हो, हिसिला भ्रष्टाचारी नै हुन्!

भान्सामै रहनुपर्ने वा श्रीमान्-छेउ बसेर मौनधारण गर्नुपर्नेमा उनी किन जान्छिन् नारा–जुलुसमा?



नयाँ शक्ति नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमि

नयाँ शक्ति नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमि
योपेश ब्लगस्पट
 

केही दिन अगाडि हिसिला यमिले सडकमा लगाएको नारालाई लिएर सामाजिक सन्जालमा ‘राष्ट्रवाद’को पहिरै चलेको छ। फेसबुक–ट्वीटरमा देश बचाउन मानिसहरू लामबद्ध उभिए, त्यसमा पनि ‘बौद्धिक’ मानिएकैहरू। कतिपय फेसबुक टिप्पणी यति घीनलाग्दा र यति हीनतर छन्, तिनले कुनै पनि सभ्य मानिसको रौँ–रौँ उठ्छन्।

जे–जे सजिलो, त्यही लगायो– फ्याङ्लै फुङ्लै। अनि शृंगार नि? के को शृंगार हुनु! न लाली छ, न पाउडर!

प्रविधिमा पहुँच भएका अधिकांश नेपाली पुरूषहरू यमिमाथिको यस्तो टिप्पणी हेरेर रमाइरहेका देखिन्छन्। एउटी महिलालाई निम्नस्तरको गाली र शाब्दिक–मानसिक दुव्र्यवहारबारे नाम चलेका कुनै पनि अधिकारकर्मी बोलेका देखिएनन्। सबैतिरको निशानामा हिसिला यमि नै परिन्। सार्वजनिक परिचय भएका एक जना पुरूषले त हिसिला यमिलाई ‘चाकु बेच्ने पसले’ बनाउन बाबुराम भट्टराईलाई सल्लाह दिए। कतिले उनको बोली र पहिरनलाई फेरि व्यंग्यको विषय बनाए।

निर्वाचन आयोगअगाडि उनले लगाएको ‘यो देश खारेज गर’ नारा उनीमाथि पछिल्लो आक्रमणको वहाना थियो। तर हिसिलामाथिको यो पहिलो आक्रमण होइन, आक्रमण–शृङ्खला पछिल्लो कडी मात्रै हो। उनले अनेक प्रकारका आरोप–आक्रमण निरन्तर झेलेकी छिन् र त्यसैले उनलाई बलियो पनि बनाउँदै लगेको छ। उनलाई ‘दक्षिण एसियाकै भ्रष्ट’ महिला भनेर पनि प्रचार गरियो। नेवारी लवजको उनको बोलीमाथि निम्नस्तरको ठट्टामजाक ‘सधैँ’ चलिरहेकै छ। अझ त्यसमा राजनीतिक दलका नेता–कार्यकर्ता सबैभन्दा बढी संलग्न छन्।

निर्वाचन आयोगमा धर्नाका बेलामा प्रहरी धरपकडमा हिसिला यमि

निर्वाचन आयोगमा धर्नाका बेलामा प्रहरी धरपकडमा हिसिला यमि

जब हिसिला पहिलोचोटि मन्त्री भइन्, उनका काम, बोली, जीवनशैली मजाकको विषय बनाउन थालिए। पटक–पटक सञ्चारमाध्यमदेखि उनकै पार्टीभित्र समेत उनी आलोचनाको पात्र बनिन्। यसको उच्च रूप देखिएको थियो, डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा (जो नातामा उनका श्रीमान् हुन्)। कतिले त ‘बाबुरामजस्तो स्वच्छ छवि’ भएको व्यक्तिलाई हिसिलाले ‘बदनाम’ बनाइन् भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लेखे–बोलेको पनि देख्न–सुन्न पाइयो। उनी संलग्न तत्कालीन पार्टीभित्र र बाहिर समेत ‘भ्रष्टाचार’ गरेर पैसा सोहोरेको, ‘धन थुप्राएको’ पनि भनियो।

भ्रष्टाचारको आरोप पुष्टि भई जेल सजाय काटेर बाहिर निस्कने ‘राजनीतिक पुरूष’ बीसौँ किलोको माला र बाजागाजासहित स्वागत गरिन्छन् र सञ्चारमाध्यमहरू त्यसैको सदर गर्छ। अनि हाम्रो समाजमा त्यो टिप्पणीको विषय बन्न छाड्छ। तर पुष्टि नभएका आरोप र अदालतबाट सफाइ पाइसकेका मुद्दामा हिसिला यमि भने अहिले पनि दुष्प्रचारित भइरहेकी हुन्छिन्।

समाज यही कुरामा विभाजित छ। पुरुषले अपराधै गरे पनि त्यो ‘शान’मा परिणत भइदिन्छ, महिलाको सार्वजनिक भूमिका मात्रै पनि सही–नसक्नुको ‘अपराध’ हुन्छ। पुरूषप्रधान सामाजिक संरचनाले महिलाको सार्वजनिक जीवनलाई पनि ‘कलंकयुक्त’ देख्न थालिहाल्छ।

पुरुष छ भने गम्भीर अपराधी पनि छाती ठोकेर हिँडिरहेको हुन्छ, समाज त्यसलाई तुरुन्तै पचाइदिन्छ। बलात्कारी पुरूष अपमानित भइरहेको कहीँ देखिन्न, पीडित महिला बरू सेकेन्ड–सेकेन्डमा अपमानित भइरहनुपर्छ। जो अपराधको शिकार भएकी हुन्छे, त्यही महिलालाई समाजले दुव्र्यवहार, बलात्कार र ठट्टा गर्न लायकको वस्तु ठान्छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालले पनि यसैलाई साथ दिएको हुन्छ। महिलालाई समाजले मान्छे होइन, त्यस्तो वस्तु ठान्छ, जसलाई पुरूषले जसरी व्याख्या गरिदिए पनि हुन्छ, जसरी उपयोग गरे पनि हुन्छ, ऊ पुरूषको मनोरञ्जन–योग्य वस्तु हो।

हो, हिसिला यमि अनुशासित महिला होइनन्। उनी यो देशकी नेता, पूर्वमन्त्री वा राजनीतिक योद्धा पनि होइनन्, नेपाली समाजको दृष्टिमा उनी अनुशासन–द्रोही र भ्रष्टाचारी महिला नै हुन्।

उनले नेपाली पुरातन समाजले निर्माण गरेका दायरा तोडेकी छिन् र बाहिर आफ्नै संसार निर्माण गरेकी छन्। नेपाली समाजको पीँधमा दबाइएका गरिब र महिलालाई राज्य सञ्चालनमा र आर्थिक अधिकारमा समावेश गराउने सशस्त्र लडाइँको उनी अग्रपंक्तिमा थिइन्। एक त महिला, त्यसमा पनि जनजातिकी छोरी, आफ्नो समुदायको चेतना उठाउन पनि उनी लडिन्, शासक वर्गको चेतनाविरुद्ध पनि उनी जुधिन्। शान्ति–प्रक्रिया सुरु भएपछि उनी आफ्नो भूमिका र योग्यताकै कारण मन्त्रीमण्डलमा पुगेकी थिइन्। निरन्तरको राजनीतिक आन्दोलनले उनलाई त्यहाँ पुर्‍याएको थियो, जहाँ यो देशका निकै कम महिला मात्रै पुगेका छन्। तर समाजले उनको योग्यतालाई योग्यतै मानेन।

गिरफ्तारी दिँदै हिसिला यमि र बाबुराम भट्टराई लगायत नेताहरु

गिरफ्तारी दिँदै हिसिला यमि र बाबुराम भट्टराई लगायत नेताहरु

राजनीतिक परिवर्तनले मात्रै हुँदैन रहेछ, सांस्कृतिक परिवर्तन पनि शक्तिशाली रहेछ। हिसिला लडेको युद्धकै कारण आज समावेशिता स्थापित भएको छ, तर धेरैलाई यो आँखाको कसिंगर भएको छ। हिजो भुइँभुइँमा हुनेहरु समावेशिताका कारण सत्तासीन भइरहेका छन्। विगतमा दबिएका मजदूर, दलित, महिला, जनजाति जस्ता वर्ग–समुदाय आफ्नो प्रतिनिधित्वका लागि बोल्न सक्ने भएका छन्। त्यसैले आफ्नो प्रभुत्व र पकड गुमाउनु परेकाहरू हिसिला यमिजस्ता जुझारू महिलालाई देखिसहन्नन्, गाली, बेइज्जती, अपमान गरेर आफ्नो कुण्ठा पोख्छन्।

नेपाली समाज पोथी बास्नु हुँदैन भन्छ, अर्थात् महिला बढी जान्ने बुझ्ने हुनुहुँदैन। महिला जान्ने भएको सुहाउँदैन यहाँ। ऊ उत्ताउली हुन्छे, उत्ताउलीलाई दुव्र्यवहार गर्नु वा दुर्वचन लगाउनु उचित ठान्छ समाज। उत्ताउली नहुनलाई उसले ‘स्त्रीयोचित’ परिधान लगाउनुपर्छ, कपाल लामो पाल्नुपर्छ, साजसज्जा र शृंगारसहित निहुरेर हिंड्नुपर्छ। नेपाली ‘आदर्श समाज’ले तोकिदिएका यी अनुशासन र आचारहरू हिसिला यमिले पालना गरेकी छैनन्।

‘केटा’ जस्तो उनी कपाल काट्छिन्। अनि लुगा? लुगा पनि इस्टकोट, टिर्सट र पाइन्ट, त्यो पनि ‘केटाकै जस्तो।’ केटी वा आइमाईले लगाउन बनाइएका बजारिया लुगा पनि उनी लगाउँदिनन्, परम्परागत ‘सहनशिला सुशिला’को जस्तो बाह्र हातको सारी बेरेर पनि उनी हिंड्दिनन्। जे–जे सजिलो, त्यही लगायो– फ्याङ्लै फुङ्लै। अनि शृंगार नि? के को शृंगार हुनु! न लाली छ, न पाउडर!

यस्ती ‘आइमाई’, पुरूषप्रधान समाजलाई कसरी पाच्य हुन्छ? अनि सबैभन्दा ठूलो कुरो, हिसिला यमिमा पुरूष–निर्धारित लज्जा पटक्कै छैन। महिलाको ‘शील’ अर्थात् लज्जा नै नभएपछि ऊ कसरी गतिली हुन्छे? त्यसमाथि ऊ आफ्ना श्रीमान्का पछाडि लुरूलुरू हिँड्ने मूर्तिवत् ‘धर्मपत्नी’ पनि होइन, ऊ त सहयोद्धाका रूपमा कहिले काममा सघाउने, कहिले आलोचना र खण्डन गर्ने, ऊसँग परिआउँदा उसैलाई चुनौती दिने, ऊसँग सैद्धान्तिक बहस गर्न सक्ने स्वतन्त्र व्यक्तित्व छे। त्यसकारण नै यो समाजलाई जर्ति उठेको छ। महिला हो, लोग्नेको छायाँका रूपमा पछिपछि ‘हस् हजुर’ भन्दै हिँड्नुपर्ने तर ऊ राजनीतिज्ञको हैसियतमै जो–कसैलाई नटेरी हिँडिरहेकी छे। यस्ती महिलालाई पुरूष दबदबाको समाजले कसरी पचाओस्?

यो समाज महिलालाई अबला, विचरा, सहनशीला मात्रै देख्न चाहन्छ। विद्रोही होइन। दास र पुरूषनिर्धारित कठपुतली छवि नै यो समाजकी आदर्श महिला हो। तर हिसिला ती अनुशासन र आचारको विपरीत चरित्रकी छिन्। त्यसकारण नै उनी बारम्बार भ्रष्टाचारी भनिन्छिन्, बारम्बार उनको लबजको मजाक उडाइन्छ। केही स्वाँठहरू त उनको बोली–चिप्लेकै आधारमा उनलाई र उनकी छोरीलाई बलात्कार गर्न पाउनुपर्ने ‘अधिकार’को माग गरिरहेका छन्। उनको राजनीतिक विचारसँग प्रतिस्पर्धा गर्नु पर्नेहरु पनि उनको ‘बोली बिग्रेको’ विषयमा विजयोल्लास गरिरहेका छन्।

नेतृ हिसिला यमि

नेतृ हिसिला यमि

हिसिला किन यतिधेरै सक्रिय छिन्? धेरैलाई टाउको दुखेको छ। समाज चाहन्छ– उनी त अबला भएर भान्सामा बस्नुपर्ने, टेलिसिरियल हेरेर साडी–चोलो फेर्नुपर्ने वा औपचारिक कार्यक्रममा मात्रै श्रीमान्का छेउमा बसेर मौनधारण गर्नुपर्ने हो। तर उनी राजनीतिक प्रदर्शनमा पुलिसका तारबार दुवै हातले हल्लाएर नारा लगाउन जान्छिन्। अनि हाम्रो समाज भाउन्निन्छ। हाम्रा पुरुषको दिमाग खान्छ।

जुन महिला मक्किएका सामाजिक संरचनाका नियम मान्दिनँ, पुरुष निर्मित अनुशासन र आचारभित्र बस्दिन, आफूले देखेको गलतविरूद्ध लडाइँ लड्छ, ऊ स्वतः पुरानो समाजका अगाडि ‘भ्रष्टाचारी’ नै हो। मनुस्मृतिका पुरेतहरूले महिलाका निम्ति रचना गरेका ऐन–कानुन वा संविधानका धारा–उपधारालाई हिसिला यमिको सक्रियताले चुनौती दिन्छ भने ऊ त्यो कानुनका दृष्टिमा ‘भ्रष्टाचारी’ घोषित हुनु स्वाभाविक हो। बोली चिप्लिन्छ, अनि ऊ ‘देशद्रोही’ भइहाल्छे। ऊ गाली बर्साउन लायक हुन्छे, गिरफ्तार गर्न लायक हुन्छे। यो देशमा जो लड्छ पितृसत्तात्मक संरचनाविरूद्ध, त्यो ‘भ्रष्टाचारी’, ‘समाजद्रोही’ वा उस्तैपरे ‘देशैद्रोही’ घोषित हुने पक्का छ।

 

photo

NOC1-250x300