अझै अन्यौलमा एमाले एकता

विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने मागसहित गत जेठ १० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमाथि असार ९ गते बुधबारदेखि वहस शुरु हुँदैछ । विपक्षी गठबन्धनमा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदले समेत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले एकतालाई कायम राख्न नेता नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको माग छ । सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राख्नुभएको छ ।

नेता नेपाल भने दोस्रो पुस्ताका नेताहरुको वार्ता र एकता प्रयासप्रति खासै सन्तुष्ट नरहनुभएको सो पक्षका नेताहरुले बताउने गर्नुभएको छ । विपक्षी गठबन्धनलाई साथ दिने वाचा आफूले गरिसकेकाले अब पछाडि नफर्किने नेता नेपालले आफू निकट नेताहरुलाई बताउने गर्नुभएको छ । नेता नेपाल र भीमबहादुर रावलले एमाले परित्याग गरी अर्को पार्टी गठन गर्ने अभ्यासमा लागिसक्नु भएकाले एमालेमा फर्किने सम्भावना कम रहेको सो पक्षका नेताहरुको भनाई छ ।

एमाले दोस्रो पुस्ताका नेताहरुले पार्टी एकता गराउने प्रयास जारी राख्नु भए पनि उपलब्धी अझै हात लागिसकेको छैन । दुई पक्षीय नेताहरुबीच सहमतिको विभिन्न विकल्प र मोडलमा छलफल भइरहेको छ । तर ठोस निस्कर्ष आएको छैन । अध्यक्ष ओली पक्षले सर्वोच्चको पछिल्लो निर्णय आउनुअघि नै पार्टी एकता कायम गर्ने तयारीमा जुटे पनि नेता नेपाल पक्षका केही नेताहरुले स्वीकार गरिसक्नु भएको छैन । अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने र प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार गर्नुपर्ने अडान नेता नेपालले राख्दै आउनुभएको छ ।
अध्यक्ष ओली पक्षका नेताहरुलाई सहमतिको वातावरण बन्दाबन्दै नेता नेपाल विपक्षी गठबन्धनमा नियमित छलफलमा जाँदा समस्या पर्नेगरेको बुझाई छ । सभापति देउवा निवास बुढानिलकण्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारको छलफलले सहमतिको वातावरण विथोल्ने गरेको बुझाई एमाले संस्थापन पक्षको छ । अध्यक्ष ओलीले पार्टी एकताका लागि हर प्रयास गर्दा पनि नेता नेपाल विपक्षी गठबन्धनमै जोड दिनुभएको र पार्टीको एकता प्रक्रियामा चासो नदिनुभएको टिप्पणी संस्थापन पक्षका नेताहरुको छ ।

वार्तामा नियमित सहभागी रहनुभएका प्रधानमन्त्री निकट मानिनुहुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको वातावरण अझै आशलाग्दो बनिनसके पनि प्रयास गर्न नछाड्ने बताउनुभयो । “हामी अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास गर्छौ, सहमतिको वातावरण बन्नेमा आशावादी छौं” नेता नेम्वाङले भन्नुभयो । तर अहिलेसम्मको प्रयासको ठोस उपलब्धी आइनसकेको उहाँले जानकारी दिनुभयो । दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक छलफल जारी रहेको उहाँले बताउनुभयो ।

पार्टी एकताको प्रयासका लागि नेताहरुले एक्लाएक्लै, सामुहिक र दुई पक्षीय छलफल जारी राख्नुभएको छ । पार्टी एकता बचाउन अर्थमन्त्री तथा एमाले नेता विष्णुप्रसाद पौडेलले नेता बामदेव गौतमसँग पनि पछिल्लो समय सघन छलफल गरिरहनुभएको छ । यसअघि नेकपा पार्टी एकताको प्रयासमा दत्तचित्त भएर लाग्नुभएका नेता गौतम अहिले करिब निस्क्रीयझैं बस्नुभएको छ । एमाले एकताको पक्षमा उहाँको उत्साहजनक प्रयास देखिएको छैन ।

नेता नेपाल निकट मानिनु हुने नेता सुरेन्द्र पाण्डे पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आउनुभएको छ । त्यस्तै, नेपाल पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य लगायतका नेताहरु पार्टी विभाजनको पक्षमा नरहेको सञ्चार माध्यममा धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य नेता पाण्डेले बैठक र छलफल नियमितजस्तो भएपनि सहमतिको मिलनविन्दु फेला परिनसकेको बताउनुभयो । “पार्टी एकताका लागि जुन तहमा नेताहरुबीच छलफल, वार्ता र सक्रियता देखिनुपथ्र्यो त्यो भएको छैन, त्यसैले अवस्था अझै निराशाजनक छ” उहाँले भन्नुभयो । वार्ता ठोस निस्कर्षमा नपुग्दासम्म यसै भन्नसक्ने अवस्था नरहेको उहाँल प्रतिक्रिया दिनुभयो ।

दुवै पक्षका नेताहरुको प्रतिक्रिया सुन्दा अवस्था जटिल नै छ । दोस्रो पुस्ताका नेताहरुबीच सहमतिको प्रयास सकारात्मक ढङ्गले अघि बढेको बताइए पनि वास्तविकता त्यस्तो नरहेको उहाँहरुको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । यद्यपि अन्तिम समयसम्म एकता प्रयास जारी राख्ने उहाँहरुको दृढ इच्छाशक्तिले भने नेता तथा कार्यकर्तामा आशा जगाउने गरेको छ । शीर्ष नेतृत्व तहमा रहनुभएका नेताहरुको पार्टी, कार्यकर्ता र देशको हितभन्दा पनि आफ्नो रिस्वी साँध्ने ध्याउन्न रहेको बुझाई दोस्रो पुस्ताका नेताहरुको छ ।

वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीसहित पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले विज्ञप्ति मार्फत एकताको आव्हान गर्नुभएपछि पार्टी पङ्तिमा एक किसिमको उत्साह जागेको थियो । तर भोलिपल्टै नेता नेपाल विपक्षी गठबन्धनका नेताहरुसँग बुढानिलकण्ठ र खुमलटारको बैठक चहार्न थाल्नुभएपछि पार्टी पङ्ति पुनः खिन्न बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पोखरेल र ओलीबीच डेढ घण्टे वार्तामा वरिष्ठ उपाध्यक्ष पद हटाउन असहमति

काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका