जोगिएला देउवाको साख ? : कुनै पनि चुनावमा देउवाले हारेका छैनन्

 

अमरगढी, डडेल्धुरा – हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् ।

यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्‍याइरहन त्यत्ति सजिलो छैन । देउवाको गृहजिल्ला हो डडेल्धुरा । अरू पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसका झन्डा जेलिइसकेका छन् । त्यसमा पनि अझ कांग्रेसभित्र चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको खबर आजको अन्नपूर्णको पहिलो पृष्ठमा छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो । अरू पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका बेला देखियो । अहिले पनि डडेल्धुराका विभिन्न गाउँपालिकाका अध्यक्षसहित वडासमेत बागी उम्मेदवारको चाङ छ । विभिन्न ठाउँमा १० जनाभन्दा कांग्रेसकै उम्मेदवारले ‘स्वतन्त्र’को लेपमा बागी उम्मेदवारी दिएका छन् ।

राजनीतिमा पाइला राखेदेखि भएका कुनै पनि चुनावमा देउवाले चुनाव हारेका छैनन् । ०४८ सालको आमचुनावदेखि अनवरत चुनाव जित्दै आएका देउवाको त्यो साख स्थानीय निकायको चुनावी परिणामले थेग्न सक्छ कि सक्दैन ? भन्ने बहस अहिले जिल्लाभरि फैलिएको छ ।

जिल्लाकै सदरमुकाम रहेको अमरगढी किल्लाको आफ्नै इतिहास छ । अंग्रेजसँग लडिएको अमरगढी किल्ला, यस क्षेत्रका पहिलो प्रशासक अमरसिंह थापाको सम्झनामा ०५३ सालमा अमरगढी नगरपालिका स्थापना भएको हो । डडेल्धुराको यो इतिहाससँगै देशमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको इतिहास पनि जोडिएको छ । अहिलेसम्म कुनै पनि चुनावमा डडेल्धुराबाट कांग्रेस अनि देउवाले हार्नुपरेको छैन । र, अहिले देशको सबैभन्दा ठूलो पार्टी र प्रधानमन्त्रीकै जिल्ला भएका कारण पनि डडेल्धुरामा सबैको नजर परेको छ ।

सम्भवतः प्रधानमन्त्री भइसकेपछि पहिलोपटक देउवा लामो समयसम्म बस्न गृहजिल्ला आउनुभएको छ । शनिबार गृहजिल्ला टेक्नुभएका उहाँ अब असार १४ गते मतदान गरेर मात्रै फर्किने कार्यक्रम छ । उहाँको आफ्नै घरनजिक आसखर्क उमावि मतदान केन्द्रमा उहाँले मतदान गर्नुहुनेछ । शनिबार उहाँले जिल्लाकै सबैभन्दा धेरै १७ हजार ५ सय ३२ मतदाता भएको परशुराम नगरपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्नुभएको छ । त्यसपछि पनि मतदानअघिसम्म कार्यकर्ता भेटघाट चलिरहनेछ ।

जिल्लाकै सदरमुकाम अमरगढी नगरपालिका सबैभन्दा धेरै कांग्रेस समर्थक भएको ठाउँ हो । यो मात्रै होइन, जिल्ला नै कांग्रेसको गढका रूपमा चिनिन्छ । तर, टिकट वितरणमा ढिलाइ अनि टिकट वितरणपछिको असन्तुष्टि अनि बागीहरूले चुनौतीलाई नजिकैको प्रतिस्पर्धी एमालेले नियालिरहेको छ । जिल्लामा निकै आक्रामक चुनावी अभियान चलाइरहेको छ, नेकपा माओवादी केन्द्रले पनि तर कांग्रेसको मुख्य प्रतिस्पर्धा भनेकै एमालेसँग देखिन्छ । एमाले पनि कांग्रेसभित्रको त्यही असन्तुष्टिलाई समातेर चुनावी परिणाम हात पार्ने दाउमा छ ।

कुल ११ हजार ७ सय ८३ मतदाता रहेको अमरगढी नगरपालिकामा कांग्रेसले डिल्लीराज जोशीलाई मेयरको उम्मेदवार बनाएको छ । पार्टीका पूर्वजिल्लासभापतिसमेत भइसक्नुभएका जोशी यहाँका समाजसेवीका रूपमा पनि चिनिनुहुन्छ । पर्यावरण संरक्षणमा लाग्नुभएका उहाँले पहिलोपटक गुराँसको फूलबाट जुस निकालेर राष्ट्रिय पुरस्कारसमेत पाइसक्नुभएको छ । तर, पार्टीले टिकटका लागि धेरै लामो सूची केन्द्रमा पठाएको थियो ।

उहाँले टिकट पाइसकेपछि कांग्रेसको असन्तुष्टि सडकमै पोखियो । जिल्लाका सन्दर्भमा धेरै विवाद भएपछि देउवा आफैँले आफ्नो जिल्लाको टिकटको टुंगो लगाउनुभएको थियो । उम्मेदवारी घोषणा भएको केही दिनसम्म पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ताले सडकमा देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए । ‘यसपालि पनि हाम्रो इतिहास डगमगाउँदैन, अलिअलि असन्तुष्टि त भइहाल्छ नि त्यसमा पनि अझ कांग्रेसभित्र’, कांग्रेस डडेल्धुराका एक जिल्ला नेताले हाँस्दै भने, ‘पार्टी सभापति आइसक्नुभएको छ, अब सबै शान्त हुन्छ, सडकमा उफ्रे पनि, जे गरे पनि आखिर कांग्रेसीको भोट रूखमै जाने हो, त्यसले पार्टीको साख गुम्दैन ।’

कांग्रेसको मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको एमालेबाट अमरगढी नगरपालिको मेयरका लागि युवामाझ लोकप्रिय नेता विपीन ओझा(विश्वेश्वरप्रसाद) चुनावी मैदानमा हुनुहुन्छ । एमालेको अमरगढी नगर कमिटीका अध्यक्षसमेत रहनुभएका ओझा डडेल्धुरा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने