June 3, 2017

क्यानेडियन पिआरको पछि लाग्दा…, यसरी डुब्यो सपना र पैसा

जेठ २०, काठमाडौं – महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोकेर उनीहरू केही दिनअघि दिल्ली उडेका थिए । दिल्ली गएपछि दलालहरूको चक्करमा फसेर काठमाडौं फर्किएका उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् ।

कमजोर आर्थिक अवस्था भएका उनीहरूमध्ये एकले १८ लाख र अर्काले दलाललाई १६ लाख रुपैयाँ बुझाएका थिए । दलालहरूले धेरै सपना देखाएर आफूहरूलाई ठगेको उनीहरूले बताएका छन् ।

एसपी ज्ञवालीको कार्यकक्षमा दैनिक उनीहरूजस्तै युवाहरू क्यानाडाको सपनामा लाखौँ ठगिएर पुग्ने गरेका छन् । ‘केही वर्षअघि अमेरिका जान भनेपछि नेपालीहरू मरिहत्ते गर्थे, अहिले त्यस्तै अवस्था क्यानाडा जानका लागि छ,’ एसपी ज्ञवाली भन्छन्, ‘क्यानाडा जान भनेपछि आ“खा चिम्लिएर मान्छेहरूले पैसा फालेको देख्दा अचम्म लाग्छ । यसरी ठगिएको भन्दै हरेक दिन उजुरी आउने गरेको छ ।’ तुलनात्मक रूपमा भिसा केही सहज भएकाले क्यानाडा पठाउने भन्दै ठगी व्यापक भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

दम्पतीको ५१ लाख गुम्यो
सुनसरीका एक दम्पतीको क्यानाडा जाने सपनामा ५१ लाख गुमेको छ । उनीहरू पनि एक दलालमार्फत पिआर लिएर क्यानाडा जान खोजेका थिए । भिसा नै देखाएपछि लोभिएर उनीहरूले पैसा दिए । तर, त्यो भिसा नक्कली भएको खुलेपछि उनीहरू पनि प्रहरीमा पुगेका छन् । उनीहरूले ऋण गरेर नै दलाललाई पैसा बुझाएका थिए । भिसा नै आएपछि विश्वस्त भएर पैसा दिँदा आफूहरू फसेको उनीहरू बताउँछन् ।

एक वर्षयता क्यानाडाको सपनामा सयौँ व्यक्ति ठगिएको प्रहरी अधिकारीहरू बताउँछन् । राम्रो आर्थिक अवस्था भएका व्यक्तिहरूसमेत क्यानाडामा गएपछि सुख हुने भ्रममा ठगिएका छन् । इन्टरनेटमा आउने सबै कुरा विश्वास गर्ने प्रवृत्तिले धेरैजना ठगिएको एसपी श्याम ज्ञवाली बताउँछन् । सक्कलीजस्तै देखिने भिसा देखाएर संगठित गिरोहले ठगी गरेका हुन् । धेरैले गैरकानुनी बाटोबाट जाँदा समस्यामा पर्न सकिन्छ भन्नेसमेत ख्याल नगरी पैसा बुझाउने गरेका छन् ।

केही विदेशी विश्वास दिलाएर ठग्न नेपाल नै आउने गरेका छन् । गत फागुनमा प्रहरीले भारतीय मूलका क्यानेडियन नागरिक भेलेनटचेरी जेम्सकुटीलाई पक्राउ गरेको थियो । पुरानो बसपार्कस्थित भिसा एन्ड इमिग्रेसन सर्भिसमार्फत उनले ठगी गरेका थिए । मुख्य नाइकेहरू विदेशमै बस्ने र उनीहरूका एजेन्टले पनि योजनाबद्ध रूपमा ठग्ने भएकाले ठगीमा संलग्न धेरै फरार छन् ।

मुम्बई र दिल्लीमा गिरोह
प्रहरीका अनुसार क्यानाडा पठाउने नाममा ठगी गर्ने गिरोहका नाइकेहरू भारतको दिल्ली र मुम्बईमा छन् । उनीहरूले नेपालमा आफ्ना एजेन्टहरू फैलाएर ठगी गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

रवि लुथ्रा नामक भारतीय नागरिकको गिरोहले तीन सयभन्दा धेरैलाई ठगी गरिसकेको छ । सो गिरोहका राज भन्ने विजेन्द्रसिंह यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको, तर मुख्य नाइकेहरू फरार रहेको काठमाडौं परिसरका डिएसपी सिद्धिविक्रम शाहले बताए । सो गिरोहले नेपालीको सात करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

त्रिपुरेश्वरमा वे टु क्यानाडा इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक प्रकाश बज्राचार्यलाई मात्र सो गिरोहले करिब तीन करोड रुपैयाँ ठगी गरेको छ । गिरोहमा संलग्न गोपाल नेपाल, सुलभ क्षेत्री, नरेन्द्र पण्डित, प्रेरणा नायकलगायत पनि फरार छन् । पक्राउ परेका सिंहमाथि ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको डिएसपी शाहले बताए ।

क्यनाडापछि जापान र युरोप
क्यानाडापछि जापानमा पठाइदिने भनेर ठगीका घटना धेरै रहेको एसपी श्याम ज्ञवालीले बताए । जापान जान लाखौँ बुझाएका बैंकक तथा भियतनाम पुगेर फर्कने गरेका छन् । त्यस्तै, युरोपियन मुलुक पठाइदिने भनेरसमेत ठगी हुने गरेको छ । आफूहरूको उच्च व्यक्तिहरूस“ग चिनजान रहेको र कार्यक्रममा सहभागी हुन भिसा लगाउने भनेर विश्वासमा पारी ठगी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने