May 20, 2017

महिलाका कुरा : नेतृत्वमा धमाधम महिला

women-leaderजेठ ६, काठमाडौं – पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला नगरप्रमुखमा चुनिइसकेका छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

जुम्ला चन्दननाथ नगरपालिकामा २८ सय ६ मत हासिल गरेर कान्तिका सेजुवालले नेपालकै पहिलो महिला नगरप्रमुखको परिचय बनाउनुभएको छ । कांग्रेसकी कान्तिकाले एमालेका शान्तिलाल महतलाई सात सय ११ मतले पराजित गर्नुभएको हो । करिब दुई वर्षअगाडि भएको विमान दुर्घटनामा पति गुमाएपछि उहाँ राजनीतिमा लाग्नुभएको हो ।

टिकट पाएपछि आलोचित हुनुभएकी कान्तिकालाई यो जितले खुसीसाथै चुनौती पनि थपेको छ । उहाँले आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यले पाँचबर्से अल्पकालीन र २० बर्से दीर्घकालीन योजना तयार पार्नुभएको छ । उज्यालो, हराभरा र स्वच्छ–स्वस्थ नगर निर्माण गर्नु मुख्य उद्देश्य रहेको उहाँ बताउनुहुन्छ । संविधानले महिलालाई अधिकार दिए पनि महिलाका लागि विभेदमुखी सामाजिक संरचना तोड्न उहाँले महिलालाई सशक्त ढंगले अगाडि बढाउने लक्ष्य राख्नुभएको छ । शिक्षा क्षेत्रमा २६ वर्षको अनुभव भएकी कान्तिका सबै अभिभावकका लागि छोराछोरीलाई स्कुल पठाऊँ भन्ने अभियान सुरु गर्दै हुनुहुन्छ । अहिलेको निर्वाचनमा महिलाको सहभागितालाई उत्साहजनक मान्नुहुने उहाँ राजनीतिमा महिलालाई सशक्त बनाउन उनीहरूलाई तालिम, एक्स्पोजर भिजिट र नेतृत्व विकासको अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ ।

नवलपरासी कावासोती नगरपालिकाबाट प्रमुख पदमा विजयी हुनुभएकी एमालेकी चन्द्रा पुनलाई जितसँगै जिम्मेवारीबोध पनि भएको छ । समृद्ध नेपाल र सुखी नेपाली आफ्नो दलकै नारा भएकाले यही भावमा रहेर आफूले काम गर्ने उहाँले बताउनुभयो । आफूले स्थानीय घोषणापत्रमा उल्लेख गरेका विषयलाई पनि कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता उहाँको छ । आर्थिक स्रोतसाधनले भ्याएसम्म आफ्नो नगरमा शिक्षा, बाटो, पुललगायत पूर्वाधार विकासका साथै कृषिलाई आधुनिकीकरण गर्नेमा विशेष ध्यान दिने उहाँको योजना छ ।

आफ्नो नगरमा अझै पनि धेरै महिला असाध्यै पिछडिएको वर्गमा पर्ने भएकाले विभिन्न सीपमूलक र आयआर्जनमूलक तालिम सञ्चालन गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने उहाँको लक्ष्य छ । झन्डै ३५ वर्षअगाडि राजनीतिमा लाग्नुभएकी उहाँ हाल एमालेको ४ नं प्रदेश समिति सदस्य हुनुहुन्छ । राजनीतिलगायत अन्य क्षेत्रमा महिलालाई नेतृत्व तहमा पु¥याउनुपर्छ भन्नेमा कटिबद्ध उहाँले आफूले नगरप्रमुख जितेर मात्रै होइन, पार्टीमा लागेदेखि नै महिला सशक्तीकरणमा जोड दिँदै आएको प्रस्ट पार्नुभयो । स्थानीय तहमा महिलाको ४० प्रतिशत सहभागिता संविधानले नै दिएको अधिकार भएको उल्लेख गर्दै उहाँले अहिलेकै निर्वाचनमा नपुगे पनि यसलाई प्राप्त गर्ने प्रयासमा निरन्तर कार्यरत रहने विश्वास दिलाउनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका प्रमुखमा निर्वाचित सीमा क्षेत्री शिक्षकबाट अवकाश भएपछि राजनीतिमा लाग्नुभएको हो । एमालेकी प्रदेश समिति सदस्य सीमाले कांग्रेस नेता तुलसीराम रेग्मीलाई पराजित गर्नुभएको हो । हालसम्मको नतिजाअनुसार नगरपालिका मात्रै नभई केही गाउँपालिकामा पनि महिलाले नेतृत्व हातपारेका छन् । एमालेका तर्फबाट रसुवाको कालिका गाउँपालिका प्रमुखमा सीताकुमारी पौडेल र म्याग्दीको धौलागिरि गाउँपालिकामा थमसरा पुन विजयी हुनुभएको छ भने कांग्रेसका तर्फबाट नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डेले जित्नुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट सिन्धुली सुनकोसी गाउँपालिकाको प्रमुखमा दीपा दाहाल बोहरा विजयी हुनुभएको छ । सल्यानको कुमाखमालिका गाउँपालिकामा पनि एमालेका भैरवबहादुर शाहलाई एक हजार पाँच सय ४५ मतको फराकिलो अन्तरले माओवादी केन्द्रकै दिलमाया बुढामगरले जित्नुभएको छ । माओवादी युद्धताका जनसरकार प्रमुख रहनुभएकी उहाँ ६ नं प्रदेशमै गाउँपालिका अध्यक्ष चुनिनेमा एक्ली महिला हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । वडा सदस्यका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेकोमा एक दलित महिलासहित २ महिला कोटा पनि आरक्षण गरिएको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३९ प्रतिशत महिला छन् । पहिलो चरणको निर्वाचनमा ३० हजार पाँच पुरुष र १९ हजार तीन सय ३२ महिलाले उम्मेदवारी दिएका थिए ।

कानुनले नै बाध्यकारी बनाइदिएका कारण यस निर्वाचनमा महिलाको उम्मेदवारी मात्र नभई जित पनि उत्साहजनक भएको बागलुङ गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचामगर बताउनुहुन्छ । चर्चामा रहेका युवा उम्मेदवारमध्येकी ३० वर्षीया रेणुकाले अवसर नपाएरै नेपाली महिला र युवती ठाउँमा आउन नसकेका रहेछन् भन्ने निर्वाचनले प्रमाणित गरिदिएको बताउनुभयो । २०६५ सालमा सरस्वती क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै राजनीतिक जीवन सुरु गर्नुभएकी उहाँले एमबीएस सक्नुभएको छ भने कानुनमा स्नातक अध्ययनरत हुनुहुन्छ । राजनीतिलाई पेसा बनाउनु हुँदैन भन्ने अभियानसाथ नौजना युवा मिलेर खोलेको संस्था उदाउँदो शक्ति नेपालकी उहाँ अध्यक्ष हुनुहुन्छ ।

निर्वाचित जनप्रतिनिधिले यही काम गर्ने हो भनेर सरकारले स्पष्ट नीति निर्देशन नदिइसकेकाले पहिले आफूले काम गर्ने वातावरण नै तयार पार्ने कांग्रेसकी रेणुकाले बताउनुभयो । त्यसपछि स्थानीय स्रोत र साधन जुटाएर समृद्ध गल्कोट निर्माणको सपना उहाँको छ ।

नेपाली राजनीतिमा युवा नेतृत्वका लागि अवसरका साथै चुनौती पनि भएको तर्क राख्नुहुन्छ सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी पौडेल । पत्रकारिताबाट राजनीतिमा लाग्नुभएकी ३२ वर्षीया लक्ष्मी राजनीतिमा युवा महिलालाई ल्याउन आफू प्रेरक बन्ने कोसिस गर्ने बताउनभयो । आजभन्दा पहिलेको कुनै पनि निर्वाचनमा सहभागी हुन नपाउनुभएकी लक्ष्मीले स्नातकोत्तर उत्तीर्ण गर्नुका साथै कानुनसमेत अध्ययन गर्नुभएको छ । आफ्नो अध्ययन र क्षमता प्रयोग गरेर काम गर्दै जाने क्रममा कसैलाई पनि अन्याय हुन नदिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

निर्वाचनमा विभिन्न पदमा भएको एकल महिलाको जितले समाजमा एकल महिलालाई हेरिने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको छ । जुम्लास्थित चन्दननाथ नगरपालिकाकी नगरप्रमुख कान्तिका हुन् वा तनहुँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना, सबैले एकल महिलाको सक्षमता साबित गर्नुभएको छ ।सुर्खेतको वीरेन्द्र नगरपालिकाबाट ‘एकल महिलाहरू’ रामकुमारी थापा, नुवाकोटको बेलबोट नगरपालिकाबाट इन्दिरा लोहनी, पवित्रा नेपाल, गंगा ढुंगाना र माइली दर्जीले जित हासिल गरेको मानवअधिकारका लागि एकल महिला समूहले जनाएको छ ।

रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रबाट चुनाव लडेकी प्रेमकुमारी सुनार केसी उपमेयरमा विजयी हुनुभएको छ भने उहाँका पति गोप्यश्वर केसीले वडा नं १० को अध्यक्ष पद जित्नुभएको छ । सार्की परिवारमा जन्मिएकी २६ वर्षीया दन्ता नेपाली (दर्शना) ले कालीकोटको तिलागुफा नगरपालिकामा चुनावी प्रतिस्पर्धामा उत्रिएर सबैभन्दा कान्छी उपप्रमुख बन्ने सौभाग्य पाउनुभएको छ । माओवादी केन्द्रले चुनावमा उठाएकी दर्शना हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । कांग्रेस उम्मेदवारलाई हराउँदै गोरखाको पालुङटार नगरपालिकाको उपप्रमुख पदमा २९ वर्षीया पम्फा बसेलले जित्नुभएको छ । उहाँ माओवादीकी पूर्वछापामार हुनुहुन्छ ।

पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा महिलाको जितलाई उत्साहजनक मान्नुहुन्छ महिला अधिकारकर्मी बन्दना राणा । संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य राणाले दक्षिणएसियामै राजनीतिमा महिला प्रतिनिधित्व बढी भएको देशका रूपमा नेपालको तथ्यांक सिडमा प्रस्तुत गर्दा गर्वानुुभूति हुने बताउनुभयो । यस निर्वाचनमा पार्टीले महिलालाई प्रमुखमा धेरै नउठाए पनि उपप्रमुखमा जित्ने महिला आफ्नो क्षमता विकास गरेर अर्को निर्वाचनमा प्रमुख उठ्न आफैं सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने