विप्लब माओवादीले दियो सरकारलाई युद्ध घोषणा गर्ने धम्की

बैशाख २३, काठमाडौं– चुनाव नजिकिदै गर्दा चुनाव गतिविधि विरोधी पनि बढेका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ । प्रहरीले विप्लव माओवादीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।

निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले केही ठाँउमा विप्लव पार्टीका कार्यकर्ता प्रक्राउ पनि गरेको छ । यस अघि सुरक्षा निकायले पहाडमा चुनावका लागि विप्लव नेतृत्को नेकपा चुनौति हुन सक्ने बताएका थिए । नेकपाले चुनावको खारेजको नारासँगै शक्ति प्रयोग गरेर सकेसम्म धेरै ठाँउमा चुनाव भाड्ने रणनीति बनाएको छ ।

–आज मात्र भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिए ।

–नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

–यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले चितवनमा अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
यसबाहेक नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । नुुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

–चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु¥याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ । शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडाँै लगिएको छ ।

–दार्खा(धादिङ)–थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ । बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा (एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो । मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ ।

–प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई हिजो मण्डन देउपुरस्थित घरबाट पक्राउ गरेको थियो । पक्राउपर्नेमा मण्डनदेउपुर नगरपालिका– १० का ४५ वर्षीय शङ्कर नेपाल र सोही ठाउँका ४७ वर्षीय भोला नेपाल रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिएका थिए । उनका अनुसार अनुसार जिल्लामा करिब १०० जना विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखेको जानकारी दिएका थिए ।

–स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरूलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको थियो । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताएका थिए ।

–आज मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली कमाण्ड प्रमुख ओमप्रकाश पुनले स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित गरे युद्ध गर्ने धम्की दिएका छन् । आज कैलालीमा पत्रकार सम्मेलन गरी नेता पुनले सो कुरा बताएका हुन् । शान्तिपूर्ण तरिकाले आफ्ना स्वतन्त्र अभिव्यक्तिहरु जनता सामु दिन खोज्दा पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक भएको र देशलाई गृहयुद्धमा धकेल्न खोजेको उनले आरोप लगाएका छन् । नेता पुनले यसरी सरकारले एकलौटी रुपमा पेलेर नेता तथा कार्यकर्तालाई गिफ्तार गदै जाने हो भने पार्टी चुप लागेर नबस्ने र छिट्टै युद्धको घोषण गर्ने बताए ।

–स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु करिब आधा लाख छन् । पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष तथा प्रमुखमा हजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६०, दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

– स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उक्त उम्मेदवारी परेको छ । सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । यस्तै पोखरा–लेखनाथ महानगरपालिकामा आठ सय ६५, भरतपुर महानगरपालिकामा सात सय र ललितपुर महानगरपालिकामा छ सय ३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराएकामध्ये एक हजार चार सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएको विवरण हालसम्म आयोगमा प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

पोखरेल र ओलीबीच डेढ घण्टे वार्तामा वरिष्ठ उपाध्यक्ष पद हटाउन असहमति

काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप