मोर्चा फकाउँदै प्रधानमन्त्री

काठमाडौं, वैशाख १ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् । उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन संवाद गरी सहमतिमा आइदिन आग्रह गरे । सरकारले आफूहरूसँग गरेको सहमतिभन्दा विपरीत रहेर नयाँ संशोधन प्रस्ताव दर्ता गराएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले वार्ता र संवादमा बसी समस्याको समाधान खोज्न नेताहरूलाई आग्रह गरेका हुन् ।

संविधान संशोधनको नयाँ प्रस्ताव अगाडि बढाउँदा मोर्चा सहमतिमा आउने अपेक्षामा प्रधानमन्त्री थिए । तर, मोर्चा नेताहरूले प्रधानमन्त्रीको अपेक्षाभन्दा विपरीत चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने निर्णय गरेपछि उनले मोर्चा नेताहरूसँग पुनः छलफलको पहल सुरु गरेका हुन् । त्यही क्रममा उनले यादव, महतोलगायतका मोर्चा नेताहरूसँग संवाद अगाडि बढाउन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘तपाईंहरूसँगको सल्लाहकै आधारमा नयाँ संशोधन प्रस्ताव संसद्मा दर्ता गराएका हौँ, अहिले प्राप्त भएका उपलब्धि तपार्इं हाम्रा साझा हुन्,’ प्रधानमन्त्रीले मोर्चा नेताहरूसँग गरेको टेलिफोन संवादमा व्यक्त भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘तपार्इंहरू आन्दोलनमा जाने, चुनावमा भाग नलिने भन्ने सुनेँ, त्यसो नगर्नुहोस्, नमिलेका विषय छन् भने अझै छलफल गरेर समस्याको समाधान खोजौँ ।’ तर, मोर्चा नेताहरूले भने प्रधानमन्त्रीको त्यस्तो आग्रहमा पुरानै अडान दोहोर्याएका थिए ।

‘सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव हाम्रा लागि ल्याइएन, त्यसले समस्या समाधान गर्दैन,’ सद्भावना पार्टी अध्यक्ष महतोले भने । उनले प्रधानमन्त्रीलाई अहिले दर्ता भएको संशोधन प्रस्ताव आफूहरूसँगको सहमतिभन्दा फरक आएको भन्दै आपत्ति जनाएको बताए । ‘यो संशोधन हाम्रा लागि ल्याइएको होइन, हामीसँग सल्लाह गरेर ल्याइएको पनि होइन । अहिलेको चुनावले समस्या समाधान पनि गर्दैन । पहिला समस्या समाधान गर्नुहोस् अनि चुनाव गरौँला,’ प्रधानमन्त्रीसँगको संवाद सुनाउँदै महतोले भने ।

सत्ता गठबन्धन दल र मधेसी मोर्चाका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलमा भएको सैद्धान्तिक सहमतिका आधारमा सरकारले नयाँ संशोधन प्रस्ताव दर्ता गरेको सरकारको भनाइ छ । तर, मोर्चा नेताहरूले त्यसमा भएको सहमति सरकारले उल्लंघन गरेको आरोप लगाएका छन् । संशोधन प्रस्तावमा सहमति जुटाउन सत्ता गठबन्धन र मोर्चा नेताहरूले कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राप्रपाका दीपक बोहरा र मोर्चातर्फबाट सद्भावना नेता लक्ष्मणलाल कर्ण, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र पेशल ढकाल रहेको कार्यदल गठन गरेको थियो । त्यही कार्यदल तहमा जुटेको सहमतिका आधारमा संसद्मा रहेको संशोधन प्रस्ताव फिर्ता लिई नयाँ संशोधन प्रस्ताव दर्ता गराएको सरकारको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने