महासचिव गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने

काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ ।

आइतबार नेपाल आउन लाग्नुभएका महासचिव गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिने तयारी छ ।

मङ्गलबार अपराह्न बस्ने संयुक्त बैठकमा गुटेर्रेसले सम्बोधन गर्नुहुने छ । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सचिवालयले तयारीलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । गिरीले भन्नुभयो, “सरकारको पत्राचार अनुसार हामीले तयारी अघि बढाएका छौँ । सचिवालयले केही आन्तरिक सजावटलगायतका काम भने आइतबार प्रतिनिधि सभाको बैठकपछि गर्ने तयारी छ ।”

महासचिव गुटेर्रेसले संसद् भवनकै स्काई हलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेटको कार्यक्रम पनि तय भएको छ । स्काई हलका भेट र प्रतिनिधि सभाको बैठकका कारण संयुक्त बैठक बस्ने प्रतिनिधि सभाको बैठक कक्षको आन्तरिक सजावट भने आइतबारपछि मात्र गर्न लागिएको हो ।

सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गर्दै छ । गुटेर्रेसको भ्रमणलाई ध्यानमा राखेर संसद्को चालु अधिवेशनसमेत लम्ब्याइएको थियो । सम्बोधनपछि अधिवेशन अन्त्यको तयारी छ । महासचिव गुटेर्रेस असोजमै नेपाल आउने र संसद्मा सम्बोधन गर्ने तयारी भए पनि इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणपछि नेपाल भ्रमण रोकिएको थियो । असोज २७ गतेका लागि सम्बोधनको तयारी भएको थियो ।

संसद् नियमावलीले विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष, राष्ट्रसङ्घका महासचिवलगायतले सम्बोधन गर्न सक्ने व्यवस्था गरेको छ । सरकारको अनुरोधमा सम्बोधनको निर्णय सभामुखबाट हुने नियमावलीमा व्यवस्था छ । यसरी सम्बोधन गर्ने पदाधिकारीलाई सभामुखको आसनको दायाँतर्फ बस्ने व्यवस्था मिलाउने पनि नियमावलीमै प्रबन्ध छ ।

राष्ट्रसङ्घका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा भने सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास