यस्ता शब्दले गरे प्रचण्डले माधव नेपालको प्रशंसा

 

 

Prachanda_1_mGWSfr4quE१६ मंसिर, काठमाडौं । पेप्सीकोला चोकमा शनिबार बिहानै एमालेको कोणसभा चल्दै थियो । यस क्षेत्रका उम्मेदवार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल टाटा मोबाइलमा उभिएर चारैतिर हात हल्लाइरहेका थिए । यत्तिकैमा नजिकै एउटा भीआइपी गाडी रोकियो । गाडीबाट निस्किए एमाओवादी अध्यक्ष प्रचण्ड । उनलाई देख्नासाथ एमाले कार्यकर्ताहरुको उत्साह बढ्यो । उनीहरुले ताली र हुटिङले प्रचण्डलाई स्वागत गरे ।

‘मैले धेरै व्याख्या गर्नुछैन’ भन्दै प्रचण्डले व्याख्या गर्न थाले, ‘नेपालमा राजनीतिक समझदारीको वातावरण बनाउन, शान्ति सम्झौताको वातावरण बनाउन सबैभन्दा धेरै कुनै नेताले काम गर्‍यो भने त्यो कमरेड माधव नेपालले नै गर्नुभएको छ ।’

यो भनाइमा खुशी भएर एमाले कार्यकर्ताले हुटिङ गरे । त्यसपछि प्रचण्डले थपे, ‘भूमिगतरुपमा जोखिम मोलेर उहाँ र म पटक-पटक नेपाल र भारतका विभिन्न ठाउँमा भेटघाट नगरेको भए, एक अर्काप्रति विश्वासको वातावरण नबनाएको भए १२ बुँदै समझदारी र शान्ति सम्झौता सायद सम्भव हुने थिएन । म यो कुरा यस क्षेत्रका सम्पूर्ण जनतासमक्ष फेरि एकचोटि बडो प्रष्ट शब्दमा राख्न चाहन्छु ।’शान्ति सम्झौताको मर्म र भावनाअनुसार देशमा शान्ति र स्थिरताको वातावरण बनाउन पनि नेपालले खेलेको भूमिका अविस्मरणीय रहेको उनले उल्लेख गरे ।
‘दोस्रो कुरा, कमरेड नेपाल प्रधानमन्त्री पनि हुनुभयो । प्रधानमन्त्री र पार्टी नेताको हैसियतले नेपालमा सुशासनको निम्ति उहाँले निरन्तर मिहिनेत पनि गरिराख्नुभएको छ ‘ प्रचण्डले भने ।

उनले अगाडि भने, ‘अहिले पनि हामी एउटा नयाँ इतिहासको रचना गर्न अग्रसर छौं । देशमा झण्डै ७० वर्षदेखि राजनीतिक अस्थिरता छ, जसले गर्दा विकास निर्माण र सुशासन जनताका सपना मात्रै भएका छन् । यो अराजकता र अस्थिरता अब अन्त्य गरिनुपर्छ । त्यो परिस्थितिको अन्त्य खाली एउटा बहुमतको स्थिर सरकारले मात्रै गर्न सक्छ । त्यही उद्देश्यका निम्ति वाम गठवन्धन गरेका हौं ।’प्रचण्डले निर्वाचन सम्पन्न भइसकेका ३२ जिल्लामा वाम गठवन्धनले दुई तिहाईभन्दा धेरै बढी सिट जित्ने आँकलन गरे । 

त्यसपछि पालो आयो माधव नेपालको । उनले पनि प्रचण्डको प्रशंसा गर्न चुकेनन् ।


‘अहिले तपाईंले भर्खर कमरेड प्रचण्डको सम्वोधन सुन्नुभयो,’ नेपालले भने, ‘नेपाली राजनीतिलाई निर्णायक मोड दिने क्षमता भएका व्यक्ति प्रचण्डको यो सानो सम्वोधनले पनि धेरै महत्वपूर्ण अर्थ राख्छ ।’

उनले आफ्नो चुनावी अभियानमा सहभागी भइदिएकोमा प्रचण्डप्रति आभार व्यक्त गरे ।

‘प्रचण्डले दुई नम्बर क्षेत्रको कुनै स्थानमा मलाई पनि तपाईं सँगसँगै उभिने इच्छा छ भन्नुभएको थियो, मैले उहाँलाई आग्रह गरेको थिएँ, तपाईं कुनै एउटा चुनावी सभामा आइदिनुस् । थलीको आमसभामा उहाँको समयले भ्याइएन । साँखुको, कोटेश्वरको आमसभामा पनि त्यस्तै भयो । अन्तमा कोणसभाबाटै भए पनि जनताको माझमा एउटा सन्देश जाओस् भनेर आउनुभएको छ ।’

एमाले नेता नेपालले चितवन ३ मा उम्मेदवार बनेका प्रचण्डको जित सुनिश्चित भइसकेको बताए ।

‘आफ्नो जित सुनिश्चत गरेर मेरो जित सुनिश्चत गर्न आउनुभएको छ,’ उनले भने ।

‘हामी दुई नेताहरु नेता मात्र होइनौं, दुई आन्दोलनका प्रतीक पनि हौं,’ नेपालले थपे, ‘हामी दुवै एकतावद्ध भएर अगाडि बढेका छौं । हामीले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्नेछ । दुईटै पार्टीलाई चुनावपछि मिलाउनुपर्नेछ र देशको, जनताको भाग्यको फैसला गर्नका लागि हामी अगाडि बढ्नुछ । दुई पार्टीलाई मिलाउने कुराको अरु उद्देश्य होइन, जनतालाई सुख दिनका लागि हो ।’

एमाले अध्यक्ष ओलीले पनि आफ्नो क्षेत्रमा आउने चाहना व्यक्त गरेको तर फुर्सद नमिलेको नेता नेपालले बताए ।‘हामी तीनैजना एक ठाउँमा उभिने सोचाइ बनाएका थियौं तर सबैजना आफैं उम्मेदवार भएपछि समय मिलाउन गाह्रो हुँदोरहेछ,’ नेपालले भने ।अन्त्यमा नेपालले भने, ‘हिजो हामीले नेपालको राजनीतिलाई एउटा दिशातर्फ डोहोर्‍यायौं । अब विकास र समृद्धिको दिशातर्फ डोहोर्‍याउनुपर्छ । त्यसैका लागि वाम गठवन्धनको सरकार चाहिन्छ । यो देशलाई शान्ति र राजनीतिक स्थायित्व विकास र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने हो भने ढिलासुस्तीलाई अन्त्य गरेर परिणामुखी कामलाई जनताको माझमा पस्किन सक्ने हो भने वामपन्थी सरकारको कुनै विकल्प छैन ।’

कोणसभा सकिएपछि घरदैलोमा पनि प्रचण्डले नेता नेपाललाई साथ दिए । करिब १० मिनेट दुई नेताहरुले हात समातेर हिँड्दा स्थानीय बासिन्दाले रमाइलो मानेका थिए ।
‘पहिलेदेखि नै यसैगरी मिलेका भए देशको यो हालत हुने नै थिएन नी,’ एक महिला भन्दै थिइन् ।‘भोट त तपाईंलाई नै दिउँला तर भोट दिएर धारामा पानी आउँदैन,’ एक महिलाले नेपाललाई भनिन् ।नेपाल केही बोलेनन् । बरु कार्यकर्ताले जवाफ दिए, ‘उहाँलाई जिताएपछि सबै समाधान हुन्छ ।’जुलुसमा हिँडेका कार्यकर्ताले एमाले र वाम गठवन्धनको पक्षमा नारा लगाएका थिए । जुलुसभित्र फाट्टफुट्ट माओवादीका झण्डा पनि थिए ।घरदैलोमा हिँड्दा नेपालले मतदाताहरुसँग फोटो र सेल्फी पनि खुबै खिचे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने