द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

असोज १८ गते,काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ । असोज ४ गतेदेखि नै उहाँले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आउनुभएको छ । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उहाँले बताउनुभयो ।

सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उहाँको छ । द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् ।

उहाँले भन्नुभयो, “कार्यालय समयमा सबै बसलाई द्रुत बसकै रूपमा चलाउने अनुमति सरकारले दिने हो भने द्रुत बसै भनेर यात्रु सडकमा कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, समयमै गन्तव्यमा पुगिन्छ ।” अहिले द्रुत बसको सङ्ख्या सीमित भएकाले बस कुर्दाकुर्दै ढिलो हुने गरेको उहाँले गुनासो गर्नुभयो ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ स्थानीय घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्दै आउनुभएकी सीता तामाङले पनि द्रुत बसबाट यात्रा गर्दा समय बचत भए पनि बस कुर्दाकुर्दै समय बित्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्रुत बस सञ्चालनमा आएदेखि नै म सधैँजसो सम्भव भएसम्म द्रुत बसै चढ्छु तर सीमित बस मात्र भएकाले बस कुर्दाकुर्दै समय बित्ने भएकाले कहिलेकाहीँ त अन्य बस चढ्नु र द्रुत बस चढ्नुमा खासै फरक पर्दैन ।”

अहिले सूर्यविनायकदेखि रत्नपार्कसम्मको १३ किलोमिटर दूरीको बाटोमा कार्यालय समयमा अन्य बस चढ्दा एक घण्टादेखि सवा घण्टासम्म लाग्ने गरेको उहाँले सुनाउनुभयो । दु्रत बस चल्दा सार्वजनिक यातायातबाट आवतजावत गर्ने यात्रुका लागि समयको बचत भए पनि बसको सङ्ख्या थोरै भएकाले बस पाउनै कठिन भएको सबै यात्रुको गुनासो छ ।

द्रुत बस सेवाबाट करिब ४० देखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पु¥याएपछि यात्रु द्रुत बसको सेवाप्रति विश्वस्त भएका छन् तर बसको सङ्ख्या थोरै भएकाले बस कुरिरहनुपरेको गुनासो अधिकांश यात्रुको छ । सरकारले साबिकमा सोही रुटमा चल्दै आएका बसलाई ‘द्रुत बस सेवा’ भन्ने बोर्डमात्र राखेर बस सञ्चालन गर्दै आएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनरूले बसको सङ्ख्या थोरै भएको स्वीकार्दै विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको सङ्ख्या थप गर्न लागेको बताउनुभयो ।

केही दिनमा सोही रुट र अन्य रुटमा पनि विभागले द्रुत बस सेवा विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सरकारले संविधान दिवसका अवसरमा असोज ३ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्दै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो । कार्यालय समयमा बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सेवा सञ्चालन हुँदै आएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सरकारले काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै सवारीसाधन नभएका व्यक्तिले पनि द्रुत बस चढेर समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने उद्देश्यले सरकारले द्रुत बस सेवा सञ्चालन गरेको हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको