कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा

9-1

यस्तो अवस्थामा एउटै परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस बेफुर्सदिलो छ । घन्टौं काममा अतिव्यस्त जीवनले आफूले आफूलाई संसारबाट अलग एउटा कोठामा सीमित एकलकांटे प्राणीको रूपमा परिभाषित गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता दिएको पाइन्छ ।

कुनै पनि देशको समृद्धि र विकासका मूल मापदण्डमा मानिसको संवेदना र भावनालाई भन्दा अचेतन संवेदनहीन द्रब्य, वस्तु, मेशिन जस्ता भौतिक स्वभावलाई बढी महत्त्व दिएको पाइन्छ । त्यसैले विकास सम्बन्धी भौतिकवादी मापदण्डमा PQLI अर्थात् “भौतिक जीवन तत्त्व दर्शक“ सिद्धान्त ( Physical Quality of Life Index) मूल मन्त्रको रूपमा अंगालिरहेको देखिन्छ ।

जसको तात्पर्य, कुनै पनि देशमा विकासको नाममा मानिसका भावना, संवेदना, चाहना, मर्म, सदाचार, धर्म, संस्कृति, नैतिकता, गुण–धर्म जस्ता पक्षलाई भन्दा भौतिक तथा द्रव्यात्मक पक्षलाई प्राथमिकता दिएको पाइन्छ । देशमा बढीभन्दा बढी जनताले आआफ्नो घरमा रेडियो, टेलिभिजन, टेलिफोन, वाशिंग मेशिन, गाडी, कम्प्युटर जस्ता भौतिक उपकरण उपभोग गर्ने प्रतिशतको आधारमा देश र जनताको विकास र समृद्धि नाप्ने चलन रहँदै आएको छ ।

तर जनता कति नैतिकवान, चरित्रवान, सदाचारसम्पन्न छन् भन्ने पक्षलाई विकास र समृद्धिको अति महत्वपूर्ण मापदण्डको रूपमा कुनै पनि राज्य र सरकारले प्राथमिक चयनमा राखेको र अंगालेको देखिंदैन । परिणामतः सारा विश्वले भौतिक रूपमा शिखर त चुम्यो तर नैतिक, मानसिक, आध्यात्मिक रूपमा पतन हुँदै गयो ! मानिस बाह्यरूपमा सुबिधासम्पन्न, सुखोपभोगी जीवन बाँच्न त सफल भए तर मानसिक रूपमा आत्मकेन्द्रित स्वार्थी, मतलबी, दुराचारी र अपराधी पनि बन्दै गए ।

मानिसको यस्तो अवस्था हुनुमा “मानव“ शब्दलाई मानसिक प्राणी, आध्यात्मिक प्राणी, मनोवैज्ञानिक प्राणी भन्दा पनि भौतिक प्राणी र वाणिज्य प्राणीको रूपमा तथाकथित आधुनिक तथा भौतिक विकासका चिन्तकहरू, अर्थविद्हरू तथा शिक्षाविद्हरूले गलत रूपमा परिभाषित गर्दा जसरी भए पनि पैसा कमाउनुपर्ने बाध्यता वा होडमा होमिइरहेका छन् । आज मानिसहरू देश, परिवार, आफन्त, इस्टमित्र, नाता कुटुम्ब र मानवता हत्याएर पैसा कमाउने होडको यान्त्रिक जीवनमा हाम्फालेका छन्।

एकातिर नाफामूलक उत्पादन कार्यमा मानिसले बढीभन्दा बढी घण्टा काम गर्नुपर्ने, एकले अर्कोलाई पछार्दै अगाडि जानुपर्ने प्रतिस्पर्धात्मक खुल्ला बजार नीतिको आर्थिक कारोबार र अर्कोतिर सत्ता, शक्ति र पदका लागि “नैतिकता र मानवता भाँडमै जाओस्” भन्ने आर्थिक, राजनीतिक सोच हावी भएको स्थिति छ । त्यसैले पैसा कमाउन देशका हजारौँ युवा वर्ग विदेशिने र लाश भएर कफीन बाकसमा फर्किने कहालीलाग्दो घटना देशको यथार्थ एकातिर छ भने अर्कोतिर रातारात सत्ता पल्टाउने र आफ्नो कुर्सी बचाउने खेलमा राजनैतिक दलहरू व्यस्त छन् ।

भौतिक विकासले मानिसलाई अति सुखोपभोगी जीवन एकातिर दिएको छ भने अर्कोतिर ओच्छ्यानमा सुत्न जाँदा स्लीपिंग ट्याब्लेट लिनुपर्ने बाध्यता छ । युवा पिंढी २१औँ सताब्दीको आधुनिक उत्कृष्ट शिक्षा–दीक्षा, तालिम पाएर पनि लागु पदार्थ, नसालु पदार्थ र आपराधिक क्रियाकलापमा संलग्न छन् । युरोप र अमेरिकामा सन् १९६०–७० तिर भौतिक विकासबाट वाक्कदिक्क भएका युवा जमात परम्परागत संस्कृतिबाट बिचलित भएर हिप्पी र पंक्स जस्तो विकृत संस्कृतिको जीवनशैली अपनाउन बाध्य भएका थिए यान्त्रिक जीवनबाट मुक्त स्वतन्त्र र स्वछन्द जीवनको खोजीमा ! नेपालमा पनि यसको प्रभाव सन् १९७० को दसकतिर देखापरेको थियो ।

अतिभौतिक र यान्त्रिक जीवनको उकुसमुकसबाट मुक्त हुन र आफ्ना मनभित्र गुम्सिएका पीडाहरू पोख्न उनीहरूले सामाजिक, संस्कृतिक र नैतिक मर्यादा विरोधी स्वच्छन्द जीवन रोजे, जसमा मद्यपदार्थ, नसालु पदार्थ, Hi speed music र खुल्ला यौनसम्पर्क हावी थिए । लण्डनको Hyde Park; Amsterdam सहरको Dam-Square, डेनमार्कस्थित कोपन्हेगन नगरको Tivoli Gardens युवा युवतीहरू स्वछन्द र स्वतन्त्र ढङ्गले नांगै बस्ने, एकअर्कालाई अँगालो मार्ने, खुल्ला यौन सम्पर्क गर्ने सार्वजनिक स्थलको रूपमा नामुद थिए । त्यहाँ कसैलाई कसैको मतलब हुँदैनथ्यो । युवा जमातले ती पार्कहरूलाई “Do your own things–capitals of the Western World” अर्थात् “आफ्नो मनलागी जे पनि गर्ने पाउने पश्चिमा संसारका राजधानी“ का रूपमा चिनाएका थिए ।

एकथरी युवा जमातले Hi -speed music रोजे । तिनीहरू पप, र्याप, ज्याज जस्ता वेगवत संगीतमार्फत् आफ्नो मनको पीडा पोख्न चिच्याएर, खुट्टा बजारेर गीत गाउने, नाच्ने गर्थे । अर्काथरी युवा जमात नसालु पदार्थ सेवन गरेर आफनै संसारमा मस्त हुन्थे । आज यो दुर्ब्यसनले नेपाल लगायत संसारलाई नै गम्भीर समस्यामा धकेलिरहेको छ ।

एक अनुसन्धानका अनुसार, हरेक तीन जना मानिसमा एक जना मानसिक रोगी भएको प्रमाणित भएको छ । मानसिक चिन्ता, तनाव, डिप्रेशन जस्ता मानसिक रोगबाट ग्रसित मानिसहरू बढी छन् । दिनहुँ हत्या, हिंसा, मारकाट, बलात्कार, चोरी डकैती, अपहरण जस्ता अपराधहरू बढ्दै छन् । सूचना र प्रविधिको विकास तथा भौतिक सुख साधनको विकासले जीवन सजिलो र आरामदायी जस्तो भए पनि मानिसमा यसअघि कहिल्यै नभएको डर, त्रास, भय, आशङ्का, असुरक्षा, चिन्ता, तनाव झन्–झन् बढिरहेको छ । जताततै आपराधिक गतिविधि, सडक दुर्घटना, आत्महत्या बढ्दोक्रममा छ । आखिर सबैथोक पाएर पनि मानिसलाई आफैँभित्र केहि गुमाइरहेको भान भैरहेको छ ।

यही परिस्थितिमा चार महिनाअगाडि आएको कोरोना महामारीले विश्व मानव जीवनमा अकल्पनीय उलटपुलट ल्याइदिएको छ । विश्वको आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा मात्र होइन, पारिवारिक जीवनमा समेत यसअघि कहिल्यै भोग्नु नपरेको समस्या र परिस्थिति मान्छेले सामना गर्नु परेको छ । मानव जीवनको दिनचर्या बाह्य रूपमा ठप्पप्रायः छ । महिनौँसम्म घरभित्र थुनिएर बस्नु परको छ ।

बजार, कलकारखाना, स्कूल, कलेज, कार्यालय बन्द छन् । अरबौँ, खरबौँको विश्व व्यापार, सञ्चार, आवतजावत ठप्प छ । केवल डाक्टरहरू, नर्सहरू र अस्पतालहरू मात्र पहिलेभन्दा सक्रिय छन् । विशेषतः कोरोना महामारिले आधुनिक सहरी जीवन नै निष्प्राण र निष्क्रिय बनाइदिएको छ । संक्रमित रोगीहरू एकै दिनमा हजारौँ मरिरहँदा विकसित मुलुकका सहरहरू लाश थुप्रिएको मसानतुल्य भएका छन् । तर, गाउँ परिसरलाई कोरोनाले त्यति धेरै छोएको देखिँदैन । गाउँलेहरूमा कोरोनाको भयावह डर, त्रास देखिएको छैन ।

सबै कोरोनाका बावजूद आआफ्नो घरखेतमा सुचारु रूपमा काम गरिरहेका छन् । तेसैले गाउँ छोडेर सहर पसेकाहरू, देश छोडेर विदेश गएकाहरू धमाधम महिनौँ पैदलै हिँडेर भए पनि आफ्नो जन्मथलो गाउँमा जाँदैछन् । यो महामारीले परिवार, आफन्त, छरछिमेकी, साथीभाइसँग दुःखसुख बाँड्ने आत्मीयता बढाइदिएको छ । सहरको धुलो–धुवाँ, रापतापमा कष्टकर जीवन बिताइरहेकाहरूले गाउँघरको स्वच्छ हावापानी सेवन गर्न पाएका छन् ।

आफ्नै खेतबारीमा स्वतन्त्र, स्वछन्द भएर अब काम गर्न फुर्सद मिलेको छ उनीहरूलाई । यो कोरोना महाव्याधीले मानवलाई जति भए पनि नपुग्ने अतृप्त,अति महत्वाकांक्षी, विलाशी जीवन होइन; सरल, सादा जीवन नै सुखमय र शान्तिपूर्ण जीवनको रूपमा चिनाइदिएको छ । सहरको बनावटी तडकभडक र रंगीन जीवनभन्दा प्रकृतिले दिएको सुन्दर, स्वच्छ खेतबारी, पाखा–पखेरा, झर्ना र छहारी नै स्वस्थ जीवनका लागि उत्तम थलो हुन् भनी चिनाइदिएको छ ।

कोरोनाले हाम्रो जीवनलाई फेरि एकपल्ट उल्टो घडीमा घुमाइदिएको छ । सबैलाई व्यस्त जीवनबाट मुक्त आरामदायी जीवन दिएको छ । मानव–जीवनचक्र फेरि एकचोटि सताव्दियौं पछाडि पुनरावृत्ति भएको छ । मानौँ, दौडधुप, तँछाडमछाडमुक्त आरामदायी कृषियुगमा फर्केको छ । यो विपत्तिले घर–परिवार, आफन्त, गाउँ–बस्ती, छरछिमेकीसँग पुनर्मिलन गराइदिएको छ ।

दौडधूप, प्रतिस्पर्धा, छलकपट, तँछाडमछाड बिल्कूल बन्द छ । बाटाघाटा र पर्यावरण, प्रदूषणमुक्त भएका छन् । स्वच्छ वातावरणका कारण पृथ्वीको ओजोनस्तर पहिलेभन्दा सफा भएको छ । मानवले व्यस्त जीवनबाट फुर्सद पाउँदा शारीरिक–मानसिक रूपमा आफूतिर नियाल्ने मौका पाएको छ । आफूले आफूलाई चिन्ने मौका पाएको छ । योग ब्यायाम, ध्यान–साधना, अध्ययन, लेखन गर्न र सृजनशील कार्यमा व्यस्त हुने समय पाएको छ । अरुका लागि भन्दा आफनै लागि जीवन जीउने अवसर मिलेको छ ।

विकासको नाममा मानिसलाई भौतिक प्राणी र यान्त्रिक प्राणीको रूपमा दिएको गलत परिभाषा कोरोनाले उल्ट्याइदिएको छ । आधुनिक विकासको भेलमा बगेर आफ्नो मानव जीवनलाई संवेदनहीन यान्त्रिक जीवनको रूपमा अंगालेको मानव प्राणीलाई फेरि एकपटक कोरोनाको महामारीले आफ्नो “मूल परिचय“ -एक आत्मीय, संवेदनशील, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक प्राणीको रूपमा चिनाइदिएको छ । आफ्नै स्वप्रकृतिमा फर्कन सहयोग गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

सत्ता छोड्दैगर्दा एमाले-कांग्रेस लक्षित आक्रोशयूक्त प्रचण्ड भाषणको पुर्णपाठ

असार २८, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले सत्ता छोड्दैगर्दा संसदको वैठकमा एमाले कांग्रेस लक्षित आक्रोशयूक्त