सचिवालय बैठकमा प्रचण्डलाई  झोँक चलेपछि प्रधानमन्त्री ओलीमाथि प्रश्नको वर्षा

२०७७ मङ्सिर १४काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप भएको छ । पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नको वर्षा गरेका छन् । प्रचण्डले पार्टी विभाजनका लागि ओलीले गरेका विभिन्न प्रयास र ओलीको कार्यशैलीका विषयमा बैठकमा चर्चा परिचर्चा गरेकाे उनी निकट स्राेत बताउछ ।

प्रचण्डले ओलीले चार पटकसम्म पार्टी विभाजन गर्न लागेको र आफूहरुले रोकेको बताएकाे स्राेतकाे दावी छ । स्राेतका अनुसार  नेकपाकाे २०७७ मंसिर १३ गतेकाे सचिवालय बैठकमा प्रचण्डले भने, ‘तपाईँले चार-चार पटक पार्टी विभाजन गर्न किन लाग्नु भयो ? हामीले धेरै कुरा सहेरमात्र पार्टी एकता कायम भएको हो । विधि, पद्दती, पार्टी कमिटी केही नमान्ने, दम्भ, अहंकारका कुरामात्र गर्ने, पार्टी विभाजन गर्छु भनेर खाली धम्कीमात्रै दिने ? जवाफी प्रस्ताव ल्याउनु भएको छ, यो सकरात्मक छ । मैले स्वागत पनि गर्छु । तपाईँको धम्कीको भाषा बन्द गर्नुस् । तपाईँले उहिल्यै चार पटक पार्टी विभाजन गर्नु भएको थियो । त्यसका आधारहरु पनि छन् ।’

प्रचण्डका अनुसार ओलीले पार्टी विभाजनका लागि गरेका ४ घटनाक्रम

१. ‘पहिलो कुरा दोस्रो केन्द्रीय कमिटी बैठक मेरो नेतृत्वमा राम्रोसँग सफल भयो । गाउँगाउँसम्म पार्टी अब झनै राम्रो बन्ने भयो भन्ने सञ्चार भएको थियो । त्यसपछि तपाईँले बालुवाटारमा गुटको भेला गर्नुभयो । अब प्रचण्डले पार्टी कब्जा गर्ने अवस्था आयो भनेर निष्कर्ष निकाल्नु भयो । त्यसपछि तपाईँले पूर्वमाओवादी र खासगरी माओवादीलाई प्रहार गर्नुपर्छ भनेर तल्लो तहसम्म निर्देशन दिनुभयो । तपाईँलाई राम्रो काम, विधि, पद्दती र पचेन । त्यहीँबाट पहिलो पटक तपाईँले पार्टी विभाजनको रेखा कोर्नुभयो । त्यसको जवाफ मैले दिएको भए के हुन्थ्यो ?’

२. ‘दोस्रो पटक तपाईँले अध्यादेश ल्याएर पार्टी विभाजन गरिसक्नु भएकै थियो । अध्यादेश ल्याउने, सांसद अपहरण गर्ने लगायतका काम गरेर तपाईँले पार्टी विभाजन गर्ने अन्तिम प्रयत्न गर्नुभयो । आधा आधा कार्यकालको सहमति पनि तपाईँ नै प्रधानमन्त्री बन्नुस् भनेर मैले भन्दा भन्दै अध्यादेश ल्याउन तपाईँलाई त्यस्तो के आइलाग्यो ? अझै पनि तपाईँले एकता भन्नुहुन्छ ?’

३. ‘तेस्रो कुरा तपाईँले पार्टी विभाजनका लागि नेकपा एमाले दर्ता गर्नुभयो । आफू निकटका व्यक्ति राखेर दर्ता गरेको नेकपा एमालेको नेतृत्व गर्नुस् भन्दै हिँड्नुभयो । झण्डै दुई तिहाइ बहुमतको पार्टीलाई विभाजन गर्न नयाँ नेकपा एमाले दर्ता गर्ने अधिकार तपाईँलाई कस्ले दियो ? यो बेलामा पनि हामीले धेरै कुरा सहेर पार्टी बच्यो ।’

४. ‘चौथो पटक तपाईँले स्थायी कमिटी बैठकको निर्णय उल्लंघन गरेर पार्टी विभाजनको अन्तिम प्रयत्न गर्नुभएको छ । तपाईँले स्थायी कमिटी बैठकले प्रतिष्ठानका गतिविधि रोक्ने निर्णय गरेकामा तपाईँले बालुवाटारमा गुटभेला गरेर औपचारिकरुपमा वडासम्म प्रतिष्ठानका गतिविधि गर्न निर्देशन दिएर फुटको प्रक्रिया सुरु गर्नुभयो ।’

आफ्ना तर्क राखेर प्रचण्डले आफूहरुको धैर्यताले नै पार्टी विभाजनबाट रोकिएको बताए । उनले भने, ‘तपाईँले चार चार पटक पार्टी विभाजनका लागि गरेका प्रयास हामीले धैर्यताले रक्षा गरेका छौँ । धेरै अपमान सहेर पनि रक्षा गरेका छौँ । यहाँसम्म आउनु भयो, अब विधि पद्दतीबाट अगाडि बढेर पार्टी एकता कायम गर्नुपर्छ ।’

बैठकमा ओलीले प्रचण्डको प्रतिवेदन तल्लो तहसम्म गएको विषयमा प्रश्न गरेपछि प्रचण्डले त्यसको पनि उत्तर दिएका थिए । उनले भने, ‘हामीले बैठक सहमतिमै बसौँ भनेर लामो प्रयास गर्नुपर्ने अवस्था आयो । त्यसका लागि लिखितरुपमा तपाईँलाई आग्रह गरियो । तर, त्यसको प्रतिउत्तर भनेर नभएको कुरा लेखेर बैठक अगाडि पहिले तपाईँले सार्वजनिक गर्नु भएको कि हामीले ? तपाईँले त बैठकमा होइन, मिडियामादिनु भएको थियो । त्यसको प्रतिउत्तरमात्रै हामीले लिखित ल्याउनु परेको हो ।’

प्रचण्डले पार्टी बैठकमा ‘तपाईँ बाहिर रेकर्ड गरेर लैजान बोलेको कि पार्टी कमिटीमै बोलेको’ भनेर प्रश्न गरेका छन् । उनले बैठकमा भने, ‘तपाईँले जस्तो पार्टी बैठकको टेपरेकर्ड गरेर दिएपछि प्रतिवेदन तल्लो तहमा गयो भनेर प्रश्न गर्ने ? मैले त तपाईँको कुरा पनि लगेको छु । तपाईँले आज यहाँ बोल्नु भएको कुरा सचिवालयका लागि हो वा रेकर्ड गरेर मिडियाबाजी गर्नलाई ? यसअघि यहाँबाट टेपरेकर्ड गरेर तपाईँले सार्वजनिक गर्नु भएको कि मैले ?’

प्रचण्डले बैठकमा अब दुबै प्रतिवेदन आइसकेपछि पार्टी निर्णयलाई मानेर जानुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘विधि तथा पद्दतीको कुराले सहमति कायम हुन्छ । सहमतिको कुरा असम्भव भएपछि पार्टीमा बहुमत अल्पमत हुन्छ । तपाईँले आफ्ना गल्ती कहिल्यैँ देख्नु हुन्न । दम्भ, अहंकार छाडेर अगाडि बढ्नुस् । जवाफी प्रतिवेदन ल्याउनु भएकोमा फेरि पनि स्वागत गर्छु । पार्टीलाई नयाँ आधारमा नयाँ उचाइमा पुराउनेगरी निर्णय लिनुपर्छ । पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको