भानुजयन्ती मनाएर औपचारिकता निभाउने मेसो

bhanu-jayanti-2_F6bGpbABwW

  • नारायण खड्का

असार २९, काठमाडौं–
भर् जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यें रहोस भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन यस्तो ?

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यका घाँसी कविताका यिनै हरफ बाचन गरेर आज देशभर उनको  २०४ औं  जयन्ती मनाइदैछ । नेपालीको मन मुटु छुने आदिकवि भानुभक्त आचार्य बि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा पण्डित श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रुपमा जन्म भएको थियो । जन्मे पश्चात देवीभक्त नाम राखिएपनि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्यफाँटमा आदिकवि भानुभक्त बनेर उदाएका थिए ।

यिनै भानुभक्तको योग्दानलाई कदर गर्दै उनको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि अझै देखिने रुपमा केही काम नभएकोप्रति चुँदी रम्घाका बासिन्दा असन्तुष्ट छन् । अहिले चुँदीरम्घालाई हेर्ने हो भने भानुको जन्मस्थल अस्तव्यस्त असार २९ गते बाहेक प्रायः सुनसान अवस्थामा रहने गरेको छ । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको बुढापाकाहरुको भनाई छ । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति, जातीय कवि लगायतका नामले चिनिन्छ । हरेक बर्ष असार २९ गते उनको सम्झनामा भानुजयन्ती मनाएर औपचारिकता निभाउने काम त गरिदै आएइएको छ । 
संरक्षणको पखाईमा भानुको गाउँ
भानुभक्त जन्मेको गाउँ जहाँ बसेर उनले काव्य रचना गरेका थिए, त्यो स्थान अहिले पनि संरक्षणको पर्खाइमा  छ । नेपाल सरकारले भानु जन्मस्थलको विकास गर्न भनि २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेको थियो । समिति गठनसंगै मुलुकको केन्द्रीय राजनीतिक नेतृत्व परिवर्तनसंगै समितिमा हुने राजनीतिक नियुक्ति र हेरफेरले त्यहाँको विकास निर्माणमा समस्या उत्पन्न हुने गरेको स्थानीय केदारभक्त आचार्य, इन्द्र विलास आचार्य, बधुकला आचार्यलगायतको गुनासो छ ।

आचार्य परिवारमात्र हैन, भानुभक्त सबैका लागि समान भएको हुँदा उनले गरेको योग्दानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न राजनीति भन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् । चुँदी रम्घा बासिले भानुभक्तमाथि राजनीतिक नगरी उनले नेपाली भाषा र साहित्यमा पु¥याएको योग्दानलाई ओझेलमा पार्नुनहुने धेरेको बुझाई छ ।

साहित्यिक पर्यटकीय विकासको सम्भावना भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो भने विकास समितिलाई राजनीतिक हस्तक्षेपबाट टाँढा राख्नुपर्ने, एउटा पार्टीले गरेको निर्णय र कामलाई अर्को पार्टीले पनि निरन्तरता दिई मेलमिलापको आधारमा अगाडि बढ्नुपर्ने र सरकारी स्तरबाट पनि नियमित अनुगमन तथा आवश्यक बजेट विनियोजन गरिदिनु पर्ने विकास समितिका अध्यक्ष श्रीभक्त आचार्य बताउँछन्। त्यस्तै, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको १४ वर्ष पुगिसक्दा पनि अझै पुनःनिमार्ण हुन सकेको छैन । यसले गर्दा भानुको जन्म घर हेर्ने उत्कट चाहाना राखेर तनहुँको चुँदीरम्घामा पुगेका साहित्यप्रेमीहरुको मनै भारी हुने गरेको छ ।
पुनंनिर्माणमा बेवास्ता
वि.सं. २०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले पुनःनिमार्ण गरेको थियो । पुनःनिमार्ण गरेको घर २०६० वैशाख १० गतेबाट जङ्गलको पश्चिम पट्टीको भागमा लागेको आगो तीन दिनसम्म जंगलमा पैmलिदा आगोले जलेर पूर्ण रुपले ध्वस्त बनेको थियो । १ लाख २६ हजार ९ सय ९५ रुपैयाँमा बनाईएको घरलाई शिखर कटेरी भन्ने गरिएको छ । हाल भानुको घर नजिक बस्ती नभएकाले जंगलले घेरिएको छ ।

समितिका अनुसार जंगलले घेरिएकाले जोगाउन मुस्किल पर्ने हुँदा घर पुनःनिर्माण गर्न नसकिएको हो । खरको छानो हुँदा आगोको बढी खतरा हुने हुँदा सिमेन्टको घर बनाई भानुभक्तकालिन शैलीमा रङ रोगन गरी घर बनाउने योजना रहेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए । घर जोगाउन कठिन हुने भएकाले हाल रामायण भवन बनाउने कार्य अघि बढी रहेको छ । भानुजन्मस्थल क्षेत्रको विकास तथा भानु सम्बन्धि ऐतिहासिक संरचनाको संरक्षण गर्नका लागि पश्चिमाञ्चल विकास मञ्चले भानुको घर बनाउन लागेको कार्यकारी निर्देशक रानाभाट बताउँछन् । त्रिभुवन विश्वविद्यालयका इतिहासविद डा. रामराज सुवेदीको नेतृत्वमा सम्पन्न गरिएको घरको उत्खनन्का क्रममा घडेरीको जगसम्मको अवशेष, मुलढोकाको संघार, थाम अड्काउने इलम, ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतको सामग्री फेला पारिएको र ति सबै चुँदीरम्घावेशीमा रहेको समितिको कार्यालयमा ल्याई संग्रालयहमा राखिएको छ ।

त्यस्तै, भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत रहने गरी भानु जन्मस्थल समिति गठन गरी समितिका लागि बजेट पनि विनियोजन गर्न थाल्यो । तर, विनियोजित बजेट कार्यकारी निर्देशक र कार्यालय सञ्चालन बाहेक अन्य कर्मचारीलाई तलब खुवाउन नपुग्ने बताइन्छ। सुरुमा जे जति महत्वका साथ समिति गठन गरिएको थियो राज्य पक्षको पर्याप्त चासो नपुग्दा र समयमै आवश्यक बजेट विनियोजन नहुँदा अहिले समितिले प्रभावकारी काम गर्न नसकेको समितिको गुनासो छ । 
समिति भएन प्रभावकारी 
भानु जन्मस्थलको बृहत्तर विकासका लागि समिति गठन गरिएको र समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण, उनका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भएपनि प्रयाप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न नसकेको बताइन्छ । जन्मस्थल विकास समितिले सिमित श्रोत साधान भएता पनि भानुले आफ्नो जीवनकालमा प्रयोग गरेका घरायसी वस्तुहरू लगायतका धेरै महत्पूर्ण वस्तुहरू संरक्षण गर्दै आएको छ । तर त्यसलाई एउटा संग्रहालयको रूप दिएर प्रचारप्रसार गर्ने काम हुन सकेको छैन । व्यवस्थित रूपमा ती वस्तु संग्रह गरेर राख्न सकिए नेपाली भाषा साहित्यबारे रुचि राख्ने जो कोहीको आकर्षण र चासोको केन्द्र बन्न सक्ने देखिन्छ । त्यस्तै, समितिले २००८ सालदेखि कार्यालय परिसरमै भानु पुस्तकालय समेत स्थापना गरेको छ ।

उक्त पुस्तकालयमा भानुद्वारा लेखिएका हस्तलिखित पाण्डुलिपी तथा रचना गरी करिब ५ हजार वटा पुस्तक संग्रह गरी राखिएको छ । तर, बढ्दो आधुनिकिकरणसंगै युवा पीढि पुस्तकालयमा आउन छाडेको पुस्तकालय व्यवस्थापक बताउँछन् । यस भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाले माग गरिरहेका छन् । यस तर्फ सरकारले विशेष चासो दिने हो भने भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय केन्द्र बनाउने कुरा असम्भव भने छैन । भानुको जन्मघर, रामायण घर, संग्राहलय निर्माणदेखि सहज यातायात पहुँच पु¥याउने लगायतका कार्य गर्न भानु जन्मस्थल विकास समिति र पश्चिमाञ्चल विकास मञ्च नामक गैरसरकारी संस्थाले करिब १० करोड रुपैयाँको गुरुयोजना निर्माण गरी अगाडि बढेको छ । 
गुरुयोजना अन्तरगत हाल शिखरकटेरीसम्म कच्चि मोटरबाटो र बसपार्क निर्माण, भानु जन्मघर शिखरकटेलीलाई कम्पाउण्ड गरी सुरक्षित गर्नुका साथै अन्य कार्यहरु अगाडि बढाएको समितिले जनाएको छ । दैनिक पर्यटकीय चहलपहल बढ्ने अवस्था रहेमा भानुको कीर्ति नयाँ पुस्तामाझ पनि झनै लोकप्रिय हुनसक्छ भने यस क्षेत्रको विकासमा त्यसले धेरै योगदान दिन सक्छ ।

त्यस्तै, भानुलाई प्रेरणा दिने घाँसीको नाममा पृथ्वी राजमार्गसंगै स्थापित घाँसीकुवा, भानु जन्मस्थलमा सञ्चालन गरिएको संस्कृत विद्यापीठ पनि संरक्षणको पर्खाइमा बसेका छन् । भानु जन्मस्थल चुँदीरम्घालाई सरकारले खास चासो नदिने, समितिले केही गर्न नसक्ने अनि अन्य क्षेत्रबाट काम हुने चर्चा चले पनि काम नहुने लगायतका विविध कारणले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा परेको छ । 

 

photo

NOC1-250x300