सवारीसाधनमा बढेको भाडा पाँच घण्टापछि नै फिर्ता !

जेठ ३१,काठमाडौं : बिहीबार सार्वजनिक यातायातको भाडा बढेपछि यातायात व्यवसायीको दबाब र प्रलोभनमा भाडा बढाइएको भन्दै त्यसको चौतर्फी आलोचना भयो । यातायात व्यवस्था विभागले पाँच घण्टापछि नै उक्त निर्णय फिर्ता लियो ।

सामाजिक सञ्जालमा ‘दबाब र प्रभाव’को चर्चा चले पनि विभागले भने त्यसलाई अस्वीकार गरेको छ । “यातायात व्यवसायीको दबाबमा विभागले भाडा बढाएको भनेर आलोचना भए पनि विभागले वैज्ञानिक आधारमा भाडा बढाएको हो,” विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले भने, “कुनै व्यवसायीको दबाबमा विभागले भाडा बढाएको होइन । सवारी साधनको भाडा बढाउनका लागि तोकिएका निश्चित सूचाकांका आधारमा हामीले भाडा बढाएका थियौं । यसमा व्यवसायी साथीहरुको कुनै दबाब थिएन । कुनै व्यवसायीको दबाबमा विभागले भाडा बढायो भन्नु सरासर गलत छ । यस्तो हुँदैन ।”

गएको दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्ने समयमा यातायात वयवसायीले तत्काल भाडा नबढाए टिकट नखोल्ने अडान राखेपछि लामो दूरीका सवारीसाधनमा १० प्रतिशत भाडा बढाइएको थियो । यातायात व्यवसायीले यात्रुहरुबाट मनपरी भाडा लिने प्रवृत्ति बढेपछि विभागले ०६९ सालमा वैज्ञानिक भाडा समायोन गर्दै देशभरका मुख्य स्थानमा जानका लागि लाग्ने सार्वजनिक सवारीको भाडा तोकेको थियो ।

यसपछि यातायात व्यवसायीले पटक–पटक भाडा बढाउन विभागलाई आग्रह गर्दै आएका थिए । “भाडाका सवालमा हामी ठगिँदै आएका छौं । ०६९ सालदेखि ट्याक्सीको भाडा बढेको छैन । हामीले ट्याक्सीमा पर्चा, पम्पलेट टाँसेर रचानात्मक आन्दोलन गर्दै ट्याक्सीको भाडा बढाउने सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएका छौं,” उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पुरन तामाङ भन्छन्, “विभागमा पटक–पटक बसेको बैठकले माग पूरा हुने भन्ने निर्णय गर्छ तर लागु हुँदैन । ट्याक्सी चालक र व्यवसायी वर्षौंदेखि आम्दानीबिना नै सेवा दिन बाध्य छौं ।”

यस्तै उपभोक्तवादी र सार्वजनिक यातायात सुधार अभियन्ताहरु भने सार्वजनिक यातायातको भाडा बढ्दा तरकारी, खाद्यान्न, घरभाडा सबैको शूल्कमा कृत्रिम वृद्धि हुने डर व्यक्त गर्छन् । “हचुवाका भरमा सार्वजनिक यातायातको भाडा बढाइँदा दैनिक उपभोग्य वस्तुदेखि घरभाडा, बच्चाको स्कूलको फि सबै कुरामा कृत्रिम मूल्यवृद्धि सिर्जना हुन्छ । उपत्यकामा गुड्ने ट्याक्सीको भाडा थोरै होइन ठिक्क छ । ट्याक्सीको भाडा बढाउन होइन, नयाँ ट्याक्सी गुडाउने व्यवस्था सरकारले गर्नुपर्छ,” यातायात सुधार अभियन्ता रामबहादुर थापाले भने । 

विभागले चालक र कामदारको तलब, बीमा रकम, लुब्रिकेन्ट्स, टायर, गाडीको बजारमूल्य, मर्मत खर्चमा आएको वृद्धि र बैंकको ब्यादरलाई सूचकांक (इन्डिकेटर) लाई आधार मानेर सार्वजनिक सवारीको भाडा बढाइने बताएको छ ।

“बिहीबार सार्वजनिक सवारीमा भाडा बढाउने विभागको निर्णय पनि यही इन्डिकेटरलाई आधार मानेरै असार १ बाट लागु हुने भएको थियो । तर केही घन्टामा नै बढेको भाडादर तत्काल लागु नहुने भएको छ,” निर्देशक खनालले भने, “बढेको भाडा किन फिर्ता लिइयो भन्नेबारे विभागलाई बोल्ने अधिकार छैन । माथिल्लो निकायबाट बढेको भाडा तत्काल लागु नगर्नू भन्ने आदेश आएकाले बढेको भाडा फिर्ता लिएका हौं ।”

देशभरिको यातायातलाई निर्देशन दिने र नियमन गर्ने निकायको यस्तो निर्णयले आमसर्वसनधारण यात्रुमा सवारीको भाडाबारे अन्योल सिर्जना भएको छ । “भाडा बढ्यो भनेर विभागले एकपटक भनेपछि सबै सवारी साधनले बढेकै भाडा यात्रुबाट लिन्छन् । तर भाडा घट्यो भनेर विभागले गरेको सूचनाको चालक, सहचालकले खासै मतलब राख्दैनन्,” आरआर क्याम्पस बिए तेस्रो वर्षका नेपाली प्राध्यापक छायादत्त न्यौपाने भन्छन्, “यस्तै बेला सवारी साधनमा विद्यार्थीहरुलाई पनि बढेकै भाडा लिने गरिन्छ । बढेको भाडा फिर्ता लिएको कुरा सबैलाई जानकारी नहुँदा विद्यार्थी साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरु ठग्गिरहेका हुन्छन् ।”

विभागले बिहीबार सार्वजनिक यातायातमा न्यूनतम ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म र मिटरबाट चल्ने ट्याक्सीको हकमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो ।

यो निर्णय वैज्ञानिक भाडादर समायोजनका आधारमा गरिए पनि केका आधारमा फिर्ता लिइयो भन्ने प्रश्नबारे विभाग अधिकृतहरु यसबारे विभागभन्दा माथिल्लो निकाय मन्त्रालयले मात्रै बोल्न मिल्ने बताउँछन् ।

“प्रधानमन्त्रीज्यू युरोपमा भएको बेलामा किन भाडा बढाइयो भन्ने प्रश्न आएको छ । सार्वजनिक सवारीको भाडा बढाउने कानूनी अधिकार विभागलाई छ । तर यसबारे सचिवस्तरमा पनि छलफल आवश्यक हुन्छ । सचिवज्यूसँग छलफल नै नगरी विभागले बिहीबार भाडा बढाएको निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्रालयले भनेको हो,” मन्त्रालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक