April 10, 2017

काठमाडौं महानगरमा मेयरका उम्मेद्वार को को ?

create_thumbकाठमाडौं, चैत २८ – आउँदो वैशाख ३१ गते स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् । काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले यहाँको मेयर बन्न विशेष गरी तीन ठूला पार्टीभित्र उम्मेद्वार बन्न होड पनि सुरु भइसकेको छ ।

देशको राजधानी र सर्वाधिक चर्चाको केन्द्रमा रहने काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बन्न ठूला पार्टीभित्र प्रतिस्पर्धा भइरहेको छ । ३२ वटा वडा भएको महानगरमा दुई लाख ७४ हजार चार सय ३८ मतदाता छन् भने तीन सय ७९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

२०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका पिएल सिंहले काठमाडौंको मेयरमा बाजी मार्नुभएको थियो भने २०५४ को चुनावमा एमालेका केशव स्थापित विजयी हुनुभएको थियो ।

१९ वर्षपछि वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । काठमडौंका नौवटा निर्वाचन क्षेत्रको मुख्य मुख्य भाग महानगरभित्र पर्दछ । २०७० सालको चुनावमा नौमध्ये आठवटा क्षेत्रमा कांग्रेस र एउटा मात्र एमालेले जितेको थियो ।

कांग्रेस

आउँदो स्थानीय चुनावमा कांग्रेसबाट मेयरको उम्मेद्वार बन्न चाहने ६ जनाभन्दा धेरै छन् । स्वास्थ्य मन्त्री रहेका कांग्रेसका युवा नेता गगन थापाको नाम सर्वाधिक चर्चामा रहे पनि उहाँले आफू उम्मेद्वार नबन्ने बताउनुभएको छ । काठमाडौंबाटै निर्वाचित उद्योगमन्त्री समेत रहेका नविन्द्रराज जोशीको चर्चा पनि मेयरमा उत्तिकै छ ।

त्यस्तै भीमसेनदास प्रधान, तीर्थमान डंगोल, राजुराम जोशी, नरोक्तम वैद्य, प्रतिमान रञ्जितलगायका कांग्रेस नेताहरुले पनि उम्मेद्वारीका लागि सक्रियता बढाएका छन् । उपमेयरमा भने पूर्व महामन्त्रीप्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको नाम निश्चित भइसकेको कांग्रेस कार्यकर्ता बताउँछन् । उपत्यकामा सिंहको प्रभाव बलियो भएकाले उहाँ पक्षीय नेताहरुले नै टिकट पाउने सम्भावना छ ।

जुन पार्टी वा उम्मेद्वारले काठमाडौंलाई व्यवस्थित बनाउने योजना ल्याउँछन् उसैले चुनावमा बाजी मार्ने संभावना बढी देखिन्छ । शिक्षित मतदाताको वर्चस्व रहेको काठमाडौंमा स्थानीय र नेवार समुदायको उम्मेद्वारलाई मतदाताले बढी पत्याउने विश्लेषकहरु बताउँछन् ।

एमाले

काठमाडौं महानगरपालिकाको उम्मेद्वार बन्न एमालेभित्र पनि निक्कै प्रतिस्पर्धा छ । एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि सचिव योगेश भट्टराईको नाम सबैभन्दा बढी चर्चामा छ । राजनीतिक प्रभाव र व्यवस्थापनका हिसाबले जटिल काठमाडौंको उम्मेद्वार एमालेले केन्द्रीय नेताहरुबाटै बनाउने संभावना प्रवल छ ।

शाक्य र भट्टराईबाहेक नेताहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, सानु श्रेष्ठ, वसन्त मानन्धर, बिना श्रेष्ठको नाम पनि उत्तिकै उठिरहेको छ । २०५४ सालमा एमालेका तर्फबाट मेयर जितेर माओवादी केन्द्र हुँदै अहिले फेरि एमालेमै फर्किएका केशव स्थापितलाई उम्मेद्वार बनाउनु पर्ने आवाज पनि उत्तिकै उठिरहेको छ ।

महानगरपालिकाको उम्मेद्वार स्थायी समितिले नै टुंगो लगाउने निर्णय गरेकाले पार्टीका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्न उम्मेद्वारका आकांक्षी सक्रिय छन् । तर चुनाव नजिकिएसँगै एमाले काठमाडौंमा बढेको विवादले उम्मेद्वार छनौटको विषय झन पेचिलो बनेको छ ।

माओवादी केन्द्र

माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार बन्न चाहनेको संख्या कांग्रेस र एमालेको तुलनामा कम देखिएका छन् । माओवादीबाट पोलिटब्युरो सदस्य एवं महानगर इञ्चार्ज सर्वोत्तम डंगोल, ३ नम्बर प्रदेशका इञ्चार्ज हितमान शाक्य, हिमाल शर्माको चर्चा भइरहेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुत्री रेणु दाहालले पनि काठमाडौंमा उम्मेद्वारी दिने बहस भए पनि उहाँको मतदता नामावली चितवनमा भएको कारण उहाँले काठमाडौंमा उम्मेद्वार बन्न पाउनु हुन्न । माओवादी निकट स्रोतका अनुसार डंगोल र शाक्यमध्ये एकजनाले टिकट पाउनेछन् । त्यस्तै राप्रपाले केन्द्रीय सदस्य राजाराम श्रेष्ठलाई टिकट दिने निश्चित जस्तै छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने