कथा : पासोमुक्त जिन्दगी

pitar-kunwarसुनसान रात । मन अनि मस्तिष्क त्रासले कम्पित छन् । आँखामा निन्द्रा पटक्कै छैन । निस्कनै नसकिने खाल्डोमा परेझैँ जिन्दगीले निसासिएको महसुस गरिरहेको छ । भोलिको अनिश्चित भविष्य अनि सम्भावित दुष्परिणामले झर्कै लाग्ने गरी चारैतिरबाट गिज्याइरहेको छ । लामो सुस्केरासँगै सङ्गिता कोल्टे फर्किन्छिन् । ‘जोसमा होस् हँुँदैन भन्थे, साँच्चै हो रहेछ’ उनी मनमनै सोँच्छिन्– ‘यस्ता उखानहरु त्यसै त कहाँ बन्थे र ? सिङ्गो जीवनका निष्कर्ष हुन्– यी हाम्रा परम्परागत उखानहरु । यस्ता उखानहरु वास्तवमै अमूल्य ज्ञानका भण्डार हुन् । तर के गर्नु…’ सुस्केरा हाल्दै उत्तानो पर्छिन्– ‘…समयमा होस् नआएपछि ?’ रातको छातीभित्र झ्याउँकिरी त्रास फैलाउँदै कोलाहल मच्याइरहेको छ । सङ्गिताको कोठामा साठी वाटको चिम मन नलागी नलागी प्रकाश छर्दैछ । कोठामा साँघुरिएर बसिरहेको किचेन, दराज, पानीका भाँडाकुँडा, टेबल–कुर्सी अनि मस्तले उत्तानो परिरहेको खाटले उनलाई शङ्कालु दृष्टिले हेरिरहेका छन् । ‘कोठाका यी चारै भित्ता र हरचिजहरु आज मलाई किन शङ्कालु दृष्टिले हेरिरहेका छन् ?’ आफ्नै मनसँग प्रश्न गर्छिन्, ‘अखिर मैले त्यति ठूलो अपराध नै के गरेकी छु र ? जसले गर्दा यी निर्जीव चिजबिजहरुले पनि ममाथि घृणा गर्न थालोस् ?’ ‘आ… म पनि के नचाहिने कुरा सोचिरहेकी छु, रातको यस बेला । अब त सुत्नुपर्छ नत्र भोलि कलेज जान बेर हुन्छ’ उनी सिरकले घुप्लुक्क मुख छोपेर सुत्छिन् । फेरि तुरुन्तै ओड्ने पन्छाएर बत्तीको स्विच अफ गर्छिन् र सिरकभित्र गुटुमुटिन्छिन् । केही समय निदाउने प्रयासमा हल न चल हुन्छिन् । ‘माया भन्ने कुरा पनि कत्ति अनन्ददायी छ । यदि माया भन्ने कुरा नभएको भए जीवन भन्ने कुरा पनि हुने थिएन’, सिरकभित्र गुटमुटिएको उनको मन आफैसँग बोल्छ । ‘तर यही मायाले कसैको जीवनलाई बनाउँछ भने कसैको जीवनलाई भताभुंग पारिदिन्छ । तर मेरो जीवनलाई नि ?’ शङ्का–उपशङ्का अनि धैर्यता र अधैर्यता कोमल मनका भिरपाखामा पहिरोसरि ओइरिरहन्छ, ‘त्यो त समयले देखाउने कुरा हो । अहिले चिन्ता लिएर मात्रै के नै हुने हो र ?’, शङ्काको परिबन्धमा फसेको मन आफैलाई सम्झाउने प्रयास गर्छ । ‘मेरा ती बूढा आमाबाले मेरो जीवनको निम्ति कति सुन्दर सपनाहरु सजाइरहेका होलान् । गाउँको त्यो ढुङ्गेनी खेतहरुमा हाडछाला घोटेर मलाई पढाइखर्च, कोठाभाडा सबै पठाइदिरहनुभएको छ । आज मैले गरेको गल्ती के उहाँहरुको ओइलाइसकेको बूढो छातीमा लात हान्नुसमान होइन र ?’ उनका चिन्ताहरु समाउने कुनै बुट्यान नपाएर ठाडो भिरबाट खस्दै जान्छ, ‘यदि भोलि दिपेशले मलाई स्वीकार गरेन भने… मेरो त मर्ने सिवाय कुनै पनि विकल्पै रहँदैन ।’ उनी लामो सुस्केरा हाल्दै अनुहारबाट सिरक हटाउँछिन्, ‘धत् म पनि, पहिले गर्भ त रहनुप¥यो नि, अनि पो चिन्ताको विषय आउँछ । बिनाबिथ्थामा नचाहिने कुरा सोचिरहेछु ।’ सङ्गिताको दिलभित्रको समुन्द्रमा उठेका छालहरु अविरल किनारासम्म आउँदै फर्किँदै गरिरहन्छन् । ‘उफ…’ उनका हात थाहै नपाई बत्तीको स्वीज अन गर्न पुग्छ, ‘आज केटी निदाउँली जस्तो छैन’ उनी सिरानी भित्तामा ठाडो पार्दै अडेस लाग्छिन् । फुङ्ग उडेको कपाल एकपटक बाँध्छिन् । टेबुलमाथिको पानीको बोतलमा उनको आँखा जान्छ । हात लम्क्याउँदै बोतल उठाउँछिन् र पानी पिउँछिन् । उनी बोतलको मुखमा बिर्को खेलाउँदै के सोच्छिन् कुन्नी मुसुक्कै मुस्कुराउँछिन् । उनका अनुहार गहिरो लाजले एक्कासि रातोपिरो हुन्छ । ‘आहा… क्या रमाइलो भएको थियो । सधैँ यस्तै भइदिए पो…’ उनको मनले भोलिको एकछेउ समातिहाल्छ ‘भोलि के हुने होला ? मैले समाजमा कसरी मुख देखाउने ? अनि दिपेशले मलाई साच्चै अस्वीकार ग¥यो भने मलाई वैश्याको आरोप लाग्ने छ । सहरमा पढ्न पठाएकी छोरी वैश्या भएकी छिन् भन्ने खबर मेरा आमाबाले कसरी सुन्न सक्लान् । उहाँहरुको शिर फेरि कहिले पनि ठाडो नहुने गरी झुक्ने छन् । मलाई आज के भइरहेको छ बिनाबिथ्थामा’, मन रुपी बेलगाम घोडालाई नियन्त्रण गर्ने दुष्प्रयास गर्दै पुनः सिरक ओडेर सुत्छिन् । ‘तर यी सोचाइहरु गलत होइनन् । भोलि केही गरी गर्भ रह्यो र दिपेशले मलाई स्वीकार गरेन भने परिणाम त त्यही नै हुनेछ ।’ उनको मन कति खेर फुत्किन्छ उनले पत्तै पाउँदिनन् । ‘औषधि खानुपर्ला भन्दा दिपेशले पर्दैन भनेर त हो नि !’ उनले त्यो क्षण सम्झन पुग्छिन्, ‘त्यो दिपेश पनि कहाँ लामो अनुभवले खारिएको हो र ? ऊ पनि म जस्तै नयाँ त हो नि । यदि औषधि खाएको भए आज यो दिन आउने नै थिएन ।’ ‘लोग्ने मान्छे एकपटक भोग गरेपछि फेरि त्यो चाहिन्न भन्छन् । यदि यस्तै हो भने त…’ उनको मुटु त्रासले काँप्न थाल्छ, ‘पहिले दिपेशले मसँग कस्तो व्यवहार गर्छ त्यो हेर्नुपर्छ । उसको व्यवहार नै उसको प्रेम र मेरो भोलि तौलने तराजु हो ।’ कसको हत्केलाले सूर्यलाई छेक्न सकेको छ र ? समय हो आफ्नै रफ्तारमा दौडिरहेको छ । एकपछि अर्को गर्दै कयौं दिनहरु बदलिसके । तर, सङ्गिताकाको भोलि भने उस्तै छ । उनी साथीहरुसँग पनि त्यति बोल्न मन गर्दिनन् । पढाइमा त उनको ध्यानै जान छोडिसक्यो । ‘भोलि के होला ? भोलि के होला ?’ मात्रै ‘भोलि के होला ?’ उनको भोलि पनि भोलिकै भुमरीमा फनफन घुमिरहेको छ । आज उनलाई बिहान उठेदेखि नै टाउको दुख्न थाल्छ । कलेज जान पनि मन छैन । सारा शरीर थाकेर लत्र्याकलुत्रुक भएको महसुस हुन्छ । त्यसैले निन्द्राविहीन आँखालाई खाटमा सुताइरहन्छिन् । वाक्क आन्द्रै बाहिर आउँलाझैँ गरेर उल्टी आउँछ । त्रासको कुनै सीमा छैन अब । उनका आँखाहरु ठूलाठूला हुन्छन् । किनभने उनको भोलि अब उनकासामु कालो वर्तमान बनेर ठिङ्ग उभिसकेको छ । चक्कनाचुर भएको सपनाका छालहरुले उनको जिन्दगीलाई उजाड किनारामा नराम्ररी पछारिदिन्छ । ‘अब तेरो एउटै बाटो छ– आत्महत्या’, उनको मन चिच्याइ चिच्याइ भन्न थाल्छ ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’ त्यही वाक्य अब भद्रगोल कोठाका हर चिजले दोहो¥याउन थाल्छ, ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’ ‘मैले मर्न आवश्यक छैन ।’ उनका काँपेका ओठ बरबराउन थाल्छ । ‘दिपेशले तँलाई नभेटेको धेरै दिन भइसक्यो ।’, उनको मन उनीसँगै प्रतिवाद गर्न तम्सिन्छ । ‘उसलाई फुर्सद नभएको हुन सक्छ ।’ ‘मोज गर्ने बेला फुर्सद हुने, जिम्मेवारी लिने बेला फुर्सद नहुने ?’ मन भन्दै जान्छ ‘गाउँमा आफ्नो बाआमालाई कसरी मुख देखाउँछेस् तँैले ? अब तेरो एउटै बाटो छ– आत्माहत्या ।’ ‘नाइँ, म मर्दिनँ । मेरा बूढा बाआमाका छोरा भने पनि छोरी भने पनि म मात्रै हुँ । मै मरे भने उहाँहरु पनि धेरै दिन बाँच्न सक्नुहुन्न । अनि त्यसको पाप मैले जुनीजुनी भोग्नुपर्नेछ । म मर्दैमर्दिनँ ।’ ‘अनि के गर्छेस् त ? बाबुबिनाको सन्तान लिएर जान्छन् ती बूढा बाआमाको आगाडि ?’ ‘नाइँ दिपेशलाई नभेटी मैले गलत कदम उठाउनु हुँदैन ।’ ‘कसले भन्यो तँलाई यो गलत कदम’ मन उसलाई उचाल्दै जान्छ, ‘तँ र तेरा बूढा आमाबामाथि बर्सिन लागेको दुर्भाग्य छेक्ने ढाल हो यो । त्यसैले धेरै नसोच । आत्महत्याभन्दा सहज र सुन्दर बाटो अर्को छैन ।’ ‘नाइँ मैले दिपेशलाई एकपटक भेट्नै पर्छ ।’ ‘के भन्छेस् भेटेर ? तँसँग भेट्ने भए आफै आइहाल्थ्यो नि । विदेश जाने प्रोसेसमा थियो । यसबेलासम्म त उडिसक्यो होला ।’ ‘अहँ त्यस्तो हुन सक्दैन । म अहिले नै दिपेशलाई भेट्छु ।’ उनी दौडिएर ढोकाको चुकुल समात्न पुग्छिन् । ‘पख हतार नगर’ मन उसलाई रोक्छ, ‘आखिर के भन्छन् उसलाई भेटेर ? मैले तिम्रो गर्भ बोकेको छु । दिपेशको आमाबाले तँलाई भुत्ल्याएर आँगनमा पछार्नेछन् अनि भन्ने छन्– नकचरी कोकोसँग उठवस गरेर हाम्रो छोरालाई फसाउन आइछे ।’ ‘यस्तो हुन सक्दैन ।’ ‘यो बाहेक हुनलाई केही बाँकी छैन’ उसको मन सकुनी पारामा मुस्कुराउँदै भन्छ, ‘आत्महत्या गरिस भने सबै समस्या तँसँगै समाधान भएर जानेछ ।’ सङ्गिता दौडिएर आउँछिन् अनि खाटमा घोप्टो परेर भक्कानिन थाल्छिन् । अस्ताउँनै लागेका आफ्ना बाआमा सम्झेर रुन्छिन् । दिपेशसँगको उठबस सम्झेर रुन्छिन् । दुर्भाग्यको आँधीहुरीले कहिले उठ्न नसक्ने गरी भाँचेको फुलका डाली सम्झेर रुन्छिन् । अनि डडेर कालै भएको उनको त्यो भोलि सम्झेर रुन्छिन् । ‘भयो नरो सङ्गिता’ मन उनलाई प्रेमले सम्सुम्याउँछ, ‘अहिले कोही आएर तेरो बारेमा थाह पायो भने क्षणभरमै हल्ला फैलिन्छ । अनि तँैले आत्महत्या गर्नु नगर्नुको केही अर्थ रहँदैन । उठ ढिलो नगर ।’ ‘हो, मेरो अर्को कुनै विकल्प छैन’ आफ्नै मनको सकुनी चालमा उनी फस्दिै जान्छिन्, ‘मैले कत्ति पनि ढिला गर्नु हुँदैनँ ।’ उनी हत्तपत्त उठ्छिन् । ढोकाको छेउमा फालिरहेको सलको एक छेउ झ्यालमाथिको भ्यान्टिलेटरमा र अर्को छेउ आफ्नो घाँटीमा बाँध्छिन् । उनले एकपटक आफ्नो बूढा बाआमालाई सम्झिन्छिन् अनि क्षणभर दिपेशलाई पनि । उनको पूरै शरीर संवेदनहीन हुन थाल्छ । मृत्युले आफ्नो प्यारो अँगालो स्नेहपूर्वक उनीतिर बढाउँछ । उनले पनि मृत्युको अँगालोमा आफूलाई समर्पित गर्न आँखा चिम्म गर्छिन् । अनि सासलाई रोक्दै भित्रैदेखि उनले जीवनको अन्तिम हिम्मत जुटाउँछिन् । तर…, यत्तिकैमा उनले महसुस गर्छिन्, तिघ्रादेखि तल केही तातो तरल बगेको । उनका सूक्ष्म अनुभवले त्यसलाई ठम्याउँछ । एकोहोरिएका उनका आँखा हलचल गर्न थाल्छ । ठूलाठूला गाजालु आँखाले मुस्कुराउँदै परेलाको ढोका खोल्छ । जीवनमा मच्चिरहेको आँधीबेरी एक्कासि थामिन्छ । खुसीका हजारौँ दीपहरु उनका आँखामा प्रतिविम्बित हुन थाल्छन् । आँधीले भाँचेका फूलका डाली बिस्तारै उठेर पहिलेझै हावाको लहरसँगै झुल्न थाल्छन् । भत्केका विश्वासका महलहरु एकएक निर्माण हुन थाल्दछ । उनको खुसीको कुनै सीमा रहँदैन । आकाशका काला बादल एक्कासि फाटेर जान्छ । क्षितिजहरु बाँसुरीको सुन्दर धुन बजाउन थाल्छन् । लामो सुस्केरा हाल्दै आफ्नो घाँटीमा बाँधेको सल खोल्छिन् । आनन्दले मुसुक्क हाँसेर टेबलमा लडिरहेको पानीको बोतल उठाउँछिन् । ‘थ्याङ्क गड’, उनी पानीको घुट्कोले पासोमुक्त जिन्दगी आनन्दले भिजाउँछिन्, ‘भोलिदेखि यस्तो गल्ती कहिले पनि गर्दिनँ ।’

 

photo

NOC1-250x300