएको तर मोरङमा तालमेल गरौँ भनी बोलाउँदा राजपा नेपालका नेताहरू बैठकमा समेत नआएको दाबी गर्नुभयो ।
राजपा नेपालका उपाध्यक्ष सूर्यनारायण गणेशले झापामा तालमेल गर्न केन्द्रबाट कुनै निर्देशन वा सहमति नभए पनि यहाँ स्थानीय स्तरमा तालमेल गरेको बताउनुभयो ।  नवलपरासी २ मा पनि  स्थानीय स्तरमा तालमेल भएको राजपा नेपालका गोविन्द चौधरीले बताउनुभयो ।  केन्द्रबाट पूरै जिल्लामा तालमेल गरेको भए थुप्रै जित्ने सम्भावना हुनसक्थ्यो भन्दै उहाँले त्यस्तो नगरेको गुनासो गर्नुभयो ।  उहाँले भन्नुभयो, पार्टीका ठूला नेताले आफूलाई सुरक्षित राख्न मात्र तालमेल गर्नुभएको हो, अरूको बारेमा केही सोचिएको छैन । ’  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने