बुढीखोलास्थित नहरको संरचना जोखिममा

विराटनगर, माघ २८ः मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । वर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ ।

खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कंक्रिट ब्लक र ढुंगासहितको तारजाली लगाउनुपर्ने आवश्यकता देखिएको छ । बुढीखोला नहरको संरचना १६५ मिटर लम्बाइको एक्वाडक्ट कम ब्रिज हो । खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम बढेको हो ।

यदि, यो संरचना नदी कटानका कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहरहरु छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुरमा आश्रित कृषक सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना हुन्छ । तीन वर्षपहिले मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाएपछि छ शाखामा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । यो संरचना बनाउन आयोजनाले २९ करोड ९७ लाख ५६ हजार रुपैयाँमा ठेक्का लगाइ काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।

बुढीखोलामा अहिलेको जस्तै कटान लोहन्द्राखोलामा पनि देखिएको थियो । तर, आवश्यक बजेट अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगायो भने त्यस क्षेत्रका करिब १० हेक्टर जग्गामा धानखेतीको समयमा किसानले पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताए । उनले कुनै पनि समस्यालाई तत्कालै समाधानको उपाय गर्नुपर्नेमा जोड दिँदै सिँचाइजस्तो संवेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे । उनले लोहन्द्राखोलाको नहर यसै वर्ष सञ्चालन गर्न आठ करोड रुपैयाँ आवश्यक भन्दै अन्यथा बनेको संरचनालाई आउने वर्सात्मा हुने बाढीले जोखिममा पार्न सक्ने बताए ।

लोहन्द्राखोलाबाट पूर्वको बुढीखोलामा रहेको पुरानो नहरलाई बचाउन विभागले तत्काल एक करोड ५० लाख रुपैयाँ विनियोजन गर्नुपर्ने अयोजनाका डिभिजनल इन्जिनियर रमेशलाल कर्णले जानकारी दिए । उनका अनुसार बुढीखोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट ३४ लाख रुपैयाँको बोलपत्र आह्वान भइसकेको छ भने यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ६२ लाख रुपैयाँ बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा छ । उनले कुनै कारणले  संरचना भत्किए मोरङमा सिञ्चित हुने २८ हजार अर्थात ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने बताए ।

विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताए । उनले विभागले समयमै यसको उपचार गर्नुपर्ने बताए । हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बुढीखोलाको संरचना बचाउनका लागि आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकामा दुःख व्यक्त गरे । उनले प्रश्न गरे, ‘‘अन्न उत्पादनको रूपमा चिनिने जिल्ला मोरङमा सिँचाइबिना कसरी बाली उत्पादन गर्न सकिन्छ ?’’

बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बुढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प नभएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि