जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेनन् ।

यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्‍यो ।

विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने बारेको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनद्वारा तीव्र भएको बताएको छ ।

“जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन । हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौँ”, डब्लुडब्लुए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भन्नुभयो ।

गर्मी

जुनमा साउदी अरबमा मुस्लिम हज यात्राका क्रममा एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँ तापक्रम ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) पुगेको थियो ।

कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो ।

मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रुखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौँ बालबालिकालाई घरमै राखेको थियो ।

ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड ग्रयो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्मी गृष्म ऋतुको सुरुआतमा भयानक डढेलो फैलियो ।

बाढी
जलवायु परिवर्तन केवल तातो तापक्रम मात्र होइन, तातो महासागरहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आर्द्रता सोस्छ । यो भारी वर्षाका लागि अस्थिर सूत्र हो ।

अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा दुई वर्षको बराबर वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत गर्‍यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध गर्‍यो ।

केन्या एक पुस्ताकै सबैभन्दा ठुलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौँकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो ।

ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा एक हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेषगरी स्पेनले ठुलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो ।

सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा बाढी आएको थियो ।

चक्रवात

तातो महासागरीय सतहले उष्णकटिबन्धीय चक्रवातहरूलाई जमिनतर्फ बढ्दा ऊर्जा प्रदान गर्छ र यसले तीव्र हावा र विनाशकारी क्षमता बढाउँछ ।

सन् २०२४ सिजनमा प्रमुख आँधीबेहरीले संयुक्त राज्य अमेरिका र क्यारेबियन विशेष गरी मिल्टन, बेरिल र हेलेनलाई औसतभन्दा माथि आँधीबेहरी गतिविधिको धक्का दियो ।

फिलिपिन्सले दक्षिणपूर्वी एसियामा फैलिएको टाइफुन यागीको सामना गरेको दुई महिनापछि नोभेम्बरमा मात्रै छवटा ठुला आँधीबेहरीको सामना गर्‍यो ।

विश्वव्यापी तापक्रमले चक्रवात चिनोलाई श्रेणी ४ आँधीबेहरीमा तीव्र बनाउन मद्दत गरेको डिसेम्बरमा वैज्ञानिकहरूले बताए । यो फ्रान्सको सबैभन्दा गरिब समुद्रपारको क्षेत्रलाई तहसनहस पार्दै मायोटसँग ठोक्किएको थियो ।

खडेरी र डढेलो

जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गर्दा केही क्षेत्रहरू ओसिलो हुन सक्छन् तर अन्य सुक्खा र खडेरीका लागि बढी संवेदनशील बन्दै छन् ।

सन् २०२४ मा अमेरिकाले गम्भीर खडेरीको सामना गर्यो र सामान्यतया पृथ्वीको सबैभन्दा ओसिलो ठाउँहरू मध्ये एक पश्चिमी संयुक्त राज्य अमेरिका, क्यानाडा र अमेजन बेसिनमा लाखौँ हेक्टरमा डढेलो लाग्यो ।

जनवरी र सेप्टेम्बरको बीचमा दक्षिण अमेरिकाभरि चार लाखभन्दा बढी आगलागी रेकर्ड गरिएको थियो । आगलागीबाट महादेशलाई घाँटी अवरुद्ध गर्ने धुवाँले ढाक्यो ।

विश्व खाद्य कार्यक्रमले डिसेम्बरमा दक्षिणी अफ्रिकामा दुई करोड ६० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको थियो । दक्षिणी अफ्रिकामा एक महिना लामो खडेरीले गरिब क्षेत्रलाई सुक्खा बनाएको थियो ।

आर्थिक क्षति

चरम मौसमले सन् २०२४ मा हजारौँको ज्यान लियो र अनगिन्ती मानिसलाई निराश गरिबीमा छाड्यो । यस्ता विपत्तिहरूको दीर्घकालीन क्षतिको मूल्याङ्कन गर्न असम्भव छ ।

जुरिचस्थित पुनर्बीमा दिग्गज स्विस रीले डिसेम्बरको सुरुआतमा जारी गरेको विज्ञप्तिमा आर्थिक नोक्सानीको हिसाबमा विश्वव्यापी क्षतिको बिल तीन खर्ब १० अर्ब डलर रहेको अनुमान गरेको छ ।

युरोपमा विशेष गरी स्पेनको भ्यालेन्सिया प्रान्तमा बाढी, तूफान हेलेन र मिल्टनले लागत बढाएको कम्पनीले जनाएको छ । भ्यालेन्सियामा अक्टोबरमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

नोभेम्बर १ सम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा २४ वटा मौसम प्रकोपको सामना गरेको थियो । यसमा प्रत्येकले एक अर्ब डलरभन्दा बढी नोक्सान व्यहोरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

ब्राजिलमा खडेरीले यसको कृषि क्षेत्रलाई जुन र अगस्टको बिचमा दुई अर्ब ७० करोड डलरको क्षति पुर्‍यायो । एक उद्योगका अनुसार ‘जलवायु चुनौतीहरूले’ विश्वव्यापी वाइन उत्पादनलाई सन् १९६१ पछि सबैभन्दा कम स्तरमा पुर्‍याएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने