अब लिम्पियाधुरा ओझेलमा पर्ने छैन, हाम्रो भूभाग फिर्ता लिएर छाड्छौँः प्रधानमन्त्री ओली

जेठ ७,काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता लिएर छाड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले अब यो विषय टुंगोमा पुर्‍याएरै छाड्ने अठोट गरे ।

 उनले लिम्पियाधुरा भारतले अतिक्रमण गर्नुअघिको प्रसंग केलाए । ‘यो हाम्रो भूभाग हो । १८ सालसम्म त्यहाँँ जनगणना गर्ने, तिरो उठाउने काम भइरहेको थियो । त्यसपछि तिरो उठाउनेजस्ता कामहरू गर्न जान नदिने, रोक्ने खालको कामहरू भए । र, खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसभन्दा पश्चिमको भूभागमा जान ब्लक भयौैँ, ब्लक गरियो । र, त्यो विषय ओझेलमा पर्दै गयो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय ओझेल पर्न वा सेलाउन दिइनेछैन । यसको निष्कर्ष निकालिन्छ, यो हाम्रो भूभाग हामी फिर्ता लिएर छाड्छौँ ।’नेपालको भूमिलाई भारतले विवादास्पद बनाएको उनको भनाइ थियो । ‘त्यो विवादास्पद होइन, हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । हामीले अर्गेल गरेको भए पो कोही रिसाउँछ कि भन्ने ठान्नुपर्ने । हामीले अर्गेल्याइँ गरेको छैन,’ उनले भने, ‘कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिनेछ । यो भूभाग फिर्ता ल्याइनेछ ।’ यही अठोटका साथ नीति तथा कार्यक्रममा उल्लेख गरिएको उनको भनाइ थियो ।

भारत वार्तामा बस्छ कि बस्दैन भन्ने सांसदहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले अलिकति विलम्ब भए पनि वार्ता हुने बताए । ‘हामी तथ्य–प्रमाणहरू वार्ताको टेबुलमा प्रस्तुत गर्छौँ । हामी कुनै उत्तेजनामा छैनौँ, आवेशमा छैनौँ, गम्भीर छौँ,’ ओलीले थपे, ‘हामी भारतसँग तनाव होइन, तनावरहित सुमधुर मित्रता चाहन्छौँ ।’ नेपाल र भारतको मित्रता ऐतिहासिक भएको उल्लेख गर्दै एक–अर्काका सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतालाई स्वीकार गरेर त्यसलाई व्यवहारमा उतारेर मित्रता सुदृढ गरिने उनको भनाइ थियो । यस विषयमा भारतसँग प्रश्न गर्ने बताउँदै उनले भने, ‘भारत भनेर चिनिने एउटा प्रतीक चिह्न छ । अशोकाले स्थापना गरेको चिह्न छ । चारमुखे सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । यो कुरा उसको चिह्नमुनि छ, तर विश्वासचाहिँ म गर्छु । म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंह जयते ? त्यसकारण हामी विश्वास गछौँ सत्यमेव जयते ।’

मन्त्रिपरिषद्ले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको नक्सा प्रकाशित गर्ने निर्णय गरेको संसद्लाई जानकारी दिए । नक्सा प्रकाशित गर्ने निर्णय तथाकथित राष्ट्रवाद देखाउनका नगरिएको प्रस्ट्याउँदै उनले भने, ‘यो कुनै तमासा गरिएको होइन । यो देखवा गरेको होइन । यो यथार्थमा फिर्ता लिनका लागि गरिएको हो । यो हाम्रो भूभाग हो र फिर्ता लिन्छौँ । पारित भएको नक्सा आजभोलिमा प्रकाशित होला ।’ मन्त्रिपरिषद्ले नक्सा पास गरे पनि कसैको दबाबमा सार्वजनिक नगरिएको हो कि भन्ने सांसदको प्रश्नमा उनले भने, ‘म एउटा दाबा गर्न चाहन्छु, यस संसद्को प्रतिनिधित्व सरकारले गर्छ । संसद् कसैको दबाबमा झुक्न चाहन्छ र ? अवश्य चाहँदैन । यो सार्वभौम जनताको प्रतिनिधित्वको सर्वाेच्च थलो हो र यस संसद्बाट निर्वाचित र अत्यधिक ठूलो विश्वासका साथ निर्वाचित सरकारले यस संसद्को साँचो प्रतिनिधित्व गर्दछ । त्यसकारण यो कसैको दबाबमा चल्ने वा नचल्ने, गर्ने वा नगर्ने, गर्दैन भन्ने कुरा निवेदन गर्न चाहन्छु ।’

नक्सा बनाउनजस्तो सजिलो जमिन फिर्ता ल्याउन नभएको भन्ने सांसदहरूको जिज्ञासालाई पनि प्रधानमन्त्री ओलीले स्विकारे । ‘सजिलो हुन्थ्यो भने त हिजै फिर्ता आइसक्थ्यो । अवश्य छैन, नक्सा बनाउनजस्तो सजिलो । तर, नक्साले हाम्रो दृढतालई प्रतिबिम्बित गर्छ । हामी जमिन फिर्ता लिनेवाला छौँ,’ उनले थपे, ‘हामीलाई थाहा छ, भारतको भूगोल, जनसंख्या, अवस्था र हाम्रो अवस्थाको भिन्नता । तर, यी भिन्नता न्याय निरुपणमा प्रतिबिम्बित हुनुहुँदैन । सत्य स्थापनामा प्रतिबिम्बित हुनुहुँदैन । सत्य, सत्य हो । आकार, प्रकार, हैसियत हेरेर न्याय निरुपण र सत्य स्थापना हुँदैन पनि । स्विकार्न सकिँदैन पनि ।’

उनले नक्साको विषय समेट्न छिटै संविधान संशोधन गरिने बताए । ‘वार्तासँग सम्बन्धित, हाम्रो नक्सासँग सम्बन्धित, हाम्रो भूमि फिर्तासँग सम्बन्धित यो विषय तत्कालीन महत्वको र तत्कालका लागि जरुरी विषय हो र यो संविधान संशोधनको प्रस्ताव यो गरिमामय सदनमा आउनेछ । विश्वास लिएको छु, त्यो पारित हुन्छ,’ उनले भने । किरण दाहालले नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय