मेलम्ची बजार वरपर जताततै निराशा, न दिनमा भोक, न रातमा निद्रा

मेलम्ची (सिन्धुपाल्चोक), असार ३० गते । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।
मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा । असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको तीन हजार पाँच सय रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।
“चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पु-यो, लहलह हुन थालेको धान खेत ढुङ्गा र बालुवाले पुरेको छ”, आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टङ्कप्रसाद दुलालले सुस्केरा हाल्दै भन्नुभयो । उहाँले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गर्नुभयो ।
आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उहाँले सुनाउनुभयो । असार १ मा आएको बाढीले पसाइसकेको धानसहित उहाँको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो । “एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुङ्गामुनि होला भनेर कसले पो सोचेको थियो हो र ?” दुलालले भन्नुभयो ।
मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उहाँले बताउनुभयो । “यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छाँै”, रिजालले भन्नुभयो ।
व्यावसायिक रूपमा भँैसीपालनसमेत गर्ने रिजाललाई यो वर्ष भैँसीलाई खुवाउने परालको जोहो कसरी गर्ने होला भनेर चिन्ता समेत थपिएको छ । घर पुरिएपछि सामुदायिक भवन र विद्यालय भवनबाट भाडामा कोठा खोजेर विस्तारै दैनिक व्यवस्थित बनाउने प्रयासमा रहेका मेलम्चीका बाढीपीडितलाई जीविकोपार्जनमा भने समस्या परेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताउनुभयो ।
उहाँले असार महिनामा पनि किसान फुर्सदिला हुनु भनेको दीर्घकालीन रूपमा खाद्यान्नलगायतको समस्या देखिन सक्नेतर्फ आफूहरू गम्भीर बनेको बताउनुभयो । “मेलम्चीलाई पुरानै लयमा फर्काउन र अर्काे वर्षासम्म लहलह धान फलाउने खेत बनाउन प्रयास गरिरहेका छाँै”, उपप्रमुख नेपालले नदीलाई पुरानै धारमा फर्काउन १० वटा डोजर र दर्जनौँ टिपर प्रयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि