August 31, 2018

के हो डार्कनेट ?

नारायणप्रसाद शर्मा

के हो डार्कनेट ?

डार्कनेट इन्टरनेटभित्रको सामान्य मानिसहरुको पहुँच नहुने र प्रायः अवैध क्रियाकलापका लागि प्रयोग गरिने बेनाम र अन्धकार दुनियाँ हो । सर्वप्रथम डार्कनेट शब्दको उत्पत्ति अमेरिकामा सन् १९७० को दशकमा भएको हो । पिटर बिडल र पल इङल्यान्डले सन् २००२ मा ‘द डार्कनेट एन्ड र फ्युचर अफ कन्टेन्ट डिस्ट्रिब्युसन’ नामक कार्यपत्र पेस गरेसँगै यो शब्द पुनः चर्चामा आयो । पत्रकार जे.डी.लासिकाले सन् २००५ मा ‘डार्कनेट ः हलिउड्स वार अगेन्स्ट द डिजिटल जेनरेसन’ नामक पुस्तक लेखेपछि त झन् यसबारे कौतुहल बढ्यो । सन् २०१४ मा अर्का पत्रकार जेमी बर्लेटले ‘द डार्कनेट’ नामक पुस्तक लेखेपछि यसप्रतिको चासो झनै चुलिएको छ ।  

डार्कनेटलाई राम्रोसँग बुझ्न पहिला इन्टरनेटका ३  मुख्य प्रकारहरुलाई सम्झिनुपर्छ । पहिलो हो सर्फेसनेट अर्थात् सबैको पहुँचमा हुुने, सार्वजनिक अस्तित्वमा रहने वैध इन्टरनेट । जस्तै : गुुगल, विकीपिडिया, युट्युब, फेसबुक, ट्विटर, याहु, जिमेल, आदि । दोस्रो हो डिपनेट अर्थात वैधानिक मान्यताप्राप्त तर सबैको पहुँचमा नहुने वा सीमित समुदायको उपयोगका लागिमात्र रहने इन्टरनेट । जस्तै : कुनै विश्वविद्यालयका प्रकाशनहरू, राष्ट्रिय सुुरक्षाका विवरण, बैंक र वित्तीय संस्थाका जानकारी, कुनै मुलुकको आणविक वा अन्तरिक्ष विज्ञानका सूचना राखिएका वेबसाइट । तेस्रो प्रकार हो डार्कनेट जसमा विवादास्पद र प्रायः कानुनद्वारा प्रतिबन्धित सामग्री राखिन्छ र जुन आफ्नो समूहका सदस्यका लागिमात्र भूमिगतरूपमा उपलब्ध हुन्छ । डार्कनेटसम्म पुग्ने आफ्नै नियन्त्रित वा गोप्य विधि हुन्छ ।

डार्कनेटको पहिलो प्रयोग अमेरिकी सेना अझ जलसेनाले गरेको हो । सैनिक सञ्चारलाई गोप्य एवं सुरक्षित राख्न सरकारबाटै यसको प्रयोग सुरु भएको हो । तर, पछि यसको दायरा विस्तार भई यो अन्तरदेशीय अपराधकर्मको प्रिय सञ्जाल बन्न पुग्यो । यसको अर्थ यसका प्रयोगकर्ता सबै अपराधी नै हुन्छन् भन्ने त हैन तर बहुसंख्यक तिनै देखिन्छन् । पेसेवर अपराधीबाहेक डार्कनेटको प्रयोग गर्नेमा पत्रकार र राजनीतिक कार्यकर्ता पनि पर्छन् । अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता नियन्त्रित भएका मुलुकमा आफ्ना कुरा पुर्याउन तथा राजनीतिक संगठन विस्तार गर्न डार्कनेटले काम दिएको छ । 

साथै, आतंककारी र माफिया गिरोह पनि यसको प्रयोगबाट टाढा छैनन् । इराक र सिरियामा आतंककारी संगठन आइसिसले ३ वर्षसम्म शासन गर्दा यही डार्कनेटबाट आफ्नो प्रभाव विस्तार गरेको थियो । अर्कोतर्फ सो समयमा पत्रकार एवं ‘एक्टिभिस्ट’हरुले पनि डार्कनेटबाटै आइसिसका ज्यादतीलाई विश्वसामु ल्याएका थिए । यसरी अन्य प्रविधिजस्तै डार्कनेटको पनि सही र गलत दुवै प्रयोग सम्भव छ । सुरुमा सरकारी निगरानी छलेर विचार सम्प्रेषण गर्न डार्कनेट ल्याइएकोमा पछिल्लोपटक यसको गलत प्रयोग बढ्नु चिन्ताको विषय छ । 

डार्कनेटमा याहु, गुगल, बिङ, फायरफक्सजस्ता सामान्य सर्च इन्जिनबाट पहुँच पुर्याउन सकिँदैन । तिनका माध्यमबाट डार्कनेटका वेबसाइटलाई चिन्न वा तीभित्र पस्न सकिन्न । किनभने ती त्यहाँ सूचीकृत नै भएका हुँदैनन् । अतः यो एक अदृश्य इन्टरनेट हो जसको उपस्थिति छ तर सबैले देख्न सक्तैनन् । डार्कनेटभित्रका वेबसाइट र तिनलाई भेट्ने ब्राउजर दुवै अति गोप्य हुन्छन् । डार्कनेट प्याजी सञ्जाल अर्थात अनियन नेटवर्कमा आधारित हुन्छ । सामान्य इन्टरनेटमा हाम्रो कम्प्युटरले कुनै वेबसाइट देखाइरहेको सर्भरमा ब्राउजरको माध्यमबाट सिधै पहुँच राख्नसक्छ । तर, ‘प्याजी सञ्जाल’मा यो प्रत्यक्ष सम्पर्कलाई टुटाइन्छ र विभिन्न मध्यस्थ लिंक भएरमात्र कुनै गन्तव्यमा पुग्नसक्ने बनाइन्छ । यीमध्ये कुनै पनि मध्यस्थले इन्कार गरेमा सम्पर्क बीचैमा विच्छेद हुन्छ । प्रवेश पाएको खण्डमा पनि सञ्जालमा हाम्रो सम्पर्क त देखिन्छ तर कसले, कहाँ बसेर कसरी काम गरिरहेको छ, त्यो पत्ता लगाउन गाह्रो हुन्छ । कुनै वेबसाइटको नाम अन्तिममा डट अनियनमा टुंगिन्छ भने त्यसलाई डार्कनेट परिवारको सदस्य मानिन्छ । 

नामअनुसारै प्याजी संजालमा प्याजको जस्तै पत्रपत्र पार गरेरमात्र कुनै खास वेबसाइटको लक्षित सामग्रीसम्म पुग्न सकिन्छ । टोर सबैभन्दा प्रख्यात प्याजी संजाल हो । टोरबाट अवैधमात्र होइन वैध वेबसाइटहरूलाई समेत आफूलाई नचिनाईकन हेर्न सकिन्छ । यसबाट सरकारी जासुस, ह्याकर र प्रतिद्वन्द्वीहरूलाई थाहा नदिईकन वेबको समुद्र चहार्न सकिन्छ । अर्को प्याजी संजाल द फ्रीनेट प्रोजेक्ट हो । यसले पनि टोरले जस्तै काम गर्छ तर यसमा छुट्टै निजी संजाल अर्थात् प्राइभेट नेटवर्क पनि राख्न मिल्छ । यसको अर्थ, कुनै खास स्थान, पेसा वा रुचिका मानिसले मात्र कुनै वेबसाइटको सामग्री हेर्नमिल्ने गरी ‘कन्फिगर’ गर्न सकिन्छ । पछिल्ला दिनमा आईटुपी अर्थात इन्भिजिबल इन्टरनेट प्रोजेक्टको पनि लोकप्रियता बढ्दो छ । यसभित्र अन्यका अतिरिक्त ब्लगिङ, च्याट, सुरक्षित इमेल, फाइलको भण्डारण र आपसमा वितरणजस्ता थप सुविधा राखिएको छ । 

यसप्रकार, वैध सर्फेस नेटकै हाराहारीमा अवैध डार्कनेटको समानान्तर उपस्थिति देखिन्छ । हामीले दैनन्दिन प्रयोग गर्ने नेटजत्रै आकार भूमिगत नेटले लिइसकेको छ । यसको प्रयोग मुख्यतः देह व्यापार, वन्यजीव व्यापार, अवैध हतियारको कारोबार, बालयौन दुराचार, लागु पदार्थ ओसारपसार, मानव बेचबिखन, आतंकवाद र अतिवाद, व्यक्तिहत्या, खेलकुदमा सट्टेबाजी तथा छद्ममुद्रा अर्थात् क्रिप्टोकरेन्सीको सञ्चालनमा भइरहेको छ । मतसम्प्रेषणजस्ता जायज कामका लागि यसको प्रयोग घट्दो छ । किनभने विश्व आफैंँ दिनप्रतिदिन खुला भइरहेको छ । आफ्ना आपराधिक कामलाई हुर्काउन अपराधीहरूले डार्कनेट चलाएजस्तै तिनलाई पक्रिन र निगरानी राख्न कानुन कार्यान्वयन निकायले समेत यसमा समय बिताइरहेका हुन्छन् । डार्कनेटभित्र पनि अल्फाबे, सिल्करोड ३, ड्रिम मार्केट र वाल्हल्लाजस्ता वेबसाइटले बढी ग्राहक तानिरहेका छन् । 
अन्तमा प्रश्न उठ्छ – किन सरकारी निकायहरूले डार्कनेटलाई पूरै भत्काउन सकेका छैनन् त ? यसका पछाडि २ वटा कारण छन् – पहिलो त डार्कनेटले प्रयोगकर्तालाई अज्ञातवासको सुविधा दिएर समाचार सम्प्रेषण र विचारको आदानप्रदानमा सघाएको छ, खासगरी तानाशाही तन्त्रमा । धेरै पश्चिमा देशले आफ्ना राष्ट्रिय गोपनीयता यस्तै डार्कनेट वा निजी नेटवर्कमा राख्ने गरेका छन् । यसबाट विकिलिक्सजस्ता गोप्य जानकारी खोतल्ने र सार्वजनिक गर्ने ‘आक्रामक समूह’बाट संवेदनशील सूचनालाई जोगाउन सकिन्छ । अतः यसको गलत प्रयोगमात्र छैन । दोस्रो त प्रविधिको विकाससँगै डार्कनेटको साम्राज्य कति फैलिएको छ भने एउटा शंकास्पद वेबसाइट बन्द गर्यो, ५ वटा अरू खुल्छन् । दिनदिनै खुल्ने, बन्द हुने र ठेगाना बदल्ने डार्कनेटको निगरानी वास्तवमै दुरुह छ । 
नेपालमै सर्भर राखेर हालसम्म डार्कनेटबाट गैरकानुनी काम भइरहेको आधिकारिक जानकारी छैन । केही यौनजन्य वेबसाइट ओपन नेटमै छन् । तर कतिपय पेसेवर अपराधीले विदेशमा सर्भर रहेका अँध्यारा साइटमार्फत लागु पदार्थ र वन्यजीव तस्करी वा खेलकुदको सट्टेबाजीमा भाग लिइरहेका हुनसक्छन् । अतः अपराध अनुसन्धानको पाटोले यतातिर पनि नियाल्नु आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान