श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर पढ्ने ? भन्ने पिर परेको छ । एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, जिमुवाका १७ वर्षीय ललित सार्की यति बेला खान बस्ने व्यवस्थाका लागि मनकारीसँग हारगुहार मागिरहनु भएको छ ।

ललित सार्कीको नाम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा डाक्टर पढ्ने सूचिमा नाम आएको छ । अध्ययन गर्दासम्म खान बस्ने व्यवस्था मिलाई दिन ललित सार्की भीमत्तद नगरपालिका पुगे पनि उहाँ रित्तो हात फर्किनु भएको छ । नगरपालिकामा कार्यविधि नभएको भन्दै तत्काल सहयोग गर्न नसकिने बताएपछि घर फर्किएको ललित सार्कीले पीडा सुनाउनुभयो ।

पढाइमा अब्बल रहेका ललित सार्कीले सिद्धनाथ माध्यमिक विद्यालयबाट विसं.२०७८ सालमा एसइई पास गर्नु भएको हो ।  एसइईमा ३.८५ जिपिए ल्याएपछि ललितको विज्ञान पढ्ने धोको थियो तर, घरको आर्थिक अवस्था नाजुक थियो । मजदुरका छोराले सामुदायिक विद्यालयबाट राम्रो जिपिए ल्याएको थाहा पाएपछि  स्थानीय रेडियन्ट बोर्डिङ स्कुलले ललितलाई छात्रवृत्तिमा विज्ञान विषय पढ्ने मौका दियो । विसं.२०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि भर्खरै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरले पूर्ण छात्रवृत्तिका लागि सूचना जारी गर्दा ललित सार्कीले खुलाबाट १२६८ नम्बरमा नाम निकाल्नु भएको छ ।

पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने भए पनि गाँसबासका लागि समस्या परेको ललितले बताउनुभयो । उहाँले नगरपालिकाले कक्षा १२ सम्म सरकारी विद्यालय पढेकालाई मात्र सहयोग गर्ने कार्यविधि रहेको बताएपछि सहयोग पाउन नसकेको बताउनुभयो । कार्यविधि परिवर्तन गरेर अर्को वर्ष सहयोग दिने आश्वासन मिलेको उहाँले बताउनुभयो ।

गरिबीका कारण पहाडी जिल्ला डडेलधुराको रुपालबाट तराई झरेको ललितको परिवार सामान्य कच्ची घरमा बसेर ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ । ललितका आमा बुवा अर्काको खेतबारीमा काम गर्नुहुन्छ । बुवा आमाको मेहनतले खान लगाउन नपुगेपछि ललितका दाइ भारतमा ज्याला मजदुरी गर्न जानु भएको छ ।

गरिबी र अभाव झेल्दै विज्ञान विषय पढेर अहिले छात्रवृत्तिमा डाक्टर पढ्ने अवसर पाएकोमा ललितले असाध्यै सुखी लागेको बताउनुभयो । खाना र बासको व्यवस्था गरिदिने मनकारी भेटिनेमा ललितले आसा व्यक्त गर्नुभयो । केही मनकारीले सहयोग गर्ने वचन दिएका कारण डाक्टर पढ्ने धोको पूरा हुने उहाँले बताउनुभयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले नगरपालिकाको कार्यविधि परिवर्तन गरेर भए पनि ललित सार्की जस्ता प्रतिभावान् विद्यार्थीलाई सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ कार्यविधिका कारण अहिले नै सहयोग गर्न त सक्दैनौँ । अस्तिको नगर सभाबाट कार्यविधि परिवर्तन गर्न बिर्सियौँ । अब अर्को नगर सभाबाट कक्षा १२ सम्म निजी विद्यालय पढेका गरिब तथा तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर र पाइलट पढाउने सहयोग गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा