पाँच पानी उद्योगविरुद्ध मुद्दा दायर ,सोह्र उद्योगमा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिसँगै इलाका प्रशासन बुटवल र उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले गत भदौ २ गते रूपन्देहीस्थित पिउने पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने कर्माचार्य मिनरल एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिमा अनुगमन ग¥यो । अनुगमनका क्रममा मापदण्डबमोजिम टायल नलगाएको, पानी भण्डारण गर्ने टैंकी स्टिलनेस स्टिलको नभएको, फिल्टर फाइबरको प्रयोग भएकोलगायत झण्डै आधा दर्जन कैफियत भेट्यो । मापदण्ड पालना नभएको पाइएपछि यो उद्योग सिलबन्दी गरिएको छ ।

बाँकेको मुक्तिनाथ ड्रिङकिङ वाटर इण्डष्ट्रिजले उत्पादन गर्ने पिउने पानीबारे गुनासो बढेपछि गत असोज ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, बाँके, गुण तथा नापतौल कार्यालय, उपभोक्ता अधिकारकर्मीको टोलीले उद्योगको अनुगमन ग¥यो । सो क्रममा उद्योगमा पूर्वाधार नभएको तथा लेबल नै टाँस नगरी बजारमा पानी पठाउने गरेको भेटियो । कैफियत भेटिएपछि यो उद्योगमा पनि सिलबन्दी गरेर बिक्री गर्न रोक लगाइएको छ ।

पिउने पानीजस्तो संवेदनशील विषयलाई कमाउको माध्यम बनाएर पानी उद्योगहरूले आमसर्वसाधारणको जीवनमा कुन हदसम्म खेलबाड गरिरहेका छन् भन्ने प्रतिनिधि घटना हुन्, माथिका दुई उदाहरण । पछिल्लो समय सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै पानी प्रशोधन तथा बिक्री वितरण गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । मापदण्ड पालनामा उदासीनता देखाएको भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले गत साउनयता मात्रै १६ वटा पानी उद्योगमा सिलबन्दी गरेर बिक्री वितरणमा रोक लगाएको छ । मापदण्ड पालना नगर्ने १६ वटै पानी उद्योग काठमाडौं उपत्यका बाहिरका छन् ।

यी हुन् मापदण्ड पालना नगर्ने पानी उद्योग 
धनुषामा रहेको दिव्य फुड एण्ड वेभरेजमा गत साउन ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमन गरेकोमा अनुज्ञापत्र नै नलिई पानी उत्पादन गरेको भेटिएको छ । कैफियत भेटिएपछि यो उद्योगमा सिलबन्दी गरिएको छ ।

त्यसैगरी परासीको शितल जल पानी उद्योग, त्रिवेणी अक्वा इण्डस्ट्रिज र साई वाटर इण्डस्ट्रिजले प्रशोधन गरेर बिक्री वितरण गर्ने पानी पनि मापदण्डविपरीत रहेको अनुगमनका क्रममा भेटिएको छ । रूपन्देहीको कर्माचार्य मिनरल एण्ड वेभरेज इण्डस्ट्रिज, बाँकेको कञ्चन मिनरल वाटर उद्योग, बाँकेकै मुक्तिनाथ ड्रिङ्किङ वाटर इण्डस्ट्रिज, कैलाली वाटर इण्डस्ट्रिज, न्यु एभरेस्ट अनुज उद्योग, टीकापुर र एक्वा कर्णाली अमृत एण्ड वेभरेज इण्डस्ट्रिज, कैलालीले पानी प्रशोधन गर्दा स्वच्छताको मापदण्ड पालना नगरेको विभागको भनाइ छ ।

एनकेडीजे वेभरेज एण्ड प्याकिङ उद्योग लम्की, डेली ड्रिङकिङ वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग, कौशल कञ्चन मिनरल्स, कञ्चनपुरब्लुवर्ड वाटर ट्रिटमेन्ट एण्ड सप्लायर्स, कञ्चनपुर र शिव शंकर वाटर एण्ड मल्टी प्रोडक्सन, कञ्चनपुरले पनि मापदण्ड पालनामा अटेरी गरेको विभागले जनाएको छ ।

थप पाँच उद्योगले प्रशोधन गरेर बिक्री गर्ने पानीमा त दूषित पदार्थ नै भेटिएको छ । शितल जल पानी उद्योग, नवलपरासी, कञ्चन मिनरल वाटर उद्योग, बाँके, यति वेभरेज प्रालि बनेपा, गौरीशंकर जीएस मिनरल वाटर बनेपा र प्रकृति जल उद्योग सुनसरीले प्रशोधन गरेर बिक्री वितरण गरेको पानीमा दूषित पदार्थ भेटिएको हो ।

यस्ता छन् कैफियत 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यस मातहतका कार्यालयले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीलगायतको संलग्नतामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ३४ वटा संस्था तथा उद्योगमा कैफियत भेटेपछि सिलबन्दी गर्दै बिक्री वितरण रोक्का गरेको थियो । जसमा १६ वटा त पानी उद्योग मात्र छन् । यसले अधिकांश पानी प्रशोधन उद्योगमा चरम लापरबाही रहेको देखाउँछ ।

विभागका अनुसार, कतिपय पानी उद्योग अनुज्ञापन नै नलिई सञ्चालनमा रहेको पाइएको छ । त्यस्तै, उपत्यकाबाहिरका अधिकांश पानी उद्योगले मापदण्डबमोजिम टायल वा पानी भण्डारण गर्ने टैंकी स्टिलनेस स्टिलको हुनुपर्नेमा सो अनुसार राखेका छैनन् । अटोमेटिक फिलिङ प्लान्ट हुनुपर्ने भए पनि त्यसो नगरी म्यानुएल फिलिङ प्रयोग गरिएको छ । पूर्वाधारबिनै पानी उत्पादन गरेको, लेबल टाँस नगरी बिक्री वितरण गरेको तथा स्वच्छताको मापदण्ड पालना गर्नुपर्ने भए पनि पानी उद्योगहरूले त्यसमा अटेरी गरेको विभागको भनाइ छ ।

पाँच पानी उद्योगविरुद्ध मुद्दा दायर 
दूषित र कम गुणस्तरको पानी प्रशोधन गर्ने पाँच पानी प्रशोधन उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको छ । विभागले गत साउन १ देखि कात्तिक मसान्तसम्म यी उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

दूषित पानी उत्पादन गर्ने शितल जल पानी उद्योग, नवलपरासीविरुद्ध कात्तिक २६ गते खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय भैरहवाले नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कञ्चन मिनरल वाटर उद्योग, कोहलपुरविरुद्ध पनि मुद्दा दायर भएको छ । दूषित पानी उत्पादन गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बाँके जिल्ला अदालतमा गत असोज ६ गते यसविरुद्ध मुद्दा दायर गरेको हो ।

उता, गौरीशंकर जीएस मिनरल वाटर बनेपाको प्रशोधित पिउने पानी न्यून गुणस्तरको भटिएपछि ०७७ साउन १५ मै जिल्ला प्रशासन कार्यालय काभ्रेमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । सुनसरीमा रहेको प्रकृति जल उद्योगले दूषित पानी बिक्री वितरण गरेको पुष्टि भएपछि यसविरुद्ध पनि मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुनसरीले गत कात्तिक २८ गते सुनसरी जिल्ला अदालतमा यसविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

पाँच उद्योगविरुद्ध मुद्दा  दायर गरेको विभागले मापदण्ड पालना नगरेका १६ पानी उद्योगमा भने सिलबन्दी तथा बिक्री वितरणमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्